‘समाचार र विचारको
साझा चौतारी’






सावधानी अपनाऔं, घातक तेस्रो लहरलाई पनि परास्त गर्नुछ


डा पल्लवी कोइराला
असार ३०, २०७८

नेपालमा अझै कोभिडको जोखिम कायम रहँदा रहँदै पनि सावधानीपूर्वक दैनिक जीवन सुचारु गर्ने आह्वानका साथ सरकारले लकडाउन खुकुलो बनाएको छ। शायद् यो सरकारका लागि बाध्यता थियो र जनताका लागि आवश्यकता पनि। निश्चय पनि असार महिना सरकारको लागि आर्थिक कारोवार सक्रिय हुने महिना हो -हिसाब किताव फर्छ्यौट हुने, बजेट निर्माण हुने, बढी कर सङ्कलन हुने हुँदा खुल्ला गरिएको हुनसक्छ। यो आलेख तयार गर्दै गर्दा नेपालको राजनीति तरङ्गित अवस्थामा पुगेको खवर आइरहेको छ। नयाँ सरकार गठनका लागि हुने भेला उत्सव र भेटघाटले सङ्क्रमण सक्रियतामा कस्तो असर पार्ला सहजै अनुमान लगाउन सकिन्छ I

कोभिड-१९ को खतरा अझै टरेको छैन। यद्यपि अस्पतालमा भर्ना हुन पर्ने, गम्भीर अवस्था, मृत्यु दरमा केही कमी देखिएको छ तर यी नयाँ घटनाहरूमा गिरावट मुख्यतया अपर्याप्त परीक्षण र ट्रेसिंगको कारणले भएको हुन सक्छ। समयमा सजग नरहे तेस्रो लहरले भयावह अवस्थाको सामना गर्नुपर्ने ठुलो सम्भावना देखिन्छ। ३ करोड जनसंख्याको ९ प्रतिशत कम खोपको कभरेज र २.६ प्रतिशत जनसंख्याले खोपको दुवै डोज पाएको हाम्रो देशमा तेस्रो लहर अत्यन्तै घातक हुने अनुमान यी अंकडाले पनि पुष्टि गर्छ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड-१९ को अवस्था विश्वव्यापी रूपमा अझैसम्म खतरा भई फैलिनुका प्रमुख ४ कारणहरू रहेका छन् :
१. भाइरस को बदलिँदो भेरियन्टस् २. बढ्दो सामाजिक मिश्रण र मान्छेको गतिशीलता ३. सार्वजनिक स्वास्थ्य र सामाजिक उपायको अनुपयुक्त प्रयोग ४ . खोप असमानता।

भारतमा प्रभाव पारेको भाइरसको तेस्रो लहरले नेपालमा पनि असर पार्ने सम्भावना देखिन्छ। यदि हामी यो कोभिड-१९ को संक्रमणलाई समयमा सावधानी अपनाएर नियन्त्रण गर्न सकेनौं भने, अहिले भारतमा आउने अनुमान गरिएको तेस्रो लहर नेपालको भविष्यको डरलाग्दो पूर्वावलोकन हो जसले धेरैको ज्यान लिन सक्छ। बच्चाहरू यो भाइरसको सबैभन्दा जोखिममा पर्ने अनुमान गरिएको छ । जब दोस्रो छाल चरम सीमामा थियो, ०-९ र १०-१९ वर्ष बीच भाइरस संक्रमितको संख्या द्रुत गतिमा बढेको थियो। खोप १८ बर्ष भन्दा माथिका मानिसहरूलाई मात्र लगाएको हुनाले बच्चाहरू भाइरसबाट सबैभन्दा बढी प्रभावित हुने अनुमान गरिएको छ। संक्रमणको पहिलो र दोस्रो लहरमा वयस्कहरूको जनसंख्यामा बढी ध्यान केन्द्रित गरिएकोले तेस्रो लहरको तयारी गरिरहँदा बच्चालाई पनि उपचार गर्न तयार हुन सम्बन्धित एजेन्सीहरूलाई सचेत गराउनु आवस्यक देखिन्छ।

