‘समाचार र विचारको
साझा चौतारी’






‘भाषा, साहित्यले चिनाउँदैछ काँकरभिट्टा’


२९ असार २०७८
झुलन रेग्मी

मेचीनगर । संघीय सांसद तथा पूर्व सञ्चार मन्त्री राम कार्कीले समाज रुपान्तरणका लागि भाषा, साहित्य र संस्कृतिलार्ई जीवन्त राख्नु पर्ने बताएका छन् ।

२०८ औँ भानु जन्म जयन्तीका अवसरमा मंगलवार भानु साहित्यिक प्रतिष्ठान काँकरभिट्टाले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै सांसद कार्कीले भाषा, साहित्यको ठूलो महत्व रहेको चर्चा गरे । ‘जसरी बिरामी हुँदा डाक्टरको आवश्यकता पर्दछ, त्यसरी नै भाषा, साहित्य हरेक व्यक्तिको जीवन जिउनका लागि चाहिन्छ,’ उनले भने ।

सांसद कार्कीले नेपाली भाषाले भारतभर छरिएर रहेका नेपालीभाषीलाई जोड्ने काम गरेको चर्चा गर्दै उनले हामीसँग रहेका भाषा, संस्कृतिको संरक्षण गर्नसके सामाजिक परिवर्तन सम्भव हुने बताए ।

उनले काँकरभिट्टाले एउटा वास्तविक परिचय खोजिरहेको पनि बताए । ‘काँकरभिट्टालाई हामीले कसरी चिन्ने ?’ उनले प्रश्न गरे, ‘काँकरभिट्टा भाषा साहित्यको संगमस्थल हो । यहाँ विभिन्न भाषा संस्कृतिको मिश्रण छन् । यसलाई बढाएर लैजान सकियो भने परिचय फराकिलो बन्न सक्छ ।’ सांसद कार्कीले भाषा तथा संस्कृति साझा सम्पत्ति भएकाले यसलाई संरक्षण गनुपर्नेमा जोड दिए ।

कार्यक्रममा संविधान सभा सदस्य रविन कोइरालाले जातीय विभेद अन्त्य गर्न भाषा, साहित्यले ठूलो भूमिका खेल्ने बताए । उनले भाषा साहित्यको क्षेत्रमा प्रतिष्ठानले उल्लेखनीय काम गरेको बताए । उनले राजनीतिक उतारचढावका कारण उत्पन्न परिस्थितिलाई भावेशपूर्ण भन्दा पनि संयमता अपनाएर अगाडि बढ्न सुझाव दिए ।

कार्यक्रममा प्राज्ञ सभा सदस्य सुभद्रा भट्टराईले भाषा, साहित्यको संरक्षणमा स्थानीय सरकारले चासो नदेखाएकोमा चिन्ता व्यक्त गरिन् । उनले स्थानीय सरकारले साहित्य प्रतिष्ठानमार्फत गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा मेचीनगर प्रमुख विमल आचार्यले भाषा, साहित्यको विकासमा नगर सरकारले सहयोग गर्ने बताए । उनले यस विषयमा छलफल गरेर निर्णयमा पुग्ने वचन दिए ।

यस्तै, पत्रकार महासंघका संस्थापक महासचिव तथा अग्रज पत्रकार चन्द्र भण्डारीले भाषा, साहित्यको उन्नयनमा यसखाले विशिष्ठ कार्यक्रमले टेवा पुग्ने बताए ।

प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा भानु पत्रकारिता पुरस्कारबाट यो वर्ष जन–संसद् दैनिकका प्रधान सम्पादक मुक्ति पौडेललाई पुरस्कृत गरिएको थियो ।

झापाका अग्रज पत्रकार पौडेल करिब दुई दशकदेखि पत्रकारिता क्षेत्रमा उत्तिकै क्रियाशील छन् । उनलाई नगद २१ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरियो ।

प्रतिष्ठानको पाँचवटा विधामध्ये यसपाली पत्रकारिता विधाका प्रतिभालाई मात्रै पुरस्कृत गरेको अध्यक्ष उप्रेतीले बताए । कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष मोहन उप्रेतीले संस्थाको आर्थिक गतिविधिसहित धन्यवाद ज्ञापन गरेका थिए ।janasamsadonline/from

प्रतिकृया दिनुहोस्