मूल खबरस्वास्थ्य

कोरोनाविरुद्धको खोप लिन नेपाल एयरलाइन्सको विमान चीन प्रस्थान

२४ असार २०७८
न्युज अफ नेपाल, काठमाडौं ।

चीन सरकारसँग नेपाल सरकारले खरिद गरेको कोरोनाविरुद्धको खोप लिन नेपाल एयरलाइन्सको विमान विहिवार अपरान्ह चीनको राजधानी बेइजिङका लागि उडेको छ । नेपाल सरकारले जारी गरेको सूचना अनुसार नेपाल एयरलाईन्सको विमान खोप लिन विहिवार दिउसो ३ बजेर २५ मिनेट जाँदा त्रिभुवन विमानस्थलबाट उडेको विमान राती ११ः२५ मा खोप लिएर फर्कने तालिका तयार भएको जनाएकोछ । नेपालमा कोरोना बिरुद्धको खोप नहुँदा कोरोना संक्रमित तथा मृतकको संख्या ह्वात्तै बढेका कारण सरकारले चीनसँग ४० लाख डोज खोप खरिदका लागि नन डिस्क्लोजर सम्झौता गरेको छ ।

सोहीअनुसार पहिलो चरणमा १० लाख डोज खोप आउने छ । चीनबाट ल्याउँने कोरोना बिरुद्धको तेस्रो चरणको पहिलो खेपको खोप विहिवार रातीनै काठमाडौ ल्याई दोस्रो खेप खोप लिन नेपाल एयरलाईन्सकै बिमान शुक्रवार अर्थात् ९ जुलाईमा गई आउनेछ । क्रमशः यसरी नै १५ जुलाईमा तेस्रो खेप, १६ जुलाईमा चौथो खेप र २२ जुलाईमा पाँचौ र २३ जुलाईमा छैटौ खेप ल्याइने तालिका सरकारले सार्वजनिक गरेकोछ ।

‘भेरोसेल’ खोप नेपाल ल्याउनका लागि नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाज प्रयोग हुँदैछ । चीनको सिनोफार्म कम्पनीबाट सरकारले भेरोसेल खोप खरिद गर्न लागेको हो । यो खोप ६० वर्ष मुनि उमेर समूहका नागरिकको प्राथमिकताको आधारमा लगाईने मन्त्रालयले जनाएको छ । यसका साथै कोभ्याक्स सुविधामार्फत पनि जुलाई अन्तिम सम्म खोप नेपाल ल्याउँने तयारीमा मन्त्रालय जुटेको स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीले जनाएका छन् ।

कोभ्याक्सको प्रतिबद्धता अनुसार उस्ले उपलब्ध गराउँने खोपले नेपालका ६० लाख जनसंख्यालाई पुग्छ । यसअघि कोभ्याक्समार्फत तीन लाख ४८ हजार डोज खोप भारतबाट कोभिसिलको आईसकेको पनि डा.पौडेलले बताउँनुभयो ।
नेपालमा हालसम्म भित्रिएको ४२ लाख ४८ हजार खोपमा १० लाख डोज कोभिसिल भारत सरकारले नेपाल सरकारलाई अनुदान स्वरुप उपलब्ध गराएको जनाएको थियो भने १० लाख डोज नेपाल सरकारले खरिद गरेको मध्येबाट आएको थियो। त्यसैगरि १ लाख डोज भारतीय सेनाले नेपाली सेनालाई अनुदान दिएको र ३ लाख ४८ हजार कोभ्याक्सको प्रतिबद्धता अनुसार आएको छ ।

त्यसैगरि चीन सरकारले पहिलो चरणमा ८ लाख डोज र दोस्रो चरणमा १० लाख डोज भेरोसेल गरि जम्मा १८ लाख डोज खोप नेपाललाई अनुदान स्वरुप उपलब्ध गराईसकेको छ । नेपाल सरकारले नेपालमा १८ वर्षभन्दा माथिका कुल दुई करोड २० लाख जनसंख्यालाई खोप लगाउने लक्ष्य लिइएको छ । प्राप्त खोपबाट हाल सम्म ८ लाख ५१ हजार ३ सय जनालाई दोस्रो मात्रा र २६ लाख ११ हजार ८ सय ७ जनालाई पहिलो मात्रा खोप लगाई सकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार बुधबार सम्म जम्मा ३४ लाख ६३ हजार १ सय ७ जनालाई कोरोना बिरुद्धको खोप लगाई सकिएको र खोप लगाउँने र ल्याउँने कार्य जारी रहेको डा.पौडेल बताउँनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button