
काठमाडौँ । ललिता निवास प्रकरणमा जोडिएपछि सार्वजनिक कार्यक्रम र सञ्चारमाध्यममा उपस्थित नजनाएका कांग्रेस उपसभापति विजयकुमार गच्छदारले डेढ वर्षपछि पत्रकार सम्मेलन गर्दै आफूमाथि षड्यन्त्र भएको बताएका छन् ।
मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले झुटो मुद्दा लगाएर राजनीतिक प्रतिशोध साँध्ने षड्यन्त्र भएको दाबी गरे । ५० वर्षको राजनीतिक जीवन ध्वस्त पार्ने उद्देश्यका साथ अख्तियार दुरुपयोग अनुसन्धान आयोग लागेको आरोप पनि उनले लगाए ।
अख्तियार दुरुपयो अनुसन्धान आयोग संवैधानिक निकाय भए पनि राजनीतिक दबाबमा चल्दा आयोगले आफ्नो छबीसमेत धुमिल बनाएको उनको भनाइ छ । “सरकारको छायाँका रुपमा काम नगरेको अवस्थामा आयोगले निष्पक्ष अनुसन्धान गर्नेमा दुई मत छैन । तर, मविरुद्धको आरोपपत्रमा उल्लेख विषय अध्ययन गर्दा षड्यन्त्र मात्रै हो भन्ने पुष्टि हुने छ,” उनले भने ।
मुद्दा निष्पक्ष रुपमा नचलाइएको र छानीछानी चलाइएको उनको भनाइ छ । ललिता निवास जग्गा प्रकरणमा आफूले कानुनभन्दा बाहिर गएर कुनै पनि काम नगरेको उनको दाबी छ ।



