
मंसिर १६, २०७८
एजेन्सी – फरवार्ड करिम बेन्जेमाको एकमात्र गोलमा रियल म्याड्रिडले स्पेनिस ला लिगामा एथलेटिको बिल्वाओलाई पराजित गर्दै शीर्षस्थानमा ७ अंकको अग्रता लिन सफल भएको छ ।
घरेलु मैदानमा बुधबार राति भएको खेलमा रियललाई ३ अंक जोड्न करिम बेन्जेमाले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ४०औं मिनेटमा गोल गरेका थिए। सान्टियागो बर्नबेउमा बल पोसेसनमा पकड बनाएपनि घरेलु टोलीले गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो ।
छैटौं मिनेटमा भिनिसियस जुनियरको पासमा कप्तान करिम बेन्जेमको प्रहारलाई बिल्वाओका गोलरक्षक युनाई सिमोनले बचाए । २३औं मिनेटमा इनाकी विलियम्सको प्रहार इडर मिलिसाओलाई डिफ्लेक्ट हुदै बाहिरिदा बिल्वाओ अग्रता लिनबाट चुक्यो । २७औं मिनेटमा मुनिएनको फ्रिकिकमा राहुल गार्सियाको ६ यार्डको डाइभिङ हेडरलाई गोलरक्षक थिवाउट कोर्टुवाले नियन्त्रणमा लिए ।
४०औं मिनेटमा कप्तान बेन्जेमाले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए । मार्काे एसेन्सियाको पेनाल्टी बक्सबाहिरको प्रहारलाई गोलरक्षक सिमोनले पञ्च गर्दा आएको रिवाउन्डमा लुका मोड्रिचको टचलाई बेन्जेमाले वान टचमै जाली चुमाएका थिए । ५५औं मिनेटमा लुका मोड्रिचको ब्याक हिल पासमा टोनी क्रुसको प्रहार बाहिरिदा रियल अग्रता दोब्बर पार्नबाट चुक्यो ।
६९औं मिनेटमा मुनिएनको फ्रिकिकमा बालेनजियागाले अवसर पाएपनि सदुपयोग गर्न नसक्दा बिल्वाओ बराबरीबाट चुक्यो । ७६औं मिनेटमा सानसेटको प्रहारलाई कोर्टुवाले उत्कृष्ट बचाउ गर्दै रियलको अग्रता कायम राखे । ८४औं मिनेटमा बिल्वाओले बराबरीको अर्काे अवसर खेर फाल्यो ।
जितसँगै रियलले शीर्षस्थानमा ७ अंकको अग्रता बनाएको छ । रियलको १५ खेलबाट ३६ अंक छ । दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिड र रियल सोसिडाडको समान २९ अंक छ । एट्लेटिकोले एक खेल कम खेलेको छ । पराजित बिल्वाओ २० अंक जोडेर आठौं स्थानमा रहेको छ ।hamrokhelkud/from



