स्थानीय निर्वाचन र संचार


 

बिशेष सम्पादकीय

निर्वाचनमा संचारमाध्यमको भूमिकाबारे प्रशस्तै छलफल भएका छन्। भर्खरै मात्र पनि प्रेस काउन्सिल नेपालले स्थानीय निर्वाचन केन्द्रित एक अपिल जारी गरेर पत्रकारहरूलाई निर्वाचनमा पत्रकारिताको आचारसंहिता सम्झाएको छ। प्रेस काउन्सिलले औपचारिकता देखाउनु एउटा कुरा, समाजमा वाचडगको भूमिकामा रहनुपर्ने संचारजगतसंग जनतामा भने धेरै अपेक्षा र आशा छन्।

संचार क्षेत्र तथ्यपरक सूचना, विश्लेषण, अनुसन्धान र आफ्नो अधिकार आवाजको स्रोत बनोस भन्ने आम अपेक्षामा के संचार जगत खरो उत्रिएको छ? अझ, निर्वाचन जस्तो खास सन्दर्भमा संचारसंग समुदायको के अपेक्षा हुन्छ? यसबारे संचार जगत आफै घोत्लिनु जरुरी छ। र, निर्वाचन जस्ता सन्दर्भ संचार माध्यम स्वयंको मुल्यांकन हुने एक उचित अवसर हो। यहाँ कुनै निरपेक्ष निष्पक्षताको कुरा मात्रै छैन, सापेक्ष मूल्यपद्धतिको कुरा पनि छ।

संचारको भूमिकाबारे चर्चा गर्दा हामी चेतनाको कुन चरणमा गुज्रदैं गरेको समाजमा छौं र संचारमा ती चेतनाहरूलाई प्रस्तुत गर्ने, बुझ्ने र व्याख्या गर्ने सन्दर्भमा आग्रह वा पूर्वाग्रहहरू छन कि छैनन? भन्ने मुल कुरा हो। नेपाल एक बहुभाषिक, बहु सांस्कृतिक, बहु धार्मिक मात्रै होइन, राजनीतिक दृष्टिले पनि बहु बैचारिक विविधता भएको देश हो।

समाजको सबै बिबिधताको असर संचार माध्यममा पनि छ। हुन्छ पनि। तर आजको नेपालका सबै विविधताहरू संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधानमा अभिब्यक्त भएको छ। संबिधानमा केही असन्तुष्टि राख्नेहरूले पनि संबिधानलाई मुलतः साझा ठानेका छन्। परिवर्तन र परिमार्जन गर्दै लानुपर्ने सोचेका छन्। संचारले भूमिका खेल्ने पनि सर्वस्वीकार्य संबैधानिक पद्धतिका लागि हो। साझा लोकतान्त्रिक पद्धतिका लागि हो।

हरेक विविधतालाई संबोधन गर्दै समाजवादको आधार तयार गर्ने संबैधानिक लक्ष्यका लागि हरेक आबधिक निर्वाचनहरूको महत्वपूर्ण मूल्य छ। जनप्रतिनिधि भएका र हुन्छौं भन्ने पार्टी र ब्यक्तिहरूको मुल्यांकन गर्ने सापेक्ष उत्तम बिधि हो यो। सर्सरती हेर्दा लोकतन्त्रको सजिलो र मोटो कुरा यही हो। लोकतन्त्रमा निर्वाचन त आउँछ, जान्छ। तर त्यसले प्रगति वा अबन्नतिको एक अमिट प्रभाव छाडेको हुन्छ।

