
जेठ २३, २०७८
एजेन्सी – युरोकप अघिको तयारी खेलमा स्वीडेनले सहज जित हात पारेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा स्वीडेनले अर्मेनियामाथि ३–१ को सहज जित हात पारेको हो ।
फ्रेन्ड्स एरिना सोल्नामा घरेलु टोलीको सहज जितमा इमिल फोर्सवर्ग, मार्कुस डानिल्सन र मार्कुस वर्गले गोल गरे । पाहुना टोलीका भाहन विचाकच्यानले एक गोल फर्काए । खेलको १६औं मिनेटमा इमिल फोर्सवर्गको गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो ।
३४औं मिनेटमा मार्कुस डानिल्सनले गोल गर्दै स्वीडेनको अग्रता दोब्बर पारे । ३८औं मिनेटमा स्वीडेनका सेवास्टिन लार्सन पेनाल्टीमा चुके ।६४औं मिनेटमा भाहन विचाकच्यानले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । ८५औं मिनेटमा मार्कुस वर्गले गोल गर्दै स्वीडेनको जित पक्का गरे ।
अन्तर्राष्ट्रिय खेलमा स्वीडेनको यो लगातार पाँचौ जित हो । युइएफए नेसन्स लिगमा फ्रान्ससँग ४–२ ले पराजित भएयता स्वीडेनले सबै पाँच खेलमा जित हात पारेको छ । पछिल्लो १० खेलमा पहिलो हार हो । नेसन्स लिगमा नथ म्यासेडोनियासँग २–१ ले पराजित भएयता अर्मेनिया अपराजित रहेको थियो । यसक्रममा ६ जित र ३ बराबरीको नतिजा निकालेको थियो ।
अब स्वीडेन युरोकपमा होमिनेछ । समूह ‘ई’ मा रहेको स्वीडेनले स्पेन, स्लोभाकिया र पोल्यान्डसँग खेल्नेछ । अर्मेनिया भने युरोकपमा छनोट हुन असफल भएकाले अब आगामी सेप्टेम्वरमा मात्रै विश्वकप छनोटको खेलमा सहभागी हुनेछ ।
यस्तै अन्य खेलमा स्लोभेनियाले जिब्राल्टारमाथि ६–० को जित दर्ता गरेको छ । रसियाले बुल्गेरियालाई १–० ले हराउँदा वेल्स अल्वानियासँग गोलरहित बराबरीमा रोकिएको छ ।hamrokhelkud/from



