खबर

सरकारले अफगानिस्तानमा रहेका नेपालीलाई उद्धारको संयोजन गर्न समिति बनायो

३१ श्रावण २०७८

काठमाडौं- सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई उद्धारको संयोजन गर्नका लागि एक समिति गठन गरेको छ।

सरकारले द्धन्दग्रस्त मुलुक अफगानिस्तानमा समस्यामा परेका नेपालीहरुलाई उद्धारका लागि समन्वय गर्न भन्दै परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको संयोजकत्वमा एक समिति गठन गरेको परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले बताए।

प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले सो समितिमा गृह मन्त्रालय, अर्थ मन्त्रालय, श्रम मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, रक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, नेपाल प्रहरी र सीसीएमसीको सहसचिव तहको प्रतिनिधित्व हुनेगरी समिति बनाइएको र समितिले आइतबारदेखि नै काम गर्ने उनले बताए।

‘समितिको उद्देश्य के छ भने कदाचित कसैलाई हामी आफैंले इभाक्वेट गरेर लिएर आउनुपर्‍यो भनेदेखि त्यसको संयोजन गर्ने, त्यसको व्यवस्थापन गर्ने गरेर सबै सरोकारवाला निकायहरुलाई राखेर यो संयन्त्र बनेको हो’, उनले भने।

अफगानिस्तानमा औपचारिक क्षेत्रमा करिब १५ सय नेपाली रहेको सचिव पौडेलले बताए। नेपालीहरु अफगानिस्तानको काबुल बाहिर हालसम्म नरहेको रिपोर्ट पाएको उनले उल्लेख गरे। अफगानिस्तानमा औपचारिक क्षेत्रमा आवद्ध रहेका नेपालीहरु स्वयं संस्थाको पहलमा नेपाल आउने सम्भावना रहेको पाैड्यालले जानकारी दिए।

सरकार दूतावास तथा अफगानिस्तानमा रहेका नियोगहरुसँग सम्पर्कमा रहेको उनले बताए। मन्त्रालयले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सम्पर्कमा आउनका लागि सूचना जारी गर्ने, जहाँबाट भएपनि आफ्नो अवस्थाबारे जानकारी गराउनका लागि अनलाइन पोर्टल बनाउने तथा कन्सुलर सेवा विभाग र परराष्ट्र मन्त्रालयमा एक/एक वटा फोनलाई ह्वाट्स एप र भाइबरमा लिंक गरेर सञ्चालन गर्ने पनि सचिव पौड्यालले बताए। Ratopati News/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button