सृजनाको चौतारी

लुटिन्छन् यहाँ लासहरु

कविता 

अर्जुन पाण्डे

लुट्दै हुन्छन् लासहरु
जिउँदा मान्छेहरू,
म त जिउँदो मान्छे-
मलाई त झन् हरेक दिन लुटिन्छ।

कहिले साथी बाट,
कहिले आफन्त बाट,
कहिले परिवार बाट,
कहिले आफ्नै ठानेकाहरू बाट –यसरी नै,
अलि-अलि गर्दै लुटिइरहेको छु म।

मेरा विश्वासहरू लुटिए,
मेरा सपनाहरू लुटिए,
मेरा वर्षहरू लुटिए,
बाँकी रहेको मेरो इतिहास पनि आज भोलि अरू कसैको नाममा लुटेर लेखिँदैछ।

क्रान्तिका ठेकेदारहरू
शहीदका सपनाहरू लुट्दैछन्।
सडकमा बगेको रगत सुक्न नपाउँदै ,
त्यही रगतका डोब माथि सत्ताको भर्‍याङ ठड्याएर
उनीहरू चढेको देखेको छु।

देखेको छु,
जसका लागि मान्छेहरू मरे,
उनीहरूकै नाम बेचेर मान्छेहरू बाँचेको।

जसले जनताको
मुक्तिको सपना देखाए,
उनीहरूले नै
जनताको सपना माथि
आफ्ना महल ठड्याएको।

तर पनि
म फेरि क्रान्तिकै
बाटो पछ्याउँदै निरन्तर हिँडिरहेको यात्री हुँ।

किनकि क्रान्ति गलत थिएन,
क्रान्तिको नाममा गरिएको व्यापार गलत थियो।

यही यात्रामा पनि छद्मभेषी कमरेडहरूले पटकपटक लुटे मलाई।

कहिले विचारका नाममा,
कहिले संगठनका नाममा,
कहिले आदर्शका नाममा।
तर उनीहरूले मेरो बाटो भने लुट्न सकेनन्।

आज भोलि उमेरको हिसाब लगाइँदैछ-
को कहिले आयो,
के बुझ्यो यसले,
को पहिले हिँड्यो,
को पछि आयो।
मानौँ,
क्रान्ति पनि उमेर हेरेर
दिइने कुनै प्रमाणपत्र हो।

ऊ नजन्मँदै–
मैले क्रान्तिको यात्रा
तय गरेको कुरा थाहा छ उसलाई।
फेरि पनि ऊ नै
मलाई क्रान्तिको
पाठ पढाउन उभिएको छ।

कति विडम्बना छ !
अरूले हिँडेको बाटोमा
आफ्नो नाम लेख्न
कति सजिलो हुँदो रहेछ।

यसरी पनि लुटिँदा रहेछन्
मान्छेका वर्तमान र विगतहरू—

यहाँ अस्सी वर्षकी
वृद्धा आमा देखि
तीन वर्षकी गरिमा नानी
सम्मको अस्मिता लुटिन्छ।
निर्मला पन्त र इनिशा
जस्ता थुप्रै चेलीहरूको
अस्मिता मात्र कहाँ लुटियो र ?

उनीहरूको बाल्यकाल लुटिन्छ,
उनीहरूको सपना लुटिन्छ,
उनीहरूको न्याय लुटिन्छ,
अन्ततः
उनीहरूको जीवन नै लुटिन्छ।

हामी केही बेर आक्रोशित हुन्छौँ,
केही बेर संवेदनशील पनि।
केही बेर मोबाइलको स्क्रिनमा आँसु झार्छौँ,
अनि फेरि आ-आफ्नै
दुनियाँमा रमाउँछौँ।

