मूल खबर

‘दार्चुला घटना अमानवीय, आततयी र वर्वरतापुर्ण’

दोषीलाई कारबाहीको दायरामा नल्याए संघर्षमा जाने २२ राजनीतिक संगठनको चेतावनी

२०७८ श्रावण १९

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी), विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित संयुक्त मोर्चा सम्बद्ध चार कम्युनिस्ट पार्टीले संयुक्त रुपमा विज्ञप्ति जारी गरी दार्चुला घटनालाई अमानवीय, आततायी र बर्बरतापूर्ण भएको बताएका छन् । शुक्रबार दार्चुला जिल्ला व्यास गाउँपालिका वडा न. २ का ३५ वर्षीय नेपाली नागरिक जयसिँह धामी भारतको उत्तराखण्ड राज्यको पांगन जाने क्रममा मालाघाटमा महाकाली नदीमा तुईन तर्दा भारतीय सिमा सुरक्षा बल (एसएसबी)ले पांगन तिरको तुईन खोलिदिंदा जयसिँह धामी नदीमा खसेर बेपत्ता भएका छन् । उनको खोजी कार्य जारी भएपनि हालसम्म शव फेला परेको छैन । भारतीय सीमा सुरक्षा बलको यस्तो अमानवीय, आततयी र बर्बरतापुर्ण घटनाको चार कम्युनिष्ट पार्टीले कडा निन्दा र भ्रत्र्सना गरेका छन् ।
वक्तव्यमा भनिएको छ, “यो घटना नेपाली राष्ट्रिय स्वाधीनतामाथिको भारतीय शासक वर्गको नांगो षड्यन्त्र र हस्तक्षेप हो । यो घटनाबाट बेपत्ता जयसिंह धामीको अवस्था सार्वजनिक गर्न, पीडित परिवारलाई न्याय र राहतको व्यवस्था गर्न, दोषीलाई शिघ्रातिशिघ्र कारबाही गर्न विश्वासिलो छानिबिन अगाडि बढाउन नेपाल सरकारसँग हामी चार पार्टी जोडदार माग गर्दछौं ।”
मालाट तुईन घटना नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वनिर्णयको अधिकारको विरुद्ध हेपाहा र षड्यन्त्रमूलक घटना भएको ठहर गर्दै वक्तव्यमा राष्ट्रिय मुक्ति र जनमुक्तिका पक्षधर आम नेपाली जनतालाई यसकोे डटेर प्रतिरोध गर्न विशेष आव्हान गरिएको छ ।
वक्तव्यमा यथाशक्य घटनाको वास्तविकता नेपाली जनताको बीचमा सार्वजनिक गरी दोषीमाथि कारबाही गर्न ढिला गरिए जनसंघर्षमा जाने समेत चार पार्टीले चेतावनी दिएका छन् ।
त्यसैगरी क्रान्तिकारी माओवादी, देशभक्त जनगणतान्त्रि मोर्चा, नेपाल सहितका २२ दलीय गठबन्धनले पनि दार्चुला घटनाका दोषीलाई कारबाहीको दायरामा नल्याए सडक संघर्ष गर्ने चेतावनी दिएको छ । गठबन्धनले आइतबार जारी गरेको संयुक्त वक्तव्यमा घटनाबारे अविलम्ब कूटनीतिक पहल गरी यो घटनामा संलग्न दोषीलाई कारवाहीको दायरामा ल्याउने काम गर्न शेरबहादुर देउवा नेतृत्वको सरकारसँग माग गरिएको छ । अन्यथा सडक सङ्घर्षमा उत्रनुबाहेक अर्को विकल्प नरहने विज्ञप्तिमा चेतावनी दिएको छ ।

साउन १५ गते व्यास गाउँपालिका–२, मालघाटमा स्थानीय ३३ वर्षीय जयसिंह धामी भारतको बाटो हुँदै जिल्ला सदरमुकाम खलङ्गा जाने क्रममा तुइनबाट महाकाली नदी तर्दै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको डोरी काटिदिएपछि महाकाली नदीमा डुबेर बेपत्ता भएका थिए ।

यो तथ्यलाई प्रत्यक्षदर्शीहरुको भनाइले पुष्टि गरेको तर, भारतको पिथौरागढ जिल्ला अधिकारीले दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएर यो घटनामा एसएसबीको संलग्नतालाई इन्कार गरेपछि घटना झन् पेचिलो र जटिल बन्दै गएको उल्लेख गरिएको छ ।

विज्ञप्ति जारी गर्नेमा नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी केन्द्र समाजवादी), नेकपा (माओवादी मोर्चा), राष्ट्रिय जागरण मञ्च, जनसमाजवादी पार्टी, नेकपा (संयुक्त), राष्ट्रिय जागरण परिषद्, नेपाल, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेकपा (बोल्शेविक), एम.सी.सी. खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिष्ट पार्टी (माओवादी), मार्क्सवादी एकता अभियान , नेकपा (मार्क्सवादी), नेकपा मार्क्सवादी (पुष्पलाल) र समाजवादी राष्ट्रिय मञ्च, नेपाल रहेका छन् ।
यसैगरी दार्चुला घटनालाई मानवता विरुद्धको अपराधको संज्ञा दिंदै देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेले घटनाको अविलम्ब छानविन गरी अपराधीलाई कडाभन्दा कडा कारवाही गर्न/गराउन देउवा सरकारसँग जोडदार माग गर्नुभएको छ ।
क्रान्तिकारी माओवादीलगायत चार वाम पार्टी सम्बद्ध किसान संगठनले पनि वक्तव्य निकालेर भारतीय ज्यादति र हस्तक्षेपको कडा विरोध गरेका छन् ।

सडकमा विरोध प्रदर्शन
घटना सार्वजनिक हुने वित्तिकै देशका विभिन्न ठाउँमा भारतीय विस्तारवादको ज्यादतिका विरुद्ध विरोध प्रदर्शन भएका छन् । अखिल (क्रान्तिकारी)ले सोमबार भारतीय दुतावास अगाडि विरोध प्रदर्शनको कार्यक्रम राखेको छ । संयुक्त मोर्चामा आबद्ध चार पार्टी तथा कार्यगत एकतामा रहेका २२ राजनीतिक संगठनले पनि सडक संघर्षका कार्यक्रम तत्कालै सार्वजनिक गर्ने तयारी गरिरहेको सम्बद्ध स्रोतले जनाएको छ ।moolbato.com/from

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button