खेलकुद

सिंगापुरका युवा स्टारले काठमाडौंबाट इपिएल खेल्ने

भदौ २८, २०७८
काठमाडौं (हाम्रो खेलकुद) – सिंगापुरका तीव्र गति बलिङ अलराउन्डर जनक प्रकाशले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) काठमाडौं किंग्स–११ बाट खेल्ने भएका छन् ।

सिंगापुरका कप्तान जनक प्रकाश र नेपालका सन्दिप लामिछाने
२१ वर्षिय युवा स्टार अलराउन्डर प्रकाशले १५ टि२० आई खेल खेलेका छन् । १५ टि२० आई खेलमा १ सय १८ रन बनाउनुको साथै १७ विकेट लिएका छन् । प्रकाशले नेपालविरुद्ध दुई टि२० आई खेलि सकेका छन् । २०१९ मा भएको त्रिकोणात्मक सिरिजमा उनले नेपालविरुद्ध तल्लोक्रममा १८ बलमा ३ चौका र १ छक्का सहित कुल २५ रन बनाउनुको साथै एक विकेट लिएका थिए । उनी तीव्र गतिसँगै तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् ।

उनले सिंगापुरको यू१९ टोलीको कप्तानी गरि सकेका छन् । काठमाडौं किंग्स–११ का कप्तान तथा नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेसँगै उमेर समूहमा नेतृत्व गरेका थिए । काठमाडौं किंग्स–११ ले पहिलो विदेशी खेलाडीको रुपमा पाकिस्तानका पूर्व स्टार अलराउन्डर शाहिद अफ्रिदीलाई अनुबन्ध गरेको थियो । अफ्रिदीले दुई वा तीन खेल मात्र खेलेर जाने छन् ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंमा दीपेन्द्र सिंह ऐरी, जितेन्द्र कुमार मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, मोहम्मद साम्सद शेख, अमर सिंह राउटेला, सुवास खकुरेल, आकाश चन्द, अमृत भट्टाई, शेर मल्ल, सागर पुन, दीपेन्द्र रावत, गुलशन झा र सिद्धान्त लोहनी स्वदेशी खेलाडीको रुपमा छन् । काठमाडौंको मुख्य प्रशिक्षकमा कलाम अली छन् । चौथो संस्करणको इपिएल असोज ९ देखि २३ सम्म टियु मैदानमा हुने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button