स्वास्थ्य

मिर्गौला प्रत्यारोपण कसरी सहज बनाउने?

अर्चना बगाले
मानव शरीरमा एक जोडि सिमी आकारको मिर्गौला रहेका हुन्छन्। मिर्गौलाले शरीरमा रहेका विषाक्त पदार्थलाई बाहिर फाल्ने, शरीरमा पानी अनि इलेक्ट्रोलाइट्सलाई ब्यालेन्स गर्ने, रक्तचापलाई ब्यालेन्स राख्ने, औषधिबाट आएका अनावश्यक तत्वलाई बाहिर निकाल्ने, रगतको कोष उत्पादनमा सहयोग गर्ने तत्व बनाउँछन्।

उच्च रक्तचाप, मधुमेह, मिर्गौलाका अन्य वंशाणुगत रोगहरु आदीको जटिलताबाट मिर्गौला पूर्ण क्षति भएर कार्य गर्न असफल भएको अवस्थालाई मिर्गौला फेल भएको भनेर भनिन्छ। विकसित राष्ट्रमा जस्तै नेपालमा पनि यो सम्सया दिनानुदिन बढीरहेको छ।

हाम्रो खानपान, रहनसहन अनि स्वास्थ्य प्रति जटिलता नआइ सजग नहुने अवस्थाले गर्दा यो समस्या जनमानसमा बढ्दै छ।

नेपाल सरकारले मिर्गौला फेल भएका बिरामीलाई हप्ताको २ पटक निशुल्क डायलाइसिसदेखि लिएर मिर्गौला प्रत्यारोपणलाई प्रत्यारोपणको समयमा ४ लाख अनि प्रत्यारोपणपछि १ लाख ५० हजार गरेर ५ लाख ५० हजारको सुविधा समेत दिएको छ। आर्थिक अवस्थाले थलिएका अनि डायलाइसिसमा रहेका बिरामीलाई नेपाल सरकारको सुविधाले राहत भने दिएको छ। यो सकारात्मक पक्ष हो।

तर पनि साधन स्रोत अनि जनशक्ति अभावका कारण निशुल्क डायलाइसिसलाई पालो कुर्नुपर्ने नमिठो बाध्यता पनि बिरामीमा छ। प्रत्यारोपणका लागि साँघुरो नाताको घेराले रक्त समूह नमिल्दाको हैरानी पनि कम पिडादायी भने छैन।
मिर्गौला प्रत्यारोपणको लागि नेपाल सरकारले पहिलो घेराका ५२ जना नाताबीच मिर्गौला लेनदेन गर्ने कानुनमा प्रावधान छ। नाता अनि रक्त समूह मिलेको खण्डमा कानुनी प्रक्रिया पुरा गरेर अंग प्रत्यारोपण गर्न सहज पनि छ। दिनेको सम्पूर्ण चेकजाँच अनि लिनेको पनि चेकजाँच पुरा भएपछि दिनेको शरीरमा रहने एउटा मिर्गौलाले पनि निजलाई आफ्नो शरीरको आवश्यकता पुरा गर्न सक्छ भन्ने भएपछि मात्र प्रक्रिया अगाडि बढ्छ। मिर्गौला रोग विशेषज्ञदेखि लिएर शल्य चिकित्सक प्रत्यारोपण संयोजक, प्रशासन अनि शल्यक्रियामा संलग्न हुने सम्पूर्ण स्वास्थ्यकर्मीको प्रयासबाट प्रत्यारोपणको प्रक्रिया पुरा हुन्छ।

रक्त समूह नमिलेको खण्डमा सट्टापट्टाको पनि प्रावधान नेपालको कानुनमा छ। तर यसमा दिने र लिनेको ए अथवा बि रक्त समूह भए सहज छ। अन्य रक्त समूहलाई कानुन साँघुरो छ। यसको दायरा फराकिलो बनाउन सके रक्त समूह नमिलेर हैरानी खेपेका मिर्गौला पीडित उपचार/प्रत्यारोपण प्रक्रिया सहज हुने थियो।

अर्को भनेको मस्तिस्क मृत्यु भएका तर शरीरमा अन्य अंगले काम गरेको खण्डमा निजका परिवारले अंग दान गर्न चाहेमा यसत्बाट आउने मिर्गौलाले सयौंको संख्यामा आफन्त अनि रक्त समूह निमलेर पालोमा बसेका बिरामीले मिर्गौला पाउँछन्। तर हाम्रो देशमा चेतनाको अभाव अनि अंगदानका फाइदाका बारेमा मानिसहरु जागरुप नभएकाले पाउन गाह्रो चिठ्ठा भरेर बसेको जस्तो अवस्था बिरामीमा छ। यसको लागि सम्बिन्धित निकायले सहज वातावरण बनाइदिए सयौं मिर्गौला पीडितले प्रत्यारोपण गर्न पाउने थिए।

विज्ञको सल्लाह लिएर कानुनलाई फराकिलो बनाउन सके मिर्गौला पीडितमा खुशीको/आशाको किरण छाउने थियो। यसप्रति सम्बन्धित सबैको ध्यान गए पानी खान नपाएर छट्पटिएका मिर्गौला पीडित अनि हप्ताको २-३ पटक डायलाइसिसमा रहनुपर्ने हैरानीबाट सयौं बिरामी उन्मुक्त हुन पाउने थिए।

-(बगाले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रकी ट्रान्सप्लान्ट कोअर्डिनेटर हुन्।)swsthyakhabarpatrika/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button