कृषि र किसान

अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो

२३ आश्विन २०७८
newsofnepal
चितवन ।

अण्डाको उत्पादन घटेसँगै मूल्यमा वृद्धि भएको छ । दैनिक ४५ लाख हाराहारी उत्पादन हुने अण्डा अहिले घटेर ३५ लाख हाराहारीमा झरेसँगै मूल्य बढेको हो । नेपालमा दुई हजार ७०० हाराहारी पोल्ट्री फर्म छन् ।

नेपाल अण्डा उत्पादक सङ्घका अध्यक्ष शिवराम केसीका अनुसार नोक्सान बढेपछि धेरै किसान विस्थापित भएसँगै उत्पादन घटेको हो। उहाँले भन्नुभयो, “साना किसान विस्थापित भएका छन् ठूला स्थापित हुँदैछन् ।” अण्डा उत्पादन क्षेत्रमा मात्रै ४० हजार हाराहारीले रोजगारी पाएको उहाँको भनाइ छ । नेपालमा अण्डामा आत्मनिर्भर छ । ठूला फर्म सञ्चालनमा आएसँगै साना विस्थापित हुँदासमेत मागलाई जेनतेन धान्दै आएका छन् ।

आज नेपालमा विश्व अण्डा दिवस मनाइएको छ । यसै सन्दर्भमा पोल्ट्री व्यवसायी मञ्चले सन्देश प्रवाह गर्दै अण्डाको उपभोग बढाउन आह्वान गरेको छ । सन्देशमा अण्डामा पाइने एन्टी अक्सिडेनटले बुढ्यौली र हृदयघात रोक्न मद्दत गर्ने जनाइएको छ ।

आँखाको शक्ति बढ्ने र मोतीयाविन्दुको रोकथाम हुने, प्रशस्त मात्रामा पाइने क्याल्सियम फस्फोरसबाट हड्डी र दाँत मजबुत बनाउने, रक्त अल्पताबाट बचाउने, रोग प्रतिरोधी क्षमता, जवानीपन र स्मरण शक्ति बढाउने र अधिक तौल (मोटोपना) घट्न गइ फुर्तिलो बनाउन सहयोग गर्ने जनाइएको छ । मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेद्वारा जारी सन्देशमा स्वास्थका लागि अत्यावश्यक, पूर्णपाचनशिल, सन्तुलित, उच्च गुणस्तरको प्रोटिन र एमिनो भण्डार अण्डा बालकदेखि वृद्धवृद्धासम्मका लागि उत्तम प्रोटिनको स्रोत भएको उल्लेख छ ।

विश्वभर कुखुरापालन व्यवसायको विकाससँगै विश्वभरका पोल्ट्री व्यवसायीको सन् १९९६ मा इन्टरनेशनल एग कमिशन स्थापना भएको र हरेका अक्टुवर महिनाको दोश्रो शुक्रबार विश्व अण्डा दिवस मनाउने परम्परा रही आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button