
३० जेठ २०७८
चौतारी पोष्ट अनलाइन
मेचीनगर ÷ झापाको मेचीनगर—६ काँकरभिट्टामा अव्यवस्थित र फूटफाथरुपमा व्यवसाय गदैं आएका व्यवसायीहरुको समस्या अब भने समाधान हुने भएको छ । यो समस्या काँकरभिट्टाको धेरै पुरानो समस्या हो । अब भने समस्याको दिर्घकालिन
रुपमा समाधान हुने भएको हो । तर, यस कार्यको कतै विरोध त कतै समर्थन भइरहेको छ ।
राजमार्गको दाया वाया पेटी र अन्य भागमा फूटफाथ रुपमा साना व्यवसाय सञ्चालन गदैं आएका व्यवसायीलाई व्यवस्थित गर्ने उद्घेश्यले काँकरभिट्टामा टहरा निर्माण सुरु गरेको छ । नेकपा एमाले झापा जिल्ला कमिटी सदस्य एवम् पुर्व काँकरभिट्टा गाविस अध्यक्ष डिल्लीराम घिमिरेले २०६८ सालमा मेचीनगर — काँकरभिट्टा बस टर्मिनल तथा मेचीनगर —७ को प्यारीभिट्टा बसपार्क निर्माणका क्रममा काँकरभिट्टा बस टर्मिनल क्षेत्रभित्र सानो व्यवसाय गरेर जीवनगुजरा गरिरहेका व्यवसायीहरुलाई काँकरभिट्टा बस टर्मिनल आसपासमै नगरपालिकाले भविष्यमा स्थान उपलब्ध गराउने लिखित सम्झौता गरी व्यवसायी बसेको ठाउँ खाली गराए पनि केहीबाहेक अन्यलाई स्थान उपलब्ध गराउन नसकेको सामाजिक सञ्जालमा पोस्ट गरेकाछन् ।
बाँकी रहेका व्यवसायीहरुलाई व्यवस्थित गर्नका लागि नगरपालिकाले काँकरभिट्टा बस टर्मिनलको पूर्व दक्षिण नेपाल बैंक उत्तरपटि संरचना निर्माण शुरु गरेको हो । यसका लागि नगरपालिकाले १८ लाख रुपैयाँ रकम विनियनेजन गरेपनि १७ लाख ९७ हजार ८ सय ५७ रुपैयाँमा उपभोक्ता समिति मार्फत निर्माण कार्य शुरु गरिएको बताइएको छ । २०७८ बैशाख २७ गते सम्झौता गरी चालु आर्थिक वर्ष २०७७÷२०७८ भित्रै २८ कोठे संरचना निर्माण कार्य सम्पन्न गर्नुपर्ने नेपाल बैंक पछाडी पसल टहरा निर्माण उपभोक्ता समितिले जनाएको छ ।
यता बसपार्कसँग प्रत्यक्ष सरोकार रहने पक्षले बस पार्कमा भइरहेको संरचना निर्माण कार्य तत्काल रोक्न आग्रह गरेका छन् । बर्सपार्कको पूर्वी मोहडाबाट प्रवेशद्वार दक्षिण पट्टिको खुल्ला क्षेत्रमा टहरा निर्माण सुरु गरेको भन्दै यातायात व्यवसायी, होटल व्यवसायी, ट्राभल्स व्यवसायी लगायतका १३ वटा संस्थाले एक विज्ञप्ती प्रकासित गरी विरोध र असहमति जनाएका छन् । तर, नेपाल बैंक पछाडी पसल टहरा निर्माण उपभोक्ता समितिका अध्यक्ष कुलदिप राईले भने नगरपालिकाले निर्माण कार्य रोक्न नभने सम्म निर्माण कार्य धमाधम हुने बताउनुभएको छ । ‘कस कस्।ले विरोध गर्छ हामीलाई थाहा छैन’अध्यक्ष राईले भने —‘हामीलाई त मेचीनगरपालिकाले काम रोक्नु पर्यो भनेर पत्र दिनु पर्यो अनिमात्र हामीले रोक्ने हो ।’
