
३१ साउन २०७८
चौतारी पोष्ट अनलाइन
काँकरभिट्टा ।भदौ १ गतेबाट झापा मेचीनगरका व्यवसायीले आ आफ्ना व्यवसाय सञ्चालन गर्नेभएकाछन् ।
कोभिड १९ का कारण सरकारले घोषणा गरेको लकडाउन अवधिको बैकिङ्ग कारोवारमा लाग्ने व्याज हर्जना तथा व्यवसाय कर छुटलगायतका माग राख्दै आइतबार झापा मेचीनगरका १५ वटा संघ संस्थाहरुले संयुक्तरुपमा स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । होटल व्यवसायी महासंघका केन्द्रीय महासचिव राजु अधिकारीको नेतृत्वमा मेचीनगर नगरपालिका पुगेको एक प्रतिनिधि मण्डलले नगर प्रमुख विमल आचार्यलाई ज्ञापन पत्र बुझाएको हो ।
कोराना संक्रमणको नियन्त्रणका लागि लकडाउनको प्रभावमा परेका सबै व्यपार, व्यावसाय, होटल, यातायात, ट्राभल्स, पसललगायत व्यवसाय स्वास्थ्य मापदण्डको पालना गरि खोल्न पाउनुपर्ने र पीसीआर रिपोर्ट तथा दुवै खोप कार्ड भएकाहरुलाई सीमामा आवत जावतमा सहज वातावरण निर्माण गरिदिन आग्रह उनीहरुले ज्ञापन पत्र बुझाएका हुन् । समयमै माग पुरा नभए भदौ १ गतेबाट सवै व्यवसायीले आ आफ्ना व्यवसाय सञ्चालन गर्ने र त्यसबाट कुनै परिस्थिती उत्पन्न भए त्यसको सम्पूर्ण जिम्मेवार स्थानीय सरकारले लिनुपर्ने व्यवसायीहरुको भनाई छ ।
होटल व्यवसायी संघ, मेचीनगर अध्यक्ष सुरेशकुमार श्रेष्ठ ,होटल व्यवसायी महासंघ महासचिव राजु अधिकारी, पूर्व मेची वस व्यवसायी प्रालि मेचीनगर अध्यक्ष विष्णुकुमार श्रेष्ठ, खुद्रा व्यवसायी संघ, मेचीनगर अध्यक्ष भुपाल सिवाकोटी, झापा ट्राभल्स संघ अध्यक्ष निरबहादुर कार्की, नाटा, १ नम्बर प्रदेशका अध्यक्ष उदयकुमार श्रेष्ठ, पूर्वी नेपाल यातायात व्यवसायी प्रालि अध्यक्ष केशव गिरी, महेन्द्र राजमार्ग यातायात कर्मचारी कल्याण कोष अध्यक्ष विष्णु गौतम, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अध्यक्ष खडानन्द भण्डारी, सुनौलो संयुक्त यातायात प्रालि अध्यक्ष भुपाल ओली, मेची अञ्चल इ–रिक्सा टेम्पो यातायात प्रालि अध्यक्ष गणेश चौहान, नेपाल पर्यटन श्रमिक संघ अध्यक्ष विजय सुवेदी, राष्ट्रिय उद्योग व्यापार महासंघ केन्द्रिय सदस्य ज्ञानेन्द्र घिमिरे, नेपाल यातायात मजदुर संघ, अध्यक्ष विशाल तामाङ र काँकरभिट्टा टेक्सी व्यवासयी प्रालि अध्यक्ष डिल्लीकुमार कार्कीको हस्ताक्षरसहितको ज्ञापन पत्र आज मेचीनगर नगरपालिकामा बुझाईएको हो ।
यसरी कोरोना रोकथामका नाममा निरन्तर पेशा व्यवसाय ठप्प पार्दा जनजीवन अतिनै संकट ग्रस्त बनेको, लकडाउनका कारण संकट झेल्दै आएको क्षेत्रलाई पुनःस्थापना गर्नु पर्ने अवस्था आइसकेको, यस्तो अवस्थामा महामारीबाट जोगिन अपनाउनु पर्ने सबै खाले स्वास्थ्य मापदण्ड अपनाउँदै अब बजारलाई विस्तारै सामान्य बनाउँदै लैजानु पर्ने ठहर व्यवसायीहरुको छ । सरकारले निर्धारण गरेका सबै स्वास्थ्य मापदण्डको परिधिभित्र रहेर भदौं १ गतेबाट आफ्ना पेशा व्यवासयमा फर्कन व्यवसायीहरले चाहेको ज्ञापन पत्रमा उल्लेख छ । पहिलो अभिभावकका नाताले स्थानीय सरकारले व्यवासायीहरुको पीरमर्का बुझेर सहज वातावरण निर्माण गरिदिओस भन्ने अपेक्षा सहित यो ज्ञापन पत्र पेश गरेको केन्द्रीय सचिव अधिकारीको भनाई छ ।
ज्ञापन पत्र बुझाएर त्यस विषयमा थप जानकारी दिने उद्घेश्यले होटल व्यवसायी संघ, मेचीनगरको कार्यालयमा पत्रकार सम्मेलन समेत गरेका थिए । पत्रकार सम्मेलनमा संघका अध्यक्ष सुरेशकुमार श्रेष्ठले कुनै बेला मेचीनगरमा साना र ठूला गरी साढेतीन सय होटल रहेपनि कोभिड १९ पछि सरकारले घोषणा गरेको लकडाउनका कारण सवै विस्थापित भएर एकसय २० मा झरेको बताउनुभयो । पछिल्लो पटक मिति २०७८ साल बैशाखबाट सुरु भएको लकडाउनका कारण मेचीनगर क्षेत्रमा सञ्चालनमा रहेका सबैखाले व्यापार व्यवसाय, यातायात क्षेत्र, यसमा आश्रित मजदुर, पर्यटन व्यवसाय, होटल व्यवसाय मरणासन्न बनेको पत्रकार सम्मेलनमा वितरीत प्रेस विज्ञप्तीमा उल्लेख छ ।
‘कोभिड १९ को महामारी विरुद्ध संघर्षरत छौं । दुई वर्षदेखि निरन्तर कोरोना भाइसरको प्रकोपका कारण विश्व नै आक्रान्त बनेको छ । लाखौं मासिनको ज्यान गएको छ भने अर्थ तन्त्र तहस नहस भएको छ । सधैको बन्दाबन्दीले मानिसको दैनिक जीवन रोगका कारण भन्दा पनि भोकका कारण जोखिममा पर्दै गइरहेको छ ।’ज्ञापन पत्रमा भनिएको छ । ज्ञापन पत्रको बोधार्थ इलाका प्रहरी कार्यालय काँकरभिट्टा र मेची उद्योग बाणिज्य सघ मेचीनगरलाई दिईएको छ ।
ज्ञापन पत्र बुझ्दै नगर प्रमुख आचार्यले स्थानीय सरकार नगरका हरेक व्यवसायीहरुको माग प्रति सकरात्मक रहेको र समाधानका लागि आफुले पहल गर्ने आश्वसन दिएका थिए । यी मागलाई जस्ताको तस्तै सम्बन्धित निकायमा पुर्याउने बताउदैं आचार्यले मेचीनगर नगरपालिका नगरकाले हरेक व्यवसायीहरुका समस्याका बारेमा बुझेको र समाधानको उपाय खोजीरहेको बताए । उनले कोभिड १९ नियन्त्रण र रोकथाम तथा स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयन गर्न गराउन सवैले सहयोग र अनुगमन गर्नुपर्नेमा जोड दिएका थिए ।