नेपाल कोभिड-१० को दुई फरक लहरबाट ग्रसित भइसकेको छ I पहिलो लहर सेप्टेम्बर २०२० मा चरम अवस्थामा पुगेको थियो भने दोस्रो लहर अप्रिल २०२१ मा सुरु भएर मे २०२१ मा बढ्दो रुपमा फैलिएको थियो। महामारीको दोस्रो लहरमा अपर्याप्त तयारीको कारणले विनाशकारी प्रभाव देखियो। धेरै जसो काठमाडौं र देश भरका अस्पतालहरुमा बेड र अक्सिजनको सिलिन्डर लगायत आईसीयू सुविधाको अभावको कारण बिरामीहरुले निरन्तर संघर्ष गरिरहनु पर्यो।

संक्रमित बिरामीलाई (घर-आधारित वा संस्था-आधारित) सख्त नियमहरु र निगरानीमा राखी स्थानीय सरकार मार्फत पूर्ण रूपमा कार्यरत हुनुपर्दछ। संक्रमित बिरामीलाई खाना, पिउने पानी, बारम्बार स्वास्थ्य जाँच र औषधिसहित सबै आवश्यक सुविधाहरूको साथ आइसोलेसन केन्द्रहरूमा राख्ने व्यवस्था मिलाउनु पर्छ। वर्तमान समयको आवश्यकता भनेको कुनै पनि माध्यमबाट कोभिड-१९ भ्याक्सिनको व्यवस्था तेस्रो लहरको थालनी हुनुभन्दा पहिले मिलाउनु हो। कोभिड-१९ खोप कार्यक्रम सफलतापूर्वक कार्यान्वयन नहुँदासम्म सेनिटाइजर, मास्क प्रयोग र सामाजिक दूरी रणनीतिमा ध्यान केन्द्रित गर्नुपर्दछ जुन तात्कालिक प्रभावकारी रणनीति हो। खतरनाक भेरियन्टहरू प्रारम्भिक पहिचान गर्न र निगरानी, रोकथाम र केस व्यवस्थापन बृद्धि गर्न महत्वपूर्ण छ।

नेपालले चीन र अमेरिकाबाट प्राप्त गरेका खोपहरु धमाधम प्राप्त भई भण्डारण गर्ने क्रममा छन्। हालै अमेरिकाबाट नेपाल जोन्सन एन्ड जोन्सन कम्पनीका १५ लाख ३४ हजार ८५० डोज खोप उपलप्ध गराइएको छ। एकपटक लगाए पुग्ने यो खोप १५ लाख ३४ हजारभन्दा बढी नेपालीलाई पूर्ण मात्रामा लगाउन पर्याप्त हुनेछ। थप खोप उपलब्ध गराउने प्रतिवद्धता आइरहेका छन्। यो पहल र प्राप्ती प्रयाप्त नभएपनि सन्तोषजनक छ। सरकारले रणनीतिक योजना बनाई कडा टाइमलाइन र आधिकारिक प्रतिबद्धताका साथ इच्छुक राष्ट्रहरूसँग सम्झौता गरि थप कोभिड खोपहरू उपलब्ध गराउनु आजको आवश्यकता हो।

नियमित रूपमा भाइरस उत्परिवर्तन र भ्याक्सिनको अभावका कारण नेपालमा महामारीको तीव्र असरको सम्भावना देखिन्छ। निश्चय पनि हाम्रो जस्तो गाँस बास कपासका लागि निरन्तर सङ्घर्ष गर्नुपर्ने मुलुकका लागि लकडाउन जारी राख्नु एक व्यावहारिक विकल्प हुँदै होइन तर तेस्रो लहरको खतरा रहेको र सरकारको ठोस र दीर्घकालिन तयारी नभएको कारण तेस्रो लहर नेपालका लागि अधिक घातक हुनसक्दछ। स्वास्थ्य मापदण्डहरुको पूर्ण पालना गर्दै सावधानीपूर्वक जीवनशैलीलाई अनुशासित बनाएर महामारी परास्त गर्न हामी सबै सचेत बन्नु जरुरी छ।

-(कोइराला कलेज अफ मेडिकल साइन्स, भरतपुरमा कम्युनिटी मेडिसिन तेस्रो वर्ष अध्ययनरत छिन्।)swsthyakhabarpatrika/from

50% LikesVS
50% Dislikes

प्रतिकृया दिनुहोस्