नगरपालिकाले बसपार्क साघुरो हुने गरी निर्माण गर्दै गरेको संरचना र त्यसले भविश्यमा पार्न सक्ने असरलाई लक्षित गरी खबरदारी सहितको सामुहिक आवाज उठाएको सम्बन्धित पक्षको भनाई छ । बसपार्क अतिक्रमण हुनबाट बचाउन सबै सरोकारवाला पक्षसँग आव्हान गर्दै जारी गरिएको विज्ञप्तीमा पूर्व मेची वस व्यसायी प्रा.लिका अध्यक्ष विष्णुकुमार श्रेष्ठ, पूर्व नेपाल यातायात व्यवसायी प्रा.लि.का अध्यक्ष केशव गिरी, सुनौलो संयुक्त यातायात व्यवसायीका अध्यक्ष भुपाल ओली, नागरिक यातायात प्रा.लिका अध्यक्ष लक्ष्मीप्रसाद उप्रेती, सगरमाथा यातायात प्रा.लिका अध्यक्ष मेदनी खरेल, ट्राभल्स संघ झापाका अध्यक्ष नीरबहादुर कार्की, मेचीनगर होटल व्यवासयी संघका अध्यक्ष सुरेशकुमार श्रेष्ठ(गोपाल) नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष खडानन्द भण्डारी, मेचीनगर अटो एण्ड इ रिक्सा यातायात प्रालिका अध्यक्ष दावा तामाङ र मेची अञ्चल टेम्पु इरिक्सा यातायात प्रा.लिका अध्यक्ष गणेश चौहानले हस्ताक्षर गरेकाछन् ।

मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले विगतमा मुख्य राजमार्ग र बसपार्क क्षेत्रबाट विस्थापित भएका फुटपाथ व्यवसायीहरुलाई व्यवस्थापन गर्नका लागि संरचना निर्माण गरिएको बताए । ‘एकसय बढि व्यवसायीहरुले फूटफाथमा व्यवसाय चलाएर बसेका थिए ’ नगरप्रमुख आचार्यले भने —‘
विस्थापित भएका व्यवसायीहरु मध्ये बाँकी रहेका करिव ४० जना व्यवसायीहरुका लागि योजना बमोजिम संरचना निर्माण गरिएको हो । ’धेरे विस्थापित व्यवसायीहरुलाई यसअघि नै बसपार्क नजिकैको नगरपालिकाको सटरमा व्यवस्थापन गरिएको छ। बसपार्क क्षेत्र नगरपालिकाको सम्पति रहेको भन्दैं नगरप्रमुख आचार्यले बसपार्क प्यारिभिट्टामा रहेको र यो बस टर्मिनल मात्र भएको बताए । यहाँ बस पार्किङ गरेर राख्न नपाईने उनको भनाई छ। ।
नेकपा एमाले झापा जिल्ला कमिटी सदस्य एवम् पुर्व काँकरभिट्टा गाविस अध्यक्ष डिल्लीराम घिमिरेले गरेको फेसबुक पोस्ट स्टाटस जस्ताको तस्तै
‘२०६८ सालमा काँकरभिट्टा बस टर्मिनल तथा प्यारीभिट्टा बसपार्क निर्माणका बखत काँकडभिट्टा बस टर्मिनल एरिया भित्र सानो खुद्रा व्यवसाय गरी जिवनगुजारा चलाइरहेका खुद्रा व्यपारीहरुलाइ बस टर्मिनल आसापासमै नगरपालिकाले पछि व्यवसाय गर्ने ठाउँ दिने शर्तमा नगरपालिकामा लिखित सम्झौता गरी आउदै गरेको वडादशैको मुखमा अत्यन्तै पीडा बोधगर्दै टर्मिनल निर्माण स्थल खाली गरिदिने खुद्रा व्यावसायीहरु मध्य विगतमा नगर पालिकाले निर्माण गरेको स्थान मा केही व्यावसायी लाइ व्यापार गर्ने ठाउ उपलब्ध गराइएको छ । बाँकी रहेका विगतदेखि स्थान प्राप्तीको प्रतीक्षामा रहेका निम्न खुद्रा व्यापारीहरुलाइ नगरपालिकाको निर्वाचन बाट निर्वाचित सक्षम नेतृत्व हुदाँ विगतमै स्थान उपलब्ध गराउनु पर्ने थियो, तर ढिलै भएपनि साना खुद्रा व्यापारीहरुलाइ अस्थायी रुपमा व्यवसाय गर्ने स्थान उपलव्ध गराउने गरी काँकरभिट्टा बस टर्मिनलको पूर्व दक्षिण नेपाल बैंक उत्तरपटी निर्माण गर्दै गरेको अस्थायी स्थानमा विगतमा तयार भएको लगतका निम्न आधारमा काँकरभिट्टा खुद्रा व्यपारी संघले अगुवाई गरेर स्थान उपलव्ध गराउने भूमिका निर्वाह गर्नु पर्दछ । अस्थायी रुपमा साना व्यावसायीहरुलाइ उपलब्ध गराउने स्थानको बिरोध गर्नु हुदैन । ’



