‘समाचार र विचारको
साझा चौतारी’






किन जन्मन्छ विवाद मेचीनगरमा मात्रै ?


विचार
झापाको मेचीगनर नगरपालिका यस अर्थ पनि देश भरिनै परिचित छ कि यो नेपालको पूर्वी नाकाको नगरपालिका हो, यसकारण पनि यो चर्चामा रहने गर्छ कि यही नगरपाकिाको पूर्वी नाका बजार काँकरभिट्टालाई यातायातको मिनी राजधानी पनि भनिन्छ । मेचीगनर नगरपाकिा परिचित हुनमा धेरै कारण छन्, धेरै साहित्यकार, नेता, पत्रकार मात्र होइन भौगोलिक हिसाबमा पनि यसको आफ्नै खालको ढाँचा र धरातल छ । तर, मेचीनगर नगरपालिका यसका अलवा अरु केही कुराले पनि देश भरि परिचय बनाउने नगरपालिकाका रुपमा समेत बुझिन्छ । विषय र प्रसङ्गले अर्को अर्थ नलागेमा कुनै बेलाको चुङ्गिकर प्रकरण होस , विगतको मकै, ढुङ्गा र ताजाको नदीजन्य वस्तुको उत्खनन् र नक्कली रसिद अनि यसको वहसको विषयले अहिले मेचीनगर नगरपालिका थप चिनजानमा आएको छ । त्यसो त नगरपालिका कार्यालय भित्रकै कुरा गर्ने हो भने कुनै बेला मेचीनगर नगरपालिकामा कर्मचारी सिण्डीगेटको कुरा पनि नआएको होइन । पछिल्लो पटक एकजना कर्मचारी आएको दुइ महिना नपुग्दै त्यही ठाउँमा पावर ले हो या नियमित प्रकृयाले हो अर्का कर्मचारी आएको विषय पनि चर्चा मै रह्यो । जनप्रतिनिधिहरुको कार्यकाल चार वर्ष पुग्दा नगरमा दिर्घकालिन रुपमा खास कुनै योजना र निमार्ण सहितको विकास नभएको सत्यतालाई लुकाउनु पर्ने देखिदैन । यसको अर्थ मेचीनगर नगरपालिकामा जनप्रतिनिधले केही नै गरेनन् भन्ने होइन । सामान्य नियमित विकासका काम भएका पनि छन् ।तर, नगरवासीले गर्व गर्ने काम यो हो भनेर भन्न सकिने भन्दा पनि समय समयका विवादका एजेण्डाले नै अधिक समय बितेर गयो भन्दा पनि धक मान्नु पर्ने छैन । सबै वडाका वडाध्यक्षहरुले सके सम्म र आफ्ना बुताले भ्याए सम्म काम गरेका होलान् । जनप्रतिनिधिहरुले केही गरेनन् भन्नु पनि अन्याय नै हुन्छ । आज कोभिडको यो महामारीमा वडा नं ६ का वडाध्यक्ष ललितबहादुर तामाङ्ग र वडा नं १३ का वडाध्यक्ष कृष्णराज सिग्देलको अग्रपंक्तिको सकृयातालाई सलाम गर्न लोभ गर्नु हुदैन ।र, अन्य वडाका वडाध्यक्षहरुले पनि आ आफ्नो ठाउँमा आफ्नो जिम्मेवारी र भूमिकालाई निर्वाह गरिरहेकै छन् । तर, केही समय अघि चौतारी पोष्ट अनलाइनको नियमित स्तम्भ (चौतारी संवाद, जो आज पनि हेर्न सकिन्छ)चौतारी संवादमा वडा नं १३ का वडाध्यक्ष कृष्णराज सिग्देलको भनाईलाई सुन्दा लाग्छ ै मेचीनगर नगरपालिकामा जनप्रतिनिधिहरुकै अवस्था यस्तो छ भने आम नागरिकले के अपेक्षा गर्ने ? आजका दिनमा पनि नगरपालिका विकासका चाख लाग्दा कथा सुनाउने भन्दा पनि समय समयका विवादकै एजेण्डामा अल्झिरहनुलाई आम नागरिकले यसलाई पनि विकास कै एक पाटो हो भनेर मान्नु ?