सीता शर्मा
काठमाडौँ, असोज १३ गते । चामल उद्योगीहरूले १४ दिनपहिले नै सरकारसमक्ष चामलको मूल्य घटाउने प्रतिबद्धता गरे पनि उपभोक्ताले अहिलेसम्म घटेको मूल्यमा किन्न पाएका छैनन् ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र चामल उद्योगीबिच गत भदौको अन्तिम साता भएको छलफलमा प्रतिबोरा चामल दुई सय रुपियाँसम्म घटाउन उद्योगी सहमत भएका थिए । उद्योगीले आफूहरूले गरेको प्रतिबद्धता अनुसार चामलको मूल्य नघटाएकाले उपभोक्ताले घटेको मूल्यमा चामल किन्न नपाएका हुन् ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार अघिल्लो साता विभागका पदाधिकारी र नेपाल चामल, तेल, दाल उद्योग सङ्घबिच भएको छलफलमा चामलको मूल्य घटाउन सहमत भएका थिए । विभागका निर्देशक अनिल किराँतीले मन्त्रालय र विभागमा उद्योगीसँग छुट्टाछुट्टै भएको छलफलमा उद्योगी र व्यापारी मूल्य घटाउन सहमत भए पनि अनुगमनमा घटेको नपाइएको जानकारी दिनुभयो ।
नेपाल खुद्रा व्यापार सङ्घले गएको तीन महिनादेखि लगातार बढेको चामल अहिलेसम्म नघटेको जनाएको छ । सङ्घका अध्यक्ष पवित्र वज्राचार्यले चामलको भाउ कुरामा घट्यो तर व्यवहारमा अहिलेसम्म नदेखिएको टिप्पणी गर्नुभयो । आपूर्तिमन्त्री साहसमक्ष चामल उद्योगीले मूल्य घटाउने प्रतिबद्धता गरेको छलफलमा साक्षी रहेका वज्राचार्यले प्रश्न गर्नुभयो, “चामलको मूल्य तुरुन्तै घटाउने प्रतिबद्धता गरेको पनि १३/१४ दिन भइसक्यो तर अहिलेसम्म किन घटेको छैन ?”
प्रतिबद्धता अनुसार मूल्य नघटेपछि नियमनकारी निकायले अनुगमन गरेर कारबाही गर्न सक्नुपर्नेमा त्यो पनि नभएको उहाँको गुनासो छ । अध्यक्ष वज्राचार्यका अनुसार साना खुद्रामा पसलमा अनुगमन गरेर परिणाम नआउनेमा सरकारका नियमनकारी जानकार हुँदाहुँदै पनि अनुगमन खुद्राभन्दा माथि जान सक्दैन ।
उपभोक्ता अधिकार तथा अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले पनि जुन ठाउँमा अनुगमन गर्दा चामललगायतका अन्य वस्तुको मूल्य नियन्त्रण हुन्छ त्यहाँ नगरेर औपचारिकतामा मात्रै सीमित हुने गरेको आरोप लगाउनुभयो ।
सुरुवातमा उद्योगी तथा व्यापारीले भारतमै धानको मूल्य बढेकाले नेपालमा पनि चामलको मूल्य बढाउनुपर्ने बाध्यता आइलागेको बताएका थिए । भारतीय बजारमा धानको मूल्य प्रतिक्विन्टल तीन हजार ३५० देखि चार सय भारुसम्म पुगेको र भारत सरकारले चामल निर्यातमा विभिन्न नीतिगत कडाइ गरेका कारण नेपालमा त्यसको प्रत्यक्ष असर परेको बताएका थिए ।
यही बाटोको अवरोध र ढुवानी भाडा महँगो परेको कारण देखाउँदै उद्योगी तथा व्यापारीले फेरि एक पटक चामलको मूल्यमा भारी वृद्धि गरेका थिए । असारदेखि भदौ अन्तिमसम्म ती महिनामा मात्रै उद्योगदेखि खुद्रा बजारसम्म आइपुग्दा २५ केजीको चामलमा चार सयदेखि पाँच सय रुपियाँसम्मको अस्वाभाविक मूल्यवृद्धि भयो । यसअघि बजारमा दुई हजारदेखि दुई सयदेखि तीन सय रुपियाँसम्म पाइने २५ केजीको जिरा मसिनो चामलको मूल्य बढेर करिब दुई हजार पाँच सयदेखि दुई हजार सात सय रुपियाँसम्म पुगेको छ ।
