भदौ १७, २०७८
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टि२० आई वरीयतामा नेपाल एक स्थान खस्किएको छ । बुधबार आइसिसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान खस्किदै १३ औं स्थानमा पुगेको छ । आयरल्यान्ड १२ औं स्थानमा उक्लिएको छ ।
नेपालको १९ खेलमा ३ हजार ५ सय ५६ प्वाइन्ट र १ सय ८७ रेटिङ अंक छ । आयरल्यान्डको २३ खेलमा ४ हजार ३ सय ९ अंक र १ सय ८७ रेटिङ प्वाइन्ट छ । नेपाल एसोसियटतर्फबाट टि२० वरीयतामा अग्रस्थानमा छ । इंग्ल्यान्ड शीष, भारत दोस्रो र पाकिस्तान तेस्रो स्थानमा छ । न्युजिल्यान्ड चौथो, दक्षिण अफ्रिका पाँचौं, अष्ट्रेलिया छैटौं, बंगलादेश सातौं, अफगानिस्तान आठौं, श्रीलंका नवौं र वेस्टइन्डिज दशौं स्थानमा छन् । जिम्बावे ११ औं स्थानमा छ । टि२० आई वरीयतामा नेपालभन्दापछि स्कटल्यान्ड १४ औं, यूएई १५ औं, पपुवा न्युगिनी १६ औं, नेदरल्यान्ड १७ औं र ओमान १८ औं स्थानमा छन् । सर्बिया ८२ औं स्थानमा रहँदै पुछारमा छ ।
नेपाल ओडिआई वरीयतामा भने १६ औं स्थानमा यथावत छ । नेपालले पछिल्लो पटक गत वैशाखमा घरेलु मैदानमा नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक सिरिज खेल्दै उपाधि जितेको थियो । नेपालको टि२० आईमा उत्कृष्ट वरियता ११ औं स्थान छ । नेपाल २०१९ मा केहि समय टि२० आई वरीयतामा ११ औं स्थानमा रहेको थियो ।
नेपाली टोली ओमानमा छ । नेपालले आइसिसी विश्वकप लिग २ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिज सेप्टेम्बर १३ देखि २० सम्म खेल्ने छ । त्यसअघि पपुवा न्युगिनीसँग दुई ओडिआई खेल सेप्टेम्बर ५ र ८ मा खेल्ने कार्यक्रम छ । पिएनजीसँगको खेल एक वा दुई दिन पछि सर्ने सम्भावना छ ।hamrokhelkud/from



