१७ जेठ २०७८
चौतारी पोष्ट अनलाइन
काँकरभिट्टा । झापाको मेचीनगर नगरपालिका क्षेत्र भित्रका खोलाहरुबाट नदिजन्य पदार्थको राजश्व संकलनका लागि प्रयोग हुने नगदि रसिद अवैध रुपमा छापेर रकम असुली गरेको नगरस्तरिय छानविन समितिले प्रतिवेदनमा सार्वजनिक भएको छ । यस नगरकाको नदिजन्य पदार्थ उत्खनन् र राजश्व संकलनमा अनियमितता भएको आशंकामा मेचीनगरका नगरप्रमुख बिमल आचार्यको संयोजकत्वमा गठित छानविन समितिले तयार गरेको अन्तिम प्रतिवेदनमा नगरपालिकाबाट नगदि रसिद छपाईको आदेश दिनु एक महिना अघि नै उक्त रसिदहरु विभिन्न वडामा फेला परेको उल्लेख गरिएको छ ।
छानविन समितिको २०७८ वैशाख ४ गतेबसेको बैठकले नदिजन्य पदार्थ उत्खनन र राजश्व संकलनसंग सम्बन्धीत कागजात र तथ्य अध्ययन गरी प्रतिवेदन बुझाउन छानविन समितिका सदस्य तथा मेचीनगर नगरपालिका वडा नं ११ का अध्यक्ष सन्तोस मेचेको संयोजकत्वमा गठित उपसमितिले तयार पारी छानविन समितिमा बुझाएको प्रतिवेदनका अनुसार ढुंङ्गागिटिको राजश्व संकलन गर्न प्रयोग हुने नगदि रसिद कार्यालयलाई जानकारी नै नदिइ छपाइ गरेर वडा कार्यालय मार्फतवितरण गरेको भेटिएको छ ।
सो प्रतिवेदनमा भनिएको छ,‘रसिद नं। १०००१ देखि २०००० सम्म छपाइका लागि नगरपालिकाले २०७७ मंसिरमा आदेश दिएको र मंसिर २४ गते, ३० गते र पुष १६ गते खरिद शाखाले स्वीकृत गरेको देखिन्छ तर उक्त नम्बरका रसिदहरु २०७७ कार्तिक २ गते नै वडा नं। ९, १४ र १५ मा फेला परेको छ ।’
वडा अध्यक्ष मेचे संयोजक तथा वडा नं १४ का अध्यक्ष शंकर पोखरेल, वडा नं १५ का अध्यक्ष गुणराज भट्टराई र नगरका कानूनी सल्लाहाकार पदम डाँगी सदस्य रहेको उपसमितिको प्रतिवेदनलाई नै नगरप्रमुखको संयोजकत्वमा रहेको नगरस्तरिय छानविन समितिले आफ्नो अन्तिम प्रतिवेदनको रुपमा स्वीकार गरी २०७८ जेठ ११ गतेको कार्यपालिका बैठकमा प्रस्तुत गरिएको थियो । जुन प्रतिवेदनमा नदिजन्य पदार्थको राजश्व संकलनका सम्बन्धमा अन्य थुप्रै तथ्य फेला पारेको छ ।
मेची नगरका प्रमुख प्रशासकिय अधिकृत खेमराज ओझाले कार्यालयको छानविनबाट प्राप्त तथ्यहरुलाई २०७७ चैत २० गतेको कार्यपालिका बैठकमा प्रस्तुत गरे पछि नगरप्रमुख आचार्य संयोजक तथा उपप्रमुख मिना उप्रेती सहसंयोजक र वडाअध्यक्षहरु सन्तोस मेचे, शंकर पोखरेल र गुणराज भट्टराई सदस्य रहेको ५ सदस्यीय छानविन समिति समेत गठन गरेको थियो ।
छानविन समितिले फेला पारेका तथ्यहरुका आधारमा थप छानविन गर्नु पर्ने देखिएको जनाउँदै २०७८ जेठ ११ गतेको कार्यपालिका बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयलाई थप छानविनका लागि अनुरोध गर्ने निर्णय गरेको नगरप्रमखु आचार्यले बताए ।
छानविन उपसमितिको प्रतिवेदन