मेरो लेखको आशय कसैप्रति कुनै तुष या दोष लगाउनु पटक्कै होइन तर मेरा दुष्टि र मैले जे अनुभव गरेको छु त्यसलाई प्रस्तुत गर्न मात्र खोजेको हुँ । हाम्रा छिमेकी नगरपालिका र गाउँ पालिकामा किन यस्ता विवाद हुुदैनन् त ? किन कहिल्यै उनीहरुले यस्ता विषयमा समय बिताउनु परेको छैन ? एक पटक छिमेकीहरु तर्फ पनि हाम्रो ध्यान जानु जरुरी छ । न त्यहाँ कर्मचारीको सिण्डीगेट थियो र छ भन्ने सुनिन्छ, न ढुङ्गा गिटी र नदीजन्य वस्तुको विवाद सुनिन्छ, न एउटा कर्मचारी आएर आफ्नो कार्यालयका कर्मचारीहरु चिन्न नपाउँदै अर्को कर्मचारी सरुवा लिएर आउँछ वा यस्तै विवादित विषयहरु किन सुनिदैन त ? के त्यहाँ पनि त कर्मचारी र जनप्रतिनिधिले नै त नगरपालिका र गाउँ पालिका चलाएका छन् नि त ? मेरो आशय यो मात्रै हो कि मेचीनगर नगरपालिका मात्रै आखिर बेलाबेलामा किन यस्ता समस्याको उल्झन्मा पर्छ ? कि त यहाँ जनप्रतिनिधिले आफ्नो जिम्मेवारीलाई राम्रोसँग बोध गरेका छैनन् , कि यहाँ फेरि पनि कर्मचारीहरुकै बोलबोला छ या जनप्रतिनिधि र कर्मचारी दुबै बीच समन्वय छैन अथवा एकले भनेको अर्कोले मान्दैनन् होइन भने मेचीनगर नगरपाकिामा मात्र किन यस्ता समस्याको जन्म हुन्छ एक पटक सबैले सोच्ने कि न सोच्ने ? सुनिन्छ कतिपय जनप्रतिनिधिहरुको गुनासो यस्तो पनि हुन्छ कि नगरले गरेका राम्रा कामको प्रचार हुदैन । मलाई लाग्छ जसले राम्रो गर्छ उसले प्रचारको वास्ता गर्दैन , काम गर्नेले काम गरिरहन्छ उसलाई प्रचारको याद र वास्ता पनि हुदैन त्यो भोलीका दिनमा नागरिकले देख्छन् । तर, यसको अर्थ यो होइन कि राम्रा कामको प्रचार गरिनु हुदैन भन्ने , राम्राका लागि अझ धेरै राम्रो गर्न प्रचार गरिनु पनि पर्छ तर त्यो भन्दा भयानक रुपको विवादको काम देखिन्छ भने सबैको ध्यान त्यता जान्छ । मेचीनगरकै सवालमा भन्ने हो भने बितेका करिब चार वर्षमा जनमूखि योजनाका कुनै काम नै भएनन्, देश वा समाज भनेको भाषणले भन्दा पनि भिजनले बन्ने हो । नियमित विकास निमार्णका काम त हिजो कर्मचारीहरुले गाविस र नगरपाकिा चलाउँदा पनि भएकै हुन् । तर, जनप्रतिनिधिहरुको उपस्थितिमा मेचीनगरका नागरिकले अपेक्षा गरेका सपनाप्रति हाम्रा जनप्रतिनिधि कति जवाफदेही र जिम्मेवार बने या आफु मात्र जनप्रतिनिधि भएर काम सबै कर्मचारीलाई जिम्मा लागए प्रश्न यो हो । समग्र मेचीनगरको विकासका लागि के हाम्रा जनप्रतिनिधहरुले ‘मिसन भिजन मेचीनगर ’को कुनै योजना बनाउनु भएको छ ?कि तपाईहरुसँग उपभोक्ता समिति र टोल विकासको मात्रै नामावली छ ? म त विनम्रताका साथ अनुरोध गर्दछु अझै धेरै समय त छैन , सबै कुरा जादुको छडि जस्तो पनि हुदैन बाँकी रहेको थोरै समयलाई पनि ‘म बनाउँछु मेरो मेचीनगर ’भनेर समग्र मेचीनगरको बृहत विकास योजनामा आवाश्यकता अनुसारको अनुभव, सल्लाह र सुझावका साथ तपाईहरुले संकल्प गर्नु भयो भने अझै केही बिग्रेको छैन ।तर, यस भन्दा अघि बेला बेलामा आउने विवादको क्रोनिक रोगको उपचारमा पनि यहाँहरुको ध्यान जानु जरुरी छ । एक पटक सोच्नु होस, किन हाम्रै मेचीनगरमा मात्र यस्ता विवाद जन्मन्छन्, कारण खोज्नुहोस, पत्ता लगाउनुृहोस र निराकरणमा लाग्नुहोस भोली मैले पनि लेख्नु पाउँ स्यावास् हाम्रा जनप्रतिनिधि, गर्व गर्छु म किनकी म मेचीनगरवासी हुँ भनेर !

प्रतिकृया दिनुहोस्