जेठ २०, २०७८
एजेन्सी – खेलमा दुईपटक पछि परेपनि मेम्फिस डिपाएले दुई गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा नेदरल्यान्ड्स स्कटल्यान्डसँगको हारबाट जोगिएको छ ।
पोर्चुगलमा बुधबार राति भएको खेलमा नेदरल्यान्ड्स र स्कटल्यान्डले २–२ गोलको बराबरी खेलेको हो । खेलको ११औं मिनेटमा ज्याक हेन्ड्रीको गोलबाट स्कटल्यान्डले अग्रता लिएको थियो । १७औं मिनेटमा मेम्फिस डिपाएले बराबरी गोल फर्काए ।
६४औं मिनेटमा केभिन निसवेटले गोल गर्दै स्कटल्यान्डलाई पुनः २–१ को अग्रता दिलाए । तर खेल सकिन एक मिनेट बाँकी रहँदा डिपाएले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई हारबाट जोगाए ।
यस्तै अर्काे मैत्रीपुर्ण खेलमा जर्जियाले रोमानियालाई २–१ ले पराजित गरेको छ । खेलमा दुवै टोलीले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो । ४२औं मिनेटमा रोमानियाका फ्लोरिउन टानासे सिधै रातो कार्ड खाँदै तथा ६४औं मिनेटमा सोलोमन दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।
६१औं मिनेटमा जर्गेस मिकाउटाड्जीले गोल गर्दै जर्जियालाई अग्रता दिलाएका थिए । ७१औं मिनेटमा जियोर्जी अबुरजानियाले गोल गर्दै अग्रता दोब्बर पारेका थिए । ७८औं मिनेटमा एन्ड्रेइ इभानले गोल गर्दै खेललाईै २–१ को अवस्थामा ल्याएपनि हार टार्न सकेन ।
यस्तै अर्काे खेलमा युवा स्टार एर्लिङ ब्राउट हालान्डले इन्ज्युरी समयमा गोल गरेपछि नर्वेले लक्जेमवर्गलाई १–० ले पराजित गरेको छ । अजरवैजानले बेलारुसलाई २–१ ले पराजित गर्दा बोस्निया एन्ड हर्जगोभिना र मोन्टेनेग्रोले गोलरहित बराबरी खेलेका छन् ।hamrokhelkud/from