लुटिइरहन्छ एउटा जीवन।लुटिइरहन्छ एउटी चेली।लुटिइरहन्छ मानवता।

दृश्यमा देखाएर लुटिन्छ,
अदृश्यमा झन् धेरै लुटिन्छ।

कोही सामाजिक अभियन्ता बनेर आउँछ,
कोही राजनीतिको खोल ओढेर आउँछ।
कतै मानवताको राग अलापिन्छ,
कतै संवेदनाको स्वाङ रचिन्छ।

राहतको नाममा,
उद्धारको नाममा,
सेवाको नाममा–
असहायहरूको पीडा पनि बजारमा राखिन्छ।

त्यसैले,
सचेत नहुने हो भने
यहाँ मात्र होइन,
जहाँ पनि लुटिन्छ।
किनकि लुटेरा सधैँ हतियार बोकेर आउँदैन।

कहिले काहीँ ऊ मुस्कुराउँदै आउँछ।
कहिले काहीँ सान्त्वनाको हात लिएर आउँछ।
कहिले काहीँ तपाईंको आँसु पुछ्दै ,
तपाईंको आँसुलाई नै आफ्नो कमाइ बनाउँछ।

देखेको छु–
लास नाघेर ग्यास लुटेको यहाँ,
लासको कपाल लुछेर सुन लुटेको त्यहाँ।

देख्न बाँकी नै के थियो र ?
छोरा-बुहारी घरभित्र,
वृद्धा आमा गोठभित्र,
त्यो पनि नाङ्गो अवस्थामा।
मानवको अन्तिम वस्त्र समेत लुटिएको देखेकै हो,
भेटेकै हो।

त्यस पछि पनि हामी भन्छौँ, समाज कहाँ बिग्रियो ?
समाज बिग्रिएको होइन,
हामी भित्रको मान्छे हराएको हो।

लुट्न जन्मिएकाहरू हो ?
कति सक्छौ–
लुटेरै पेट पाल।
लुटेरै बाँच।
लुटेरै संसार बनाऊ।

कात्रोमा खल्ती सिलाएर लुट,।चिता माथि महल ठड्याएर लुट।

आमाको आँसु बेचेर लुट,
शहीदको रगत बेचेर लुट।
गरिबको भोक बेचेर लुट,
चेलीको पीडा बेचेर लुट।
मानवताको नाम बेचेर लुट।

तर-
ए लुटेराहरू हो,
एउटा कुरा सम्झि राख,
कात्रोमा खल्ती हुँदैन।
चितामा महल ठडिँदैन।
तिमीले जति लुटे पनि
माटोले तिमीलाई पनि लिन्छ, जसरी मलाई लिन्छ।

आज पनि म अझै जिउँदो छु।
लुटिएको छु,
तर सकिएको छैन।
घाइते छु,
तर झुकेको छैन।
बारम्बार लुटिएको छु,
तर लुटिनु लाई
नियति मानेको छैन।

म अझै त्यही यात्रामा छु — क्रान्तिको बाटोमा,
शहीदका सपनाहरू बोकेर,
लुटिएको इतिहास सम्झेर,
एउटा अटुट विश्वास बोकेर।

विश्वास छ–
एक दिन लुटिनेहरू उठ्नेछन्।

त्यो दिन
लुटिएको सपना फिर्ता हुनेछ।
त्यो दिन सडकमा बगेको रगत सत्ताको भर्‍याङ बन्ने छैन।

त्यो दिन रगतले नै लेख्नेछ–कसले लुट्यो ?
कसरी लुट्यो ?
किन लुट्यो ?

यसरी लुटिएका मान्छेहरू
फेरि आफ्नो संसार लिन उठ्नेछन्।
त्यो दिन सम्म म हिँडिरहनेछु।
लुटिँदै,
उठ्दै,
लड्दै,
तर अनवरत हिँडिरहनेछु।
किनकि म लुटिएको मान्छे हुँ,
तर मेरो बाटो
अझै लुटिएको छैन।

बुध्दशान्ति २, झापा
२०८३/०५/१२

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button