ढुवानी सहज भए मूल्य घटाउन तयार
थोक विक्रेताले भने यातायातको असहजताले गर्दा मूल्य घटाउन नसकेको जनाएका छन् । बाटो मर्मत वा वैकल्पिक मार्ग सञ्चालनमा आएसँगै ढुवानीमा लाग्ने खर्चमा कटौती हुने भनाइ छ ।
नेपाल खाद्य किराना तथा थोक व्यापार सङ्घका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले काठमाडौँसँग जोडिएको मुख्य राजमार्ग पृथ्वी राजमार्ग खुला हुनेबित्तिकै चामलको भाउ बिस्तारै घट्ने बताउनु्भयो । उहाँका अनुसार अबको केही दिनभित्र बजारमा अधिकांश ब्रान्डका चामलको मूल्य प्रतिबोरा ७५ देखि १२५ रुपियाँसम्मले घट्छ ।
अध्यक्ष श्रेष्ठले बजारमा पुरानै स्टक (महँगो मूल्यको) चामल रहेकाले नयाँ मूल्य लागु हुन केही समय लाग्ने बताउनुभयो । “सबैतिर पुरानै स्टक हुन्छ, उद्योगबाट होलसेल (थोक) मा आउँछ र होलसेलले मात्रै हामीलाई दिने हो,” अध्यक्ष श्रेष्ठले भन्नुभयो, “त्यसैले घटेरै आए पनि त्यसको प्रभाव बजारमा देखिन कम्तीमा एक हप्ता लाग्छ ।”
उद्योगीले चामलको मूल्य प्रतिबोरा १२५ देखि दुई सय रुपियाँसम्म घटाएको बताइरहँदा अध्यक्ष श्रेष्ठले भने उद्योगीले स्पष्ट रूपमा ‘यति नै घटाउँछौँ’ भनेर ठोस प्रतिबद्धता नजनाएको दाबी गर्नुभयो । यद्यपि चाडपर्व (दसैँ, तिहार र छठ) अवधिसम्म अब चामलको भाउ थप नबढ्ने कुरामा भने उद्योगी सहमत भएको उहाँले जानकारी दिनुभयो ।
एकदेखि डेढ महिनाभित्र नयाँ धानको सिजन पनि सुरु हुँदै छ, नयाँ सिजनको धान बजार आएपछि चामलको मूल्य प्रतिबोरा थप १० देखि १५ प्रतिशत घट्ने उद्योगीको दाबी छ । त्यो बराबरको मूल्य घटेपछि मात्रै उपभोक्तालाई ठुलो राहत मिल्ने नेपाल चामल, तेल, दाल उद्योग सङ्घले जनाएको छ ।
अनुगमनमा चामलको मूल्य नघटेको विषयमा बुझ्दा यसअघि महँगोमा खरिद गरेको मौज्दात चामल सबैतिर धेरै रहेको र त्यो सकिएर नयाँ खरिद गर्नेबित्तिकै मूल्य घटाउने प्रतिक्रिया पाएको पनि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक अनिल किराँतीले बताउनुभयो ।
तेल र दालको पनि घट्ने अपेक्षा
चामल, चिनी मात्र नभई खानेतेल र दालको मूल्यले पनि उपभोक्तालाई मारमा पारेको छ । यद्यपि चामलको जस्तो अस्वाभाविक र उच्च दरमा दाल र तेलको मूल्य भने नबढेको विभागको दाबी छ ।
तर खानेतेल र दाल उद्योगीले पनि ढुवानीको समस्या समाधान भएको र अन्तर्राष्ट्रिय बजारमा पनि मूल्य केही स्थिर रहेकाले चाडपर्वलक्षित छुटसहित मूल्य घटाउने प्रतिबद्धता आएको विभागले जनाएको छ ।गोरखापत्र दैनिकमा खबर छ ।



