
(हास्य–व्यंग्य कविता)
देशका नेताहरू,
केही प्रयास गर्नु—
कम्तीमा प्रयास गरेको अभिनय त गर्नु,
मञ्चमा उभिँदा माइक समातेर
“जनता नै मेरो भगवान्” भन्नु अघि
एकचोटि भगवान्को हालत पनि हेर्नु।
तपाईं भन्नुहुन्छ—
बगैँचा फुल्नेछ,
तर बगैँचामा पानी छैन,
माटो सुकिसकेको छ,
माली भने सधैं विदेश भ्रमणमा छ।
फूल त फुल्ला,
तर फोटोमा मात्र,
पोस्टरमा मात्र,
चुनावी घोषणापत्रको
पृष्ठ मा मात्र।
मन्द हावा चल्नेछ रे,
तर हावा त चलिरहेको छ
कहिले कमिसनको,
कहिले गठबन्धनको,
कहिले कुर्सी बचाउने सौदाबाजीको।
यो हावा यति तातो छ
कि जनताको
पसिना सुक्छ,
तर नेताको निधारमा कहिल्यै पसिना आउँदैन।
खुशीले मन भर्नेछ रे,
कसको मन?
नेताको मन—
नयाँ गाडी आयो भनेर,
नयाँ बंगला थपियो भनेर,
नयाँ पद
सिर्जना भयो भनेर।
जनताको मन?
त्यो त बिहानै
खाली हुन्छ,
साँझसम्म
अझै खाली हुन्छ,
किनकि खुशी किन्न पनि
आज महँगो भइसके छ।
योजना बनाउनु भन्नुहुन्छ तपाईं,
योजना त बनाउनुहुन्छ—
कागजमा,
फाइलमा,
प्रेस मिटमा।
योजना यति राम्रा हुन्छन्
कि कार्यान्वयन
डराएर भाग्छ।
योजना बनाउँदा तपाईंको कलम चल्छ,
कार्यान्वयन गर्दा जनताको जुत्ता चल्छ—
कार्यालय धाउँदा,
लाइन बस्दा,
न्याय खोज्दा।
त्यो सुनसान सडक—
तपाईं भन्नुहुन्छ
विकास आउँछ,
सडक चम्किन्छ।
तर सडक
यति सुनसान छ
कि खाल्डाखुल्डीले पनि
एकअर्कालाई
नमस्कार गर्छन्।
“तिमी कहिले पुरिन्छौ?”
“थाहा छैन, सरकार फेरिएपछि सायद!”
बाटोमा उभिने मान्छे
हर्षोल्लास गर्नेछन् रे—
उनीहरू उभिएका छन्, हो,
तर हर्षोल्लासका लागि होइन,
बस कुर्दै,
काम खोज्दै,
वा देश छोड्ने
पालो पर्खँदै।
हर्षोल्लास त तब हुन्छ
जब पासपोर्टमा
भिसा लाग्छ।
यस्ता नेताहरूका लागि
मानव कल्याणको अभाव भए
तिनीहरूले देशको सेवा गर्नेछन्?
सेवा त गर्छन्—
आफ्नो दलको,
आफ्नो परिवारको,
आफ्नो खल्तीको।
देश भने
सेवाको सूचीमा
सधैं “पछि” लेखिएको हुन्छ।
राजनीति
झूटा वाचाहरूमा अड्किँदैन भन्नुहुन्छ तपाईं,
तर तपाईंको राजनीति
वाचाको गोदाम हो।
पुराना वाचा थन्क्याइन्छन्,
नयाँ वाचा ल्याइन्छन्,
मिति सकिएपछि
कुनै वाचामा
ग्यारेन्टी हुँदैन।
यस्तो राजनीति
आगो जस्तै हो रे—
हो, आगो नै हो,
तर चुलोको आगो होइन,
डढेलो हो।
जहाँ योजना जल्दछ,
आशा जल्दछ,
युवा जल्दछ।
अन्त्यमा बाँकी रहन्छ—
खरानी,
र खरानीमाथि उभिएको
नेताको मुस्कान।
सुन्नुहोस्, देशका नेताहरू,
मेरो कुरा सुन्नुहोस्!
सुन्नुहोस् भन्न सजिलो छ,
सुन्न चाहिँ गाह्रो छ, हैन?
किनकि सुन्ने कान
चुनावअघि मात्र खुल्छ,
चुनावपछि
कानमा सत्ता ठूला हेडफोन लगाइन्छ।
तपाईं भाषण दिनुहुन्छ—
घन्टौं,
भावुक भएर,
हात हल्लाएर।
हामी ताली बजाउँछौं,
किनकि प्रश्न सोध्ने समय
अहिले छैन रे।
प्रश्न त
सरकार ढलेपछि
सोध्ने हो रे!
नेताजी,
तपाईंले देशलाई
जहाज भन्नुभयो,
तर ककपिटमा तपाईंहरू झगडा गर्दै हुनुहुन्छ।
पाइलट धेरै,
दिशा एउटै छैन।
यात्री भने—
सीटबेल्ट बाँधेर
भगवान्लाई सम्झँदै।
तपाईं भन्नुहुन्छ—
“हामी नयाँ नेपाल बनाउँछौं।”
नयाँ त बन्छ—
नयाँ कर,
नयाँ नियम,
नयाँ प्रतिबन्ध।
पुरानो चाहिँ
गरिबी,
बेरोजगारी,
न्याय नपाउने परम्परा।
देशका नेताहरू,
अन्त्यमा एउटा सानो सुझाव—
यदि केही गर्न सक्नुहुन्न भने
कम्तीमा
हामीलाई हाँस्न दिनुहोस्।
किनकि तपाईंहरूको राजनीति
यति व्यंग्यात्मक भइसकेको छ
कि हामी रोएर होइन,
हाँसेर बाँचिरहेका छौं।
सुन्नुहोस्, देशका नेताहरू,
मेरो कुरा सुन्नुहोस्—
हामीलाई स्वर्ग चाहिँदैन,
कम्तीमा
नरक त नबनाइदिनुहोस्।
बगैँचा फुलाउने हो भने
पहिला माटो चिन्नुहोस्,
हावा चलाउने हो भने
पहिला दुर्गन्ध रोक्नुहोस्,
खुशी भर्ने हो भने
पहिला पेट भर्न
दिनु होस्।
यत्ति गर्नुभयो भने—
सायद,
एक दिन,
हामी पनि हर्षोल्लास गर्नेछौं।
भद्रपुर,झापा

