
साउन २४, २०७८
एजेन्सी – इंग्लिस फुटबल सिजनको सुरुवातको रुपमा लिइने एफए कम्युनिटी सिल्डको उपाधि लेस्टर सिटीले जितेको छ । शनिबार वेम्बली रंगशालामा म्यानचेस्टर सिटीमाथि १-० को जित निकाल्दै लेस्टरले सिजनको सानदार सुरुवात गरेको हो ।
लेस्टरको जितमा सिटीकै पूर्व खेलाडी केलेची इहेनाचोले गरेको गोल निर्णायक सावित भयो । उनले खेलको ८७ औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए । डिफेन्डर नाथन आकेले पेनाल्टी क्षेत्रभित्र इहेनाचोलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । खेलको अन्त्यतिर अग्रता लिएको लेस्टरलले त्यसलाई जोगाउँदै उपाधि जित्न सफल भयो ।
युरोपेली च्याम्पियनसिप र कोपा अमेरिकामा सहभागी मुख्य खेलाडीविना नै मैदानमा उत्रिएको सिटीले खेल अवधिभर बल पोसेसनमा पकड जमाउँदै बढी आक्रमण गरेको थियो । तर लेस्टरको अनुशासित डिफेन्सले सिटीलाई अघि बढ्ने अवसर नै दिएन । लेस्टरले पहिलो हाफमा अग्रता लिने अवसर पाएपनि भार्डीको प्रहार पोस्टमा लागेर फर्कंदा सिटी जोगिएको थियो ।
दोस्रो हाफमा पेप गुआर्डीओलाले टोलीका नयाँ विंगर ज्याक ग्रिलिसलाई मैदानमा उतारेका थिए । ग्रिलिसले ६५ औं मिनेटमा मैदान प्रवेश गरेपनि उल्लेख्य योगदान दिन सकेनन् । उनलाई सिटीले प्रिमियर लिगको कीर्तिमानी १ सय मिलियन पाउण्डमा खरिद गरेको हो ।
लेस्टरले ५० वर्षपछि कम्युनिटी सिल्ड जितेको हो । प्रिमियर लिग विजेता र एफए कप विजेताबीच सिजनको सुरुवातमा कम्युनिटी सिल्डको लागि प्रतिस्पर्धा हुने परम्परा रहेको छ ।hamrokhelkud/from



