
जोखिममा रहेको सन्धिखर्क नगरपालिका–७ को भुजुङ बस्ती । इन्सेटमा स्थानीय बासिन्दाको एक घर ।
गणेश खनाल
अर्घाखाँची, असोज ११ गते । आकाशमा बादल मडारिन थाल्यो कि सन्धिखर्क नगरपालिका–७, भुजुङका बासिन्दाको मनमा त्रास उत्पन्न हुन्छ । सामान्य पानी पर्दा पनि उहाँहरूको ध्यान घरको छानोभन्दा बस्तीभन्दा माथि चर्किएको जमिनतिर जान्छ । कतै जमिन खस्यो कि, कतै पहिरो आयो कि, कतै त्यसले घरसँगै ज्यान पनि बगाउने पो हो कि भन्ने चिन्ताले उहाँहरूलाई सताउने गर्छ ।
भुजुङका गङ्गाबहादुर नेपाली भन्नुहुन्छ, “पानी पर्न थालेपछि बस्ती सुरक्षित छ कि छैन भन्ने चिन्ता हुन्छ ।” भुजुङमा करिब ४० घरधुरी बसोबास छ । ती परिवारमा १६९ जना बस्दै आएका छन् । अधिकांश दलित समुदायका परिवार रहेको यो बस्तीमाथिको जमिन वर्षायाममा चर्किने र पहिरोको जोखिम बढ्ने गरेको छ । लगातारको वर्षापछि अहिले जोखिम झनै बढेको स्थानीय बासिन्दा बताउँछन् ।
स्थानीय पुनबहादुर नेपालीका लागि वर्षायाम सधैँ त्रासदीमै बित्ने गरेको छ । राति पानी परेको बेला बिहान उठ्दा आफूहरू र आफ्नो घर सुरक्षित छ कि छैन भन्ने चिन्ताले सताउने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पानी परेको दिन राति निद्रा लाग्दैन, बिहान उठ्दा भइन्छ कि भइँदैन भन्ने चिन्ता हुन्छ ।”
भुजुङवासीका लागि यस्तो त्रास नयाँ भने होइन । २०७६ सालमै बस्तीमाथिको जमिन चर्किएपछि स्थानीयवासीलाई नजिकैको विद्यालयमा सारिएको थियो । तत्कालीन समयमा बस्ती जोखिममा रहेको पहिचान भए पनि त्यसपछि पनि समस्या समाधान भएको छैन । वर्षा लागेपछि पुरानै त्रास दोहोरिने गरेको स्थानीय बासिन्दा बताउँछन् । सन्धिखर्क नगरपालिकाले गठन गरेको विज्ञ टोलीले भुजुङको भौगोलिक अवस्था कमजोर रहेको र जुनसुकै समयमा जोखिम निम्तिन सक्ने निष्कर्षसहित बस्ती स्थानान्तरण गर्न सुझाव दिएको छ ।
नगरस्तरीय विपत् समितिका सदस्य–सचिव प्रकाश परियारका अनुसार विज्ञ टोलीले गरेको अध्ययनमा बस्तीको जमिन ठाउँ ठाउँमा चर्किएको र भौगोलिक अवस्था कमजोर रहेको उल्लेख छ । उहाँले भन्नुभयो, “विज्ञ टोलीको प्रतिवेदनले बस्ती स्थानान्तरण गर्नुपर्ने सुझाव दिएको छ । जोखिमलाई ध्यानमा राखेर आवश्यक प्रक्रिया अघि बढाउनुपर्ने अवस्था छ ।”
वर्षा बढ्दै जाँदा जोखिम बढ्ने भएकाले स्थानीयवासीले भने दीर्घकालीन समाधानको माग गर्दै आएका छन् । स्थानीयवासीका लागि अस्थायी रूपमा सुरक्षित स्थानमा बस्ने व्यवस्था मात्र पर्याप्त छैन । बर्सौंदेखि आफूहरूलाई सुरक्षित ठाउँमा सार्ने प्रतिबद्धता सुनिए पनि स्थायी समाधान नभएको उहाँहरूको गुनासो छ । जोखिम बढेपछि तत्कालका लागि स्थानीयवासीलाई नजिकै रहेको बहुउद्देश्यीय भवनमा राख्ने व्यवस्था मिलाइएको छ । केही परिवार आफन्तको घरमा समेत गइसकेका छन् ।
प्रमुख जिल्ला अधिकारी तोयनाथ सुवेदीका अनुसार स्थानीय सरकारसँग समन्वय गरेर जोखिमको अवस्था हेरी तत्काल सुरक्षित स्थानमा सार्ने व्यवस्था गरिएको छ । उहाँले भन्नुभयो, “जोखिम बढेमा स्थानीयवासीलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । आवश्यक परे बहुउद्देश्यीय भवनमा बस्ने व्यवस्था मिलाइएको छ ।” सन्धिखर्क नगरपालिका–७ का वडाध्यक्ष चुरा केसीका अनुसार केही स्थानीय बासिन्दा आफन्तको घरमा गइसकेका छन् भने बाँकीलाई पनि सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ ।
भुजुङको समस्या यस वर्षको वर्षासँग मात्र जोडिएको छैन । २०७६ सालमा जमिन चर्किएपछि नै बस्तीको जोखिम पहिचान भएको थियो । त्यसपछि बस्ती स्थानान्तरणका लागि उपयुक्त स्थान खोज्ने निर्णयसमेत भएको थियो तर स्थायी स्थानान्तरण हुन नसक्दा जोखिमयुक्त जमिनमै स्थानीयवासीको बसोबास कायम छ । नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठका अनुसार जोखिममा रहेको बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न नगरपालिका उपयुक्त जग्गाको खोजीमा छ । उहाँले भन्नुभयो, “बस्ती स्थानान्तरणका लागि उपयुक्त जग्गाको खोजी भइरहेको छ । जोखिममा रहेका स्थानीयवासीलाई सुरक्षित स्थानमा सार्ने विषय नगरपालिकाको प्राथमिकतामा छ ।”
वर्षायाममा हरेक पटक दोहोरिने त्रासले भुजुङवासीलाई तत्कालको सुरक्षा मात्र होइन, स्थायी समाधान चाहिएको छ । बस्तीमाथिको जमिन चर्किएको बर्सौं भइसक्दा पनि जोखिम उस्तै रहेकाले स्थानीयवासी सुरक्षित ठाउँमा नयाँ घर बनाउने दिनको प्रतीक्षामा छन् ।
गोरखापत्र अनलाइन



