सम्पादकीय

विस्तारवाद/साम्राज्यवाद विरोधी संघर्षमा एकताबद्ध होऊ !

सम्पादकीय
विस्तारवाद/साम्राज्यवाद विरोधी संघर्षमा एकताबद्ध होऊ !

२०७८ श्रावण १९
नेपाली कम्युनिस्ट आन्दोलनको प्रमुख कार्यभारको रुपमा रहेको विस्तारवाद तथा साम्राज्यवादविरोधी संघर्षको सिंगो कार्यभार बाँकी छ । भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको ज्यादति र हस्तक्षेप ‘अमानवीय आपराधिक’ रुपमा बढेर गएको छ । १५ साउनको दार्चुला प्रकरण नेपाल र नेपालीमाथिको भारतीय ज्यादति र हस्तक्षेप मानवता विरुद्धको अपराधको रुपमा प्रकट हुन पुगेको छ । बर्षौदेखि नेपाल र नेपालीको लागि ‘सारा दु:खको मूल कारण’को रुपमा रहेको भारतीय विस्तारवादका विरुद्ध अब निर्णायक लडाइँ लड्नुपर्ने बेला आएको छ । साथसाथै, अमेरिकी साम्राज्यवादको गिद्धे नजर पनि नेपालमाथि परेको छ । एमसीसी सम्झौताको माध्यमबाट अमेरिका नेपालमाथि प्रत्यक्ष हस्तक्षेपको रुपमा अगाडि बढिरहेको छ । आफ्नो साम्राज्यवादी अभिष्ट पुरा गर्नका निम्ति नेपाली भूमि प्रयोग गर्ने र चीनका विरुद्ध मोर्चा कस्न अमेरिका कुनै पनि हालतमा नेपालको संसदबाट एमसीसी सम्झौता अनुमोदन गराउन लागिपरेको छ । अमेरिकी विदेशमन्त्रीको फोन र अमेरिकी राजदूतको दौडधूपले अमेरिकी हस्तक्षेपको स्थितिलाई दर्शाउँछ ।
नेपाललाई स्वाधीन र आत्मनिर्भर बनाउन भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादका विरुद्ध निर्णायक लडाइँ नलडी सुखै छैन । राष्ट्रिय प्रतिरोध युद्ध वा आन्दोलन अबको नेपाली कम्युनिस्ट आन्दोलनको रोडम्याप बन्न पुगेको छ । नेपाललाई स्वाधीन र आत्मनिर्भर हुन नदिने प्रमुख भूमिका भारतीय विस्तारवादले खेलिरहेको छ । उसले नेपालभित्र माइक्रो मेनेजमेन्ट समेत गरिरहेको छ । नेपाली अनुहारका विस्तारवादी र साम्राज्यवादी दलालहरु पनि देश र जनताका दुश्मनको भूमिकामा रहेका छन् ।
सामन्तवाद र साम्राज्यवादविरोधी संघर्ष नेपाली कम्युनिस्ट आन्दोलनको स्थापना कालदेखिको कार्यभार हो । आफूलाई कम्युनिस्ट भन्नेहरु सबैले यो संघर्ष अनिवार्य रुपमा लड्नु पर्दछ । तर विडम्बना नेपालका संसदवादी कम्युनिस्टहरु भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादकै दलाल छन् । र, विस्तारवादी र साम्राज्यवादी स्वार्थकै मतियार बन्न पुगेका छन् । तर सच्चा कम्युनिस्ट क्रान्तिकारीहरुको भने यो साझा कार्यभार हो । यो कार्यभार पुरा गर्नका निम्ति एकताबद्ध भएर लड्न जरुरी छ । रणनीतिक संयुक्त मोर्चामा रहेका चार कम्युनिस्ट पार्टी र कार्यगत एकतामा रहेका २२ वटा राजनीतिक संगठनले सडक संघर्ष, जनसंघर्ष वा प्रतिरोध संघर्षका लागि सार्वजनिक आव्हान समेत गरेका छन् ।
सच्चा देशभक्त र कम्युनिस्ट क्रान्तिकारीहरुको यतिबेलाको कार्यभार भनेकै नेपाललाई स्वाधीन र आत्मनिर्भर बनाउने हो । एमसीसी सम्झौता खारेज गराउने, चुच्चे नक्सामा भएको जमिन भारतीय कब्जाबाट फिर्ता ल्याउने, अतिक्रमित सीमा क्षेत्रका अन्य भूभाग फिर्ता गराउने, भारतसँग गरिएका सबै असमान सन्धि सम्झौता खारेज गराउने, खुल्ला सीमाना बन्द गर्ने र परस्पर हितमा आधारित रहेर भारतसँग नयाँ सन्धि गर्ने परिस्थिति सिर्जना गराउनु नै यो लडाइँको कार्यभार हो । त्यसका निम्ति राष्ट्रिय स्वाधीनताका आम जनताको साथ सहयोगमा प्रतिरोध आन्दोलनलाई अगाडि बढाउन कम्युनिस्टहरु एकताबद्ध भएर अगाडि बढ्न जरुरी छ । नेपाल र नेपाली जनतामाथि भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको अमानवीय, आततयी र वर्वरतापुर्ण अत्याचारको श्रृङ्खला सदाका लागि अन्त्य गर्नका लागि आज यो लडाइँ स्वाभिमानी नेपालीहरुको साझा दायित्व र जिम्मेवारी बन्न पुगेको छ ।मूलबाटो अनलाइनबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button