
काठमाडौ । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी फुटाउन लागेको तथ्य फेला परेको छ । बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला उनको स्वकीय सचिव रहेका फणिन्द्र देवकोटा दल दर्ताको निवेदन लिएर हिजो निर्वाचन आयोगमा गएको स्रोत दाबी छ ।
यसबारे फणिन्द्र देवकोटासँग कुरा गर्दा भने, ‘पार्टी दर्ता गर्ने कुरा सत्य हुनसक्छ तर यसमा म जोडिएको होइन । अहिले म यसबारे धेरै कुरा गर्दिन ।’
पार्टीमा विवाद हुँदा आफू निकटमार्फत दल दर्ता गराएर सबै परिस्थितिका लागि तम्तयार रहने अभ्यास नेपाली राजनीतिमा पुरानै चलन हो । पछिल्लो समय जसपामा चर्को विवाद छ । अध्यक्ष उपेन्द्र यादवले एकलौटी गरेको भन्दै डा. भट्टराई पक्ष ‘निर्णायक’ लडाईमा रहेको जनाइको छ । सके जसपामै नेतृत्व लिने, त्यो सम्भव नभए ४० प्रतिशत पुर्याएर विभाजन गर्ने बाबुराम पक्षको जोडबल छ । त्यसैका लागि भट्टराईले पत्नी यमीमार्फत नयाँ दल दर्ता गराउन लागि परेका हुन् ।
स्रोतका अनुसार हिसिला यमीले प्रस्ताव गरेको पार्टीको नाम ‘समावेशी लोकतान्त्रिक पार्टी’ हो । दल दर्ताका लागि प्रस्तावित उक्त पार्टीमा २७ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । जसमा अध्यक्ष र महासचिवसहित सात जना पदाधिकारी रहेका छन् । प्रस्तावित पार्टीको २७ सदस्यीय केन्द्रीय कमिटीमा ११ जना महिला र १६ जना पुरुष छन् ।
२७ जनालाई भट्टराईका स्वकीय सचिव फणिन्द्रले हिजो आयोगमा लगेर हस्ताक्षर सनाखत गराएका हुन् । दल दर्तासम्बन्धी निर्णय निर्याचन आयोगले सम्भवतः आज गर्दैछ । एमसीसी सदनमा टेबल गर्ने बारे पार्टी नेता उपेन्द्र यादव असमत भएपछि भारतपरस्त भनेर चिनिएका बाबुराम भट्टराईले जसपा फुटाएर नयाँ दल दर्ता गर्ने कसरत थालेका हुन् ।
झिल्को डटकम



