
३१ जेठ २०७८
चौतारी पोष्ट अनलाइन
मेचीनगर ÷ नेपाल प्रवेशको पूर्वीद्वार काँकरभिट्टा देशकै मुहार भएकाले यसको स्याहार र रेखदेखमा सवैको भूमिका अपरिहार्य हुने सोमबार झापाको काँकरभिट्टामा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । मेचीनगर—६ काँकरभिट्टास्थित मेची सामूदायिक भवनको हलमा मेचीनगर नगरपालिकाले आयोजना गरेको सर्वपक्षिय छलफलमा सहभागीहरुले मेचीनगर नगरपालिकाको काँकरभिट्टा देशकै मुहार भएकाले यसलाई सफा स्वच्छ र हराभरा बनाउने सामूहिक दायित्व नगरवासीको भएको बताएका थिए ।
नगरमा हुने हरेक गतिविधिहरुलाई सवैले न्यालिरहेको भन्दैं यसका सकरात्मक पक्षलाई आत्मसाथ र नकरात्मक पक्षको सुधार गदैं अघि बढ्नुपर्नेमा सहभागीहरुले जोड दिएका थिए । प्रदेश नम्बर १ का प्रदेश सभा सदस्यद्वय गोपालचन्द्र बुडाथोकी र श्रीप्रसाद मैनालीको उपस्थितीमा भएको छलफलमा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले स्थानीय सरकारले नगरको उन्नति प्रगति र विकासमा खेलेको भूमिकाका बारेमा सहभागीहरुलाई स्पष्ट स्पष्ट पारेका थिए । नगरप्रमुख आचार्यले नगरका विभिन्न ठाउँमा निर्माण गरिएका संरचनाहरु जे उद्घेश्यका लागि निर्माण गरिएको हो सोहि अनुसार सञ्चालन हुनुपर्नेमा जोड दिदैं जताभावीरुपमा प्रयोग गर्न नहुने र स्थानीय सरकारको कार्यविधि अनुसार चल्नुपर्ने बताए ।
काँकरभिट्टा बसपार्कबाट दैनिक लामो तथा छोटो दूरीका संयौ यातायातका सवारी साधन सञ्चालन हुने बताउदैं नगरप्रमुख आचार्यले मेचीनगर—६ काँकरभिट्टामा रहेको बस टर्मिनल र मेचीनगरको—७ प्यारीभिट्टामा बसपार्कको व्यवस्था गरेपनि सम्बन्धित पक्षको लापरवाहीका कारण अहिले सम्म पूर्णरुपमा कार्यान्वयनमा नआएको दावी गरेका थिए । उहाँले काँकरभिट्टामा टर्मिनल र प्यारीभिट्टालाई बसपार्ककै रुपमा प्रयोग गर्न सम्बन्धित पक्षलाई आग्रह गरेका थिए । ‘जे जति समस्या आउछन सवै नगरपालिकाको काँधमा हालेर पन्छिने परम्परा छ’ नगरप्रमुख आचार्यले भन्नुभयो—‘ समस्याबाट डराउने र भाग्ने होइन सामूहिकरुपमा सबै मिलेर समाधानतर्फ जाने हो । नगरपालिकाले मात्र सिङ्गो १५ वटा वडाको समस्या समाधान गर्न सक्दैंन् यसमा सवैको साथ सहयोग र समन्वय अपरिहार्य छ । ’ आज जो जो जनप्रतिनिधि भए पनि भोली अरु जो कोहि पनि जनप्रतिनिधि आउने भन्दैं उनले जनप्रतिनिधि आम नगरवासीले भोट दिएर बनाएको र जनप्रतिनिधिको एक्लो प्रयासले मात्र केही गर्न नसकिने विचार राख्नुभयो । उनले रेल्वे स्टेशन, नगरलाई सौन्दर्यकरण गर्ने लगायतका विषयमा सहभागीहरुलाई जानकारी गराउनुभयो । नगप्रमुख आचार्यले १÷२ वर्षका लागि अस्थायी टहरा बनाएकोले यसमा धेरै विवाद नगर्न सबैलाई आग्रह गरे ।
प्रदेशसभा सदस्य गोपालचन्द्र बुडाथोकीले नगरमा समस्या थुप्रै भएको भन्दैं यसको समाधान गर्ने जिम्मा स्थानीय सरकारको बताए । तर, स्थानीय सरकार र नगरवासीबीचको सम्बन्ध नङ र मासु जस्तै घनिष्ट हुनुपर्ने भन्दैं समस्या समाधानमा स्थानीय सरकारलाई नगरवासीले साथ सहयोग गर्नेपर्ने स्पष्ट पारेका थिए । अहिले नगरपालिकाक्षेत्रभित्रका सार्वजनिक सम्पति नगरपालिकाको मातहतमा हुने भएकाले ती सम्पतिको उचित व्यवस्थापनमा मेचीनगर नगरपालिका लाग्नुपर्ने प्रदेशसभा सदस्य बुडाथोकीले बताए। अर्का प्रदेशसभा सदस्य श्रीप्रसाद मैनालीले छलफलबाट गरिएका निर्णयलाई तत्काल कार्यान्वयन गर्न नगरपालिकालाई सुझाव दिएका थिए ।
उनले अहिले नगरमा देखिएका तमान समस्याहरुलाई समाधान गर्नका लागि नगर सरकार सक्रिय पूर्वकरुपमा लाग्नुपर्नेमा समेत जोड दिए । उपप्रमुख मीना पोखरेल उप्रेतीले अहिले पनि धेरै नगरका गौरवका योजनाहरु कार्यान्वयन हुन नसकेको भन्दैं यसमा नगरवासी र प्रदेशसभा सदस्यहरुले भूमिका खेलिदिन आग्रह गरेकी थिइन्।
छलफलमा सहभागीहरुले नगरपालिकाले अहिलेसम्म गरेका निर्णयहरुलाई कार्यान्वयन गर्न आग्रह गदैं विभिन्न विषयमा छलफल र निर्णय गर्ने अनि कार्यान्वयनमा उदासिन हुने हो भने यस्ता बैठक र छलफलको कुनै पनि औचित्य नहुने बताए । काँकरभिट्टा बस टर्मिनल भित्र निर्माण भइरहेको टहरामा विगतमा मुख्य राजमार्ग र बसपार्क क्षेत्रबाट विस्थापित भएका ३९ जना फुटपाथ व्यवसायीहरुलाई अस्थायी रुपमा राख्न सुझाव दिइएका थिए । काँकरभिट्टा बस टर्मिनल परिसरमा टहरा बनाउनु उचित भएको भन्दैं सहभागीहरुले यसको व्यवस्थाप गर्दा रंग र वर्णका आधारमा भागवण्डा गर्न नहुने बताए । संकटका बेलामा मात्र सांसद र राजनीतिक दल नगरपालिकाले खोज्न नहुने भन्दैं टहरा बनाउँदा अलिक फराकिलो बनाउनु पर्नेमा समेत उनीहरुको जोड थियो । देवकोटा पार्कका लागि संघीय सरकारबाट आउन लागेको १५ लाख रुपैयाँको बारेमा समेत नगरप्रमुख आचार्य र प्रदेश सभा सदस्य मैनाली स्पष्ट पारेका थिए ।



