
उपाधिपछि ट्रफी चुम्दै शतिसाले फुटबल क्लब ।
काठमाडौँ, असोज ११ गते । इटहरीमा सम्पन्न प्रथम तालतलैया गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मोरङको शतिसाले फुटबल क्लबले जितेको छ ।
इटहरी–२ स्थित बुढासुब्बा खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा शतिसालेले उदयपुरको फ्युजन फुटबल क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
शतिसालेका लागि विनोद राईले पहिलो हाफको ३४औँ मिनेटमा गोल गर्दै अग्रता दिलाउनुभएको थियो । दोस्रो हाफमा विकास परियारले ३१औँ र साजन बर्देवाले ३७औँ मिनेटमा गोल गर्दै जित सुनिश्चित गर्नुभएको हो ।
उपाधिसँगै शतिसालेले ट्रफीसहित नगद एक लाख ११ हजार १११ रुपियाँ प्राप्त गरेको छ भने उपविजेता फ्युजन फुटबल क्लबले ट्रफीसहित नगद ५५ हजार ५५५ रुपियाँमा चित्त बुझाएको आयोजक तालतलैया फुटबल क्लबका सचिव रोशन भुजेलले जानकारी दिनुभयो ।
खेलमा फ्युजन फुटबल क्लबका निश्चल मोक्तान म्यान अफ द म्याच घोषित हुँदै नगद दुई हजार र ट्रफी प्राप्त गरे ।
प्रतियोगितामा शतिसालेका विपुल मगर उत्कृष्ट गोलकिपर, सञ्जय श्रेष्ठ उत्कृष्ट डिफेन्डर, विकास परियार उत्कृष्ट मिडफिल्डर र विनोद राई उत्कृष्ट फरवार्ड घोषित हुनुभयो । शतिसालेकै शुरेन मगर उत्कृष्ट प्रशिक्षक घोषित हुनभयो ।
त्यस्तै, आयोजक तालतलैया फुटबल क्लबका आरोश चौधरी राइजिङ प्लेयर घोषित हुनुभयो भने फ्युजन फुटबल क्लबका विशाल मगर प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्नुभयो ।
उत्कृष्ट खेलाडी विशालले नगद चार हजार पाँच सय रुपियाँसहित ट्रफी प्राप्त गर्नुभयो । अन्य विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही तीन हजार रुपियाँ र ट्रफी प्राप्त गरेको आयोजकले जनाएको छ ।
असोज १ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको समापन समारोह कोशी प्रदेशका सामाजिक विकासमन्त्री गीता तिम्सिनाको प्रमुख आतिथ्यमा सम्पन्न भएको आयोजक समितिका अध्यक्ष शंकर राईले जानकारी दिनुभयो।
गोरखापत्र अनलाइन



