
लघुकथा
यता श्रीमतीलाई टिकटक हेर्दाहेर्दै उता सब्जी डढेको पत्तै भएन हतारहतार पानी हालेर चलाइन । छोरीलाइ बोलाएर खाना खान दिइन् र भनिन्( म अब बाबालाई खाना लिएर खेतमा जान्छु ,छोरी तिमीले भाइको साथै घर र गाइबाख्राको राम्रो हेरचाह गर्नु,केही परे हामीलाई फोन गर्नु है ।
खेतमा उसले बिहानको मेलो जोतिसकेर गोरू फुकायो,तल्लो छेउको बाझोमा घाँस थियोे गोरूलाइ त्यतै चरून भनेर खेदिदियो । भोक निक्कै छिप्पिइसकेको थियोे त्यही बेला श्रीमती खाना लिएर आइपुगिन्,उ हात धोएर खाना खान बस्यो । सब्जी डढेर निकै तितो भएछ उसले श्रीमतीतिर हेर्दै भन्यो श्रीमती मौन रहिन् ।
बाँकी जोत्नुपर्ने खेतमा पन्छाउनु पर्ने काम धेरै छ दुवैजना भएर पन्छाउँ र भरेको जोत्ने मेलो बनाउँ , दुवैको सहमति भयो । मध्य दिनको घाम भर्खर खाना खाएर काममा लागेको उसलाई निकै गर्मी र थकानको महसुस भयो , पल्लाछेउमा रहेको झाडीको शितलमा गएर एकछिन सुस्तायो अनि सम्झ्यो एकछिन फेसबुक खोल्नुपर्यो,मोबाइल निकालेर उ आफनै धुनमा लाग्यो ।
यता श्रीमतीलाई एक्लै काम गर्न अल्छी लाग्न थाल्यो । उनले पनि वल्लाछेउको शितल ठाउँ रोजी बसेर मोबाइल खोलिन् । केहीबेर पछि दुवैका आँखा एकैचोटि गोरूतिर परे ,दुवै गोरू ब्याडमा चरिरहेका थिए । दुवै श्रीमान श्रीमती दुवै तिर बाट कराए( गोरूले सप्पै बीउ खाएछन अब के रोप्ने हत्तेरीका ।


