कला

सोच मिले आर्यनसँग सहकार्य हुनसक्छ : दिनेश राउत

फिल्मीखबर, काठमाडौं, 2021/06/09
निर्देशक दिनेश राउत र अभिनेता आर्यन सिग्देलको जोडी एक समय नेपाली फिल्ममा राम्रै जमेको थियो । दुवै एकअर्काका पहिलो रोजाई बनेका थिए । दिनेश आफूले निर्देशन गर्ने फिल्ममा नायकको पहिलो प्रस्ताव नै आर्यनलाई गर्थे । आर्यन पनि दिनेशको फिल्म भनेपछि दाँयाबाँया सोच्दैन थिए । उनीहरुले तीन फिल्म ‘आइ एम सरी, नोभेम्बर रेन र क्लासिक’ मा सहकार्य गरेका छन् ।

‘क्लासिक’ पछि उनीहरुबीच ‘सनराइज टकिला’ नामक एक फिल्ममा पनि टिमअप हुँदै थियो । फिल्मलाई आर्यनको प्रोडक्सन हाउसले निर्माण गर्ने र दिनेशले निर्देशन गर्ने लगभग फाइनल थियो । तर, स्क्रिप्ट चित्त नबुझेपछि आर्यनले आफ्नो प्रोडक्सन हाउसबाट फिल्म नबनाउने निर्णय गरे । जसका कारण उनीहरुबीच पानी बाराबार भएको चर्चा त्यसबेला खुबै चलेको थियो ।

दिनेशका पछिल्ला तीन फिल्म ‘पर्व, प्रसाद र प्रकाश’ मा आर्यन नअट्नुले पनि उनीहरुबीच राम्रो सम्बन्ध नभएको चर्चालाई बल मिल्छ । तर, केही दिनअघि आर्यन र दिनेशबीच भेट भएको तस्विर सार्वजनिक भएपछि भने यो जोडी फेरि टिमअपको कसरतमा रहेको अनुमान गरिएको छ । तर, निर्देशक राउतले फिल्मको विषयमा कुराकानी गर्न आर्यनसँग भेट नभएको स्पष्ट पारेका छन् ।

उनले आर्यनसँगको सम्बन्ध कहिल्यै नबिग्रिएको पनि दाबी गरे । उनले फिल्मीखबरसँगको फोनवार्तामा भने, ‘मान्छेले बाहिरबाट बुझ्नु र भित्री पाटो फरक हुनसक्छ । आर्यनसँग व्यक्तिगत रुपमा कुनै प्रोब्लम थिएन । हाम्रो सम्बन्ध फिल्मले जोडिएको होइन । आर्यनसँग त मेरो फिल्ममा आउनुभन्दा धेरै अगाडिदेखिको सम्बन्ध हो । काम गर्दा होस् वा नगर्दा, हाम्रो सम्बन्ध उस्तै रहन्छ ।’

केही समयदेखि सँगै काम नगरेका कारण बजारमा सम्बन्ध बिग्रिएको चर्चा चलेको हुनसक्ने उनको अनुमान छ । ‘एउटा फिल्मको शिलशिलामा आर्यनसँग केही कुरामा खटपट भएको चाहिँ थियो । तर, त्यो कुराले हाम्रो सम्बन्धमा कुनै फरक पारेको छैन । सँगै काम नगर्दैमा व्यक्तिगत सम्बन्ध बिग्रन्छ भन्ने हुँदैन,’ उनले भने । राउतले तत्काल एकसाथ काम गर्ने कुनै तयारी नभएको बताए ।

कुनै पनि काम सँगै गर्नका लागि एकअर्काको सोच मिल्नु पर्ने उनको तर्क छ । उनी अगाडि भन्छन्, ‘मैले गर्न लागेको चिज उसलाई मनपर्‍यो भने वा हामी दुईको सोच एउटै भइदियो भने भविष्यमा सहकार्य हुनसक्छ । सहकार्य नभए पनि हाम्रो व्यक्तिगत सम्बन्ध बिग्रिँदैन ।’ दिनेश र आर्यन छिमेकी समेत हुन् । दुवैको घर थानकोट हो । निषेज्ञाधापछि आर्यन पनि थानकोटमा छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button