संबिधानको समाजवादी लक्ष्य एउटा औपचारिक गन्तब्य हो। मुल कुरा चाहिँ समाजका सबै प्रवृत्तिहरू सामुदायिक बिकास उत्तरदायीत्व पुरा गर्दै समाजवादको लक्ष्यसम्म पुग्न दत्तचित्त छन त? भन्ने हो। मिडियालेवाचडग भएर हेर्दा आजको दृश्यमा त्यसरी सबै दत्तचित्त छैनन्। राजनीतिक परिवर्तनलाई उल्ट्याउने, गतिशीलको सट्टा स्थिर बनाउनेहरू कोही अर्थहीन भ्यूटावरे बिकास संस्कृतिका बाहक छन् भने कोही बिकासलाई ब्यापारको स्वार्थमा मात्र बुझ्ने र लागु गर्नेहरू छन्।

बिकास एक सामुदायिक अपनत्व हो र त्यसबाट स्रोतबिहीनहरूको आर्थिक जीवनमा परिवर्तन आउनुपर्छ भन्ने प्रवृत्तिलाई संचार जगतले चिन्न सक्नुपर्छ। बिडम्बना चाहिँ आफुलाई अभिव्यक्तिका बाहक वा मुलधार हौं भन्ने संचार माध्यमहरू प्रवृत्तिगत रूपमा भ्यूटावरे ब्यापार बिकासका बाहकहरूको प्रचार यन्त्र भएर खडा छन्। तर, हामी नै समाजका आवाज हौं भनेर रमाइरहेका छन्।

नेपाल जस्तो देशको आधारभूत रुपान्तरणका लागि निर्वाचनबाट सामुदायिक बिकास र उन्नत समाजवाद संस्कृति बोक्ने नेतृत्व छनौट गर्नु आजको अनिवार्य आवश्यकता हो। त्यस गुणको बैचारिक नेतृत्व आवश्यकता निर्माणका लागि समुदायलाई उत्साहित गर्नुपर्ने दायित्व बोकेका संचार माध्यमहरू पुँजीवादको ब्यापारिक र गोलमटोल नेतृत्व निर्माणका लागि कस्सिनु अत्यन्तै दुःखद हो। आफुलाई मुलधारका अकाट्य ,पुर, पोस्ट र पाटी भन्ने संचार माध्यमहरू राजनीतिक पुनरुत्थान र यथास्थितिको रक्षाकवच हुनु ती स्वयंको बिश्वस्नियता हराउनु हो।

माथी नै भनियो, आजको नेपाल विविधतामा आधारित संघीय लोकतान्त्रिक गणतन्त्र ब्यबस्था भएको नेपाल हो। यसबाट पछाडि फर्किने छुट यो संबिधान मान्ने दलहरूलाई छैन। संचार माध्यमहरूलाई त झन छँदैछैन। बरु यसबाट पनि अगाडि बढ्ने बाटो फराकिलो छ। बिज्ञानको नियम पनि यही हो। उन्नत लोकतन्त्र भन्नु बैज्ञानिक लोकतन्त्र हो। अझ बैज्ञानिक समाजवाद हो। स्वार्थहरू यस नियमका बिरुद्ध हुनसक्छन्। तर, चेतना र गति त बिज्ञानसम्मत नै हुन्छ नि।

जसले जति प्रोभोक गरेपनि संघीय लोकतान्त्रिक संचारको भूमिका भन्नु अग्रगमनको पक्षधरता लिनु नै हो। सामुदायिक बिकासको पक्षधरता लिनु नै हो। लोकतन्त्रलाई नाम मात्रैको बनाएर मुठ्ठीभरहरूको औपचारिक बनाउने कि आम समुदायको आर्थिक बिकासको आधार बनाउने? हामी घोत्लिऔं। आजसम्मको परिवर्तनको सैद्धान्तिक, बैचारिक आधार जोगाएर र समुदायगत स्वार्थमा एकाकार भएर अगाडि बढ्ने जनप्रतिनिधि हामी चिनौं। त्यसका लागि जनतालाई हरदम सुसूचित गरौं। कसैप्रति बिश्वास छैन भने बिश्वास छैन भनौं। तर ,कसैलाई गुमराहमा नपारौं। संधै समुदायगत हितको संचारकर्म गरौं।

100% LikesVS
0% Dislikes