‘समाचार र विचारको
साझा चौतारी’






हिसाब हराएको मान्छे


लघुकथा

दलमान दाजुभाइसगँ सगोल मै बसेको थियो। बुबाआमाको छहारीमा व्यबहार गर्नु नपर्ने एकसरो काम गरेपछी खासै थप जिम्मेवारी थिएनन। छोराछोरी पनि हुर्कदै थिए। श्रीमतीले सम्झाइन ,अब सधै यसरी व्यबहार चल्ला र नानीबाबु हुर्कदै छन तिनीहरुलाई बढाउनुपढाउनु पर्छ छुट्टिएर आफ्नै व्यबहार गरौ, नभन्दै दलमान एक अंश लिएर छुटियो।
एकाघरमा हुँदा दुःख धेरै नभोगेको सबै जिम्मेवारी श्रीमानश्रीमती मात्रको काँधमा आएपछि केही अभाव केही अप्ठेरो महसुस हुन थाल्यो। श्रीमानश्रीमतीको सल्लाह भयो दलमान आवश्यक प्रक्रिया पूरा गरेर विदेश गयो। श्रमिक भिसामा गएको मान्छे केही दिन त त्यहाँको वातावरण, खानपान, काम केही पनि नमिलेर आत्तियो तर विस्तारै गर्मी सँगै अरु कुरा पनि यसो अरु साथीहरूको अवस्था हेरेर भए पनि करैले पचाउदै गयो।
समय बित्दै गयो मेहनती मान्छे खुब मेहनतसाथ काममा जुट्यो केही रकम जम्मा गर्यो। विदेश आउदाको ऋण तिर्न भनेर श्रीमतीको नाममा पैसा पठायो फेरि पुर्ववत काममा लाग्यो। घरिघरि घरमा अनि गाउँमा फोन मार्फत भलाकुसारी गर्ने गाउँघरको खबर बुझ्ने गर्दा सबै राम्रो नै थियो। उसले अब केही बढी कमाएको पैसा बैंकमा राख्ने विचार गर्यो र श्रीमतीसँग खाता खोल्न सल्लाह गर्यो। श्रीमतीले पनि नजिकको बैंकमा खाता खोलिन् खाता नम्बर पठाइन पैसा जम्मा हुन थाल्यो।उता घरतिर वच्चा पढाउने लगायतका खर्चका लागि भिन्नै पैसा पठाउदै बाँकी पैसा बैंकको खातामा जम्मा गर्दै दलमान मनमनै भविस्यका मिठा योजना बुन्दै थियो ।
घरतिर फोन गर्दा सब ठिकठाक श्रीमती पनि खुसी भएको महसुस हुन्थ्यो । उता छुट्टिएदेखि बाआमा र दाजुभाइ सङ्गको सम्बन्ध त्यति राम्रो थिएन । फेरि श्रीमती पनि बिचबिचमा फोन गर्दा दाजुभाइ बाआमाको हामी प्रतिको दृष्टिकोण त्यति राम्रो नभएको भन्थिन तैपनि लामो समय आमाको सम्झनाले सताएपछी दलमानले आमालाइ फोन गर्यो । दुखसुखका कुराहरु धेरै भए । आमाले अल्प अल्प कुरा गर्नुभयो। खै बाबू के गर्छस तेरो व्यवहार म त सबै जान्दिन गाउँघरमा अलि नराम्रो सुन्छु आफै बिचार गर है । दलमानले दोहोर्‍याइ तेहेर्याइ आमालाइ निधो गर्न खोज्यो तर निधो पाएन ।
भिसाको म्याद सिद्दियो अन्तिम कमाइबाट केही किनमेल गर्न राखी बाकी पैसा खातामा हालेर दलमान श्रीमतिलाइ भोलीको उडानमा आउने जानकारी सहितको फोन गरेर सुत्यो । झिटिगुन्टा सहित दलमान घर फर्कियो । आफ्नो मातृभूमि टेक्दा उसलाई गौरवको महसुस भैरहेको थियो। घरमा पुग्दा घर बेहाल अवस्थामा पाएपछी उ सिधै आमाघरमा गयो , उसका छोराछोरी त्यही आमासङ्ग थिए तर उसलाई नचिनेझै हेरिरहेका थिए । उसले आमालाइ सोध्यो ( बुहारी खै त आमा ?
आमाले मलिम स्वरमा भन्नुभयो खै बाबू बिहानै नानिहरुलाइ अलपत्र पारेर कता गैछ मैले ल्याएर यिनिहरुलाइ खान दिएर यहाँ राखेको छु तँ पनि हात धोएर आइज खान ।
उसलाइ रातभरि निन्द्रा लागेन मनमनै बुनेका योजना सम्झदै उज्यालो भयो । भोलिपल्ट उ बैंकमा पुग्यो र काउन्टरमा यो खातामा कति रकम छ हेरिदिनु न भनेर खाता नम्बर दियो तर क्यासियरले भने हजुर अर्काको नाममा रहेको खातामा कति रकम छ भन्न मिल्दैन त । दलमान त्यही काउन्टरको कुर्सिमा थचक्क बस्यो उसलाई रिंगटा लागेर भाउन्न भए जस्तो भयो ।

 

प्रतिकृया दिनुहोस्