
साउन २४, २०७८
एजेन्सी – नयाँ सिजनको फ्रेन्च लिग वानमा साविकको विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले पूनरागमन जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ ।
एक गोलले पछि परेको अवस्थामा यस सिजन क्लबमा अनुबन्ध भएका मोरोक्कोका अचरफ हाकिमी र मोउरो इकार्डीले गोल गरेपछि पीएसजीले लिग वानको नव प्रवेशी ट्रोएसमाथि २–१ को जित दर्ता गर्दै विजयी शुरुवात गरेको हो । ओआलिड इल हज्जामको गोल सान्त्वना बन्यो ।
स्टेट डि एयुवे ट्रोएसमा शनिबार राति भएको खेलमा घरेलु टोलीले खेलको नवौं मिनेटमा अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा पराजित हुन पुग्यो । ओआलिड इल हज्जामले डेलान चाम्बोस्टको पासमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
१९औं मिनेटमा यसै सिजन इटाली क्लब इन्टर मिलानबाट पीएसजी आएका अचरफ हाकिमीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले एन्डर हेरेराको पासमा गोल गरेका थिए । त्यसको दुई मिनेट पछि नै मोउरो इकार्डीले गोल गर्दै पीएसजीलाई २–१ ले अघि बढाए । उनले केलियन एमबाप्पेको पासमा गोल गरेका थिए ।
त्यसपछि दुवै टोलीबाट गोल निस्कन नसक्दा पहिलो हाफको नतिजा नै पीएसजीको जितमा पर्याप्त बन्यो । बल पोसेसनमा बलियो पकड बनाएको पीएसजीले केही आक्रमण बुनेपनि सफल हुन सकेन । पीएसजीले ट्रोएसविरुद्ध यसै सिजनमा आबद्ध गरेका अचरफ र जर्जिन्हो वाइनाल्डमलाई खेलाएको थियो ।
सर्जियो रामोस चोटका कारण टोली बाहिर रहँदा गोलरक्षक जियानलुइजी डोन्नररुम्मा पनि टोली बाहिर नै रहेका थिए । नेयमार छुट्टी मनाएर फर्किएका छन। यो जितसँगै पीएसजीले ३ अंक जोडेको छ । ट्रोएस अंकविहीन हुदै पुछारमा छ ।
यस्तै अर्काे खेलमा लियोन र ब्रेस्टले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । ब्रेस्टका इर्भिन कार्डाेनाले गोल गर्दा लियोनका इस्लाम स्लिमानीले बराबरी गोल फर्काएका थिए ।hamrokhelkud/from



