
भउचप्रसाद यादव / मित्र भण्डारी
काठमाडौँ, असोज ११ गते । निरन्तर वर्षासँगै देशभर बाढी, पहिरो, सडक भासिने र खोला तथा नदी आसपासमा डुबानको जोखिम बढेको छ । वर्षाका कारण पृथ्वी, बिपी, सिद्धिचरण, मध्यपहाडी, कालीगण्डकी, तमोर, राप्ती र कर्णालीलगायत प्रमुख राजमार्गका विभिन्न खण्ड अवरुद्ध हुँदा सडक यातायात प्रभावित भएको छ भने नदी तथा खोलामा जलसतह बढेपछि तटीय र होचा भूभागमा जोखिम बढेको छ ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पृथ्वी राजमार्गको कृष्णभिर, चौकीभिर, जवाङ खोला र फिस्लिङ क्षेत्रमा यातायात प्रभावित बनेको छ । ती स्थानमा पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको भए पनि वर्षा नरोकिएकाले सडक पुनः अवरुद्ध हुने जोखिम कायमै छ ।
प्राधिकरणका प्रवक्ता शान्ति महतले वर्षाका कारण पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन चुनौती देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “राजमार्गमा पहिरो पन्छाउने काम थालिए पनि वर्षा जारी रहेकाले तत्कालै सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने चुनौती देखिएको छ । हामी पुनः सडक सञ्जाल सञ्चालन गर्ने गरी तयारीमा छौँ ।” उहाँका अनुसार बिपी राजमार्गका माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेँसी, कटुन्जे र चौकीडाँडालगायत स्थानमा पहिरो तथा डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको छ ।
त्यसै गरी कान्ति राजमार्गको मकवानपुर खण्डमा पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याइए पनि ललितपुर खण्डमा सडक खुलाउने काम जारी छ । सिद्धिचरण राजमार्गको ओखलढुङ्गा–सल्लेरी खण्डमा सडक भासिएपछि एक्साभेटर, रक ब्रेकर र ह्विल लोडर परिचालन गरिएको छ । मध्यपहाडी राजमार्ग अन्तर्गत निसी गाउँपालिका–कानाबगरमा लेदोसहित पहिरो आउने क्रम नरोकिएपछि सडक खुलाउन आवश्यक मेसिन तयारी अवस्थामा राखिएको छ ।
कालीगण्डकी कोरिडोरको जैमिनी–८, बेलबगर, बागलुङ–बेनी सडकको हुलाके, तमोर कोरिडोरका विभिन्न स्थान तथा राप्ती राजमार्गको कपुरकोट–खारखोलामा पनि यातायात अवरुद्ध छ । कर्णाली राजमार्ग अन्तर्गत गगने खोला, नाग्म–जुम्लाको राँका, बाङ्गेसिमल–दहीखोला र हारे आसपासमा पहिरो तथा ढुङ्गा खसेका छन् । अवरुद्ध सडक खुलाउन मेसिन तथा प्राविधिक टोली परिचालन गरिएको छ ।
नदीमा जलसतह बढ्दो
वर्षासँगै नदी तथा खोलामा जलसतह बढेपछि बाढी र डुबानको जोखिमसमेत बढेको छ । नारायणी नदीको देवघाट केन्द्रमा जलसतह खतरा तहनजिक पुगेर बढ्दो क्रममा रहेकाले नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । नेपाल प्रहरीका अनुसार तनहुँको देवघाट र बागलुङको दरमखोला वामीटक्सारमा जलसतह सतर्कता तह पार गरेको छ ।
बाँकेको उदारापुरस्थित किरण नाला खोलामा पनि जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ । सङ्खुवासभाको अरुण नदीस्थित सिम्ले केन्द्रमा यसअघि नै जलसतह खतरा तह पार गरेपछि तटीय तथा होचा भूभागका बासिन्दालाई उच्च सतर्कता अपनाउन भनिएको छ ।
हावाहुरीको समेत सम्भावना
भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभावले शनिबार राति मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा ठुलो हावा चल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार मधेश प्रदेशदेखि सुुदूरपिश्चमसम्म तराईका जिल्ला र गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी जिल्लामा पनि हावाहुरीसहित उच्च वर्षाको सम्भावना छ ।
आइतबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पनि ठुलो हावा चल्न सक्ने पूर्वानुमान गरिएको बताउँदै उहाँले भन्नुभयो, “न्यूनचापीय प्रणालीको प्रभावले हावाहुरीसँगै वर्षाको सम्भावना छ । सोमबारदेखि क्रमशः कम हुँदै जाने देखिन्छ ।” हावाहुरीका समयमा झ्यालढोका बन्द गरी सुरक्षित स्थानमा बस्न तथा कमजोर संरचना, अग्ला रुख, बिजुलीका खम्बा र तारमुनि नबस्न सर्वसाधारणलाई आग्रह गरिएको छ । साथै वर्षाका कारण नदी तथा खोलाको जलसतह बढिरहेकाले तटीय क्षेत्रका बासिन्दालाई नदीको बहाब र स्थानीय अवस्थाबारे निरन्तर जानकारी लिएर सतर्क रहनसमेत आग्रह गरिएको छ ।
गोरखापत्र अनलाइन



