‘समाचार र विचारको
साझा चौतारी’






जब अमिताभ बच्चन ९० करोड ऋणमा डुबे


एजेन्सी, मुम्बई

बलिउड सुपरस्टार अमिताभ बच्चन उमेरले ७८ वर्षको भइसकेका छन् । आजका दिनमा पनि अभिनयमा उतिक्कै सक्रिय रहेका उनको स्टारडम अझै कमजोर भएको छैन । ७० र ८० को दशकमा एकसेएक सुपरहिट फिल्म दिएका उनी ९० को दशकमा निकै कठिन घडीबाट गुज्रनु परेको थियो । उनको आर्थिक अवस्था यति खराब भएको थियो कि उनीमाथि करोडौं ऋणको भारी थियो ।

त्यसबेला उनलाई फिल्मबाट पनि अफर आउन छाडेको थियो । तर, उनले कडा मिहिनेतपछि आफूलाई यसबाट बाहिर निकाले । सन् १९९९ मा अमिताभ बच्चनले ठूलो सपना बोकेर सुरु गरेको कम्पनी अमिताभ बच्चन कर्पोरेशन लिमिटेडलाई करोडौं नोक्सान भएको थियो । यो कम्पनी फिल्म प्रोडक्शन, डिस्ट्रीब्यूशन र इभेन्ट म्यानेजमेन्टको काम गर्थ्यो । कम्पनीमाथि करोडौं ऋण थियो ।

मेल टुडेसँगको कुराकानीमा अमिताभले त्यो मुश्किल दिन सम्झँदै भनेका छन्, ‘त्यसबेला ममाथि विभिन्न व्यक्तिबाट लिएको ९० करोड ऋण थियो । पछि मैले सबैको पैसा फिर्ता गरेँ । जब उनीहरुले ब्याज मागे तब मैलै उनीहरुका लागि निःशुल्क विज्ञापनमा काम गरेँ । म ती कुराहरु कहिल्यै भुल्दिनँ कि कसरी ऋण दिएका व्यक्तिहरु हाम्रो घरमा दिनहुँ आउँथे र अश्लिल गाली दिन्थे ।’

आफ्नो ४४ वर्ष लामो करिअरमा यो सबैभन्दा खराब समय रहेको उनको भनाई छ । ‘मैले सोच्न थालेको थिएँ कि म के-के गर्न सक्छु ? मलाई जवाफ मिल्यो कि मलाई अभिनय आउँछ । यसपछि मैले आफ्नो घरभन्दा पछाडि बस्ने यश चोपडासँग काम मागेँ । उहाँले तुरुन्तै मलाई ‘मोहब्बते’ जस्ता ठूला फिल्ममा काम दिनुभयो । यसपछि मैले विस्तारै सबै ऋण तिरेँ,’ उनले भनेका छन् ।

प्रतिकृया दिनुहोस्