
अर्जुन पाण्डे
म अचेल लासहरू सँग गफ गर्छु।
सायद जिउँदाहरू सँग भन्दा लासहरू सँग कुरा गर्न सजिलो हुन्छ।
जिउँदाहरू धेरै कुरा लुकाउँछन्,
लासहरू भने जस्ताको तस्तै सबै कुरा सुनाउँछन्।
आज हजारौँ जिउँदा मलामीहरूको भीडमा एउटा लास लमतन्न सुतेको थियो।
म उसको छेउमा बसेँ र सोधेँ,
“यति धेरै मलामी देखेर तिमी खुसी छौ होला, है?”
लास मुसुक्क हाँस्यो।
फेरि मर्न मिल्ने भए,
मरुन्जेल खित्का छोडेर हाँस्यो र भन्यो-
“खुसी ?
बिरामी हुँदा एक गिलास तातोपानी नसोध्ने छोराबुहारी आज मलाई पसिना छुटुन्जेल काँध हालिरहेका छन् अनि आँखा सुनिन्जेल बलिन्द्र आँशु झारिरहेछन्।
मेरो खेतको साँधको आली तासेर झन्डै आधा गह्रो आफ्नो सिमाना भित्र पार्ने छिमेकी पनि आज मेरो मलामी बनेर आएको छ।
एकपटक दिएको अंश खाईमासी सके पछि फेरि अंश माग्दै म माथि बन्चरो प्रहार गर्ने भाइ आज सबै भन्दा अगाडि घाटमा पुगेको छ।
घाटमा दाउराको बन्दोबस्ती पनि उसैले गर्दैछ।
बाँचुन्जेल मेरो चुलोमा आगो बल्यो कि बलेन भनेर एकपटक पनि नसोध्ने उसैले आज मेरो लासमा निम्न लागेको आगो ठोसी-ठोसी बाल्दैछ।
अचम्म लाग्छ मलाई।
जसलाई मेरो सास सँग कुनै मतलब थिएन,
उनीहरूलाई आज मेरो शव सँग यति धेरै मतलब भएको छ।
जसले मेरो भोक कहिल्यै देखेनन्,
उनीहरू आज मेरो मृत्यु देखेर रोइरहेका छन्।
जसले मेरा आँसुमा मलाई भेटेनन्,
उनीहरू आज मेरा आँखामा हेरेर आँसु झारिरहेका छन्।
जेहोस्-
जिउँदो छँदा नदेखिएका अनुहारहरू पनि आज मेरो लास वरिपरि झुम्मिएका छन्।
सबै भन्दैछन्–
‘बिचरा ! कति राम्रो मान्छे मरेछ।’
म सोच्दैछु-
बाँचुन्जेल कसैको राम्रो हुन नसकेको म,
खरानी हुँदै गर्दा सबैको प्रिय भएछु।
मानिस हुनुको सबै भन्दा ठूलो विडम्बना आज बल्ल बुझ्दैछु।
मरे पछि मानिसको मूल्य बढ्दो रहेछ,
तर मानिसको मूल्य बुझ्नलाई त्यही मानिस जिउँदो छँदा कसैलाई फुर्सद नहुँदो रहेछ।
लास यति भन्दै चुप लाग्यो।
घाटमा आगो बलिरहेको थियो।वरिपरि मानिसहरू रोइरहेका थिए।
कसैले उसका गुणगान गाइरहेका थिए,
कोही आँसु पुछिरहेका थिए,
कतिले काँध फेरि–फेरि बोकेका कुरा सुनाउँदै थिए।
म भने ती सबै अनुहारहरू पढिरहेको थिएँ।
अनि पहिलो पटक मलाई मृत्यु सँग डर लागेन।
म पनि आफ्ना मलामी कति हुन्छन् भनेर मृत्यु पर्खिरहेको थिएँ।
तर राम्रो मान्छे बन्नका लागि मलामी गन्नै पर्ने बाध्यता कता कता डर चाहिँ लाग्दै थियो।
म मरेपछि मलाई पनि यसरी नै यति धेरै मानिसहरूले‘राम्रो मान्छे’ भनिदिए भने के गर्नु ?
जिउँदो छँदा जसको माया पाउन सकिनँ,
मरेपछि पाएको त्यो सम्मानको के अर्थ ?
त्यसैले म मृत्यु पर्खिरहेको थिइनँ।
म त केवल यो हेर्न चाहान्थे ,
मेरो मृत्युमा रुनेहरू कति हुन्छन्?मेरो मृत्युको खबर सुनेर मनमनै खुसी हुनेहरू पनि त होलान् यो जान्नु थियो।
सायद त्यसपछि बल्ल थाहा हुन्छ होला,
म जिउँदो हुँदा कति मानिसको भएँ,
मरे पछि कति मानिस मेरा हुन आए।
समय निकालेर पढ्नुहोला मेरो मात्र कहाँ होर सबैको हालत यस्तै होला ।
फेरि फेरि पनि यस्तै सृजनाहरु पढ्ने ईच्छा भए प्रतिक्रिया दिनुहोला नत्र त मलाई पनि लेख्ने जाँगर कहाँ बाट आउला।
२०८३ भाद्र २२
बुध्दशान्ति २, झापा



