खबर

एकीकृत समाजवादीबाट नयाँ मन्त्री बन्नेहरूको सपथ आज

न्युज अफ नेपाल
काठमाडौं ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले मन्त्री हेरफेर गरेसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने निर्णयका कारण उहाँले आठ महिनापछि पहिलोपटक मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो।

एकीकृत समाजवादीबाट नयाँ मन्त्रीका रूपमा जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्नुहुने भएको हो ।
तीन साताअघि सरकारमा सहभागी चार मन्त्रीलाई फिर्ता बोलाउँदै एकीकृत समाजवादीले नयाँ अनुहारलाई मन्त्रीका रूपमा सिफारिस गरेको थियो । त्यतिबेला संसद्मा सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने भएकाले प्रधानमन्त्री देउवाको आग्रहमा केही समय मन्त्री हेरफेर रोकिएको थियो । पटक–पटक एकीकृत समाजवादीले दबाब दिएपछि प्रधानमन्त्री देउवाले आइतबार मन्त्रिपरिषद् पुनर्गठन भएको हो ।
राष्ट्रपति कार्यालयले आइतबार साँझ एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेको जानकारी दिएको छ । एकीकृत समाजवादीले जेठ २२ मा मन्त्रीहरू फिर्ता बोलाएर सरकारमा नयाँ मन्त्रीहरूलाई पठाउने निर्णय गरेको थियो । त्यसै दिन मन्त्री बन्ने नेताहरूको नाम प्रधानमन्त्रीलाई बुझाए पनि २२ दिनपछि मात्र मन्त्रिपरिषद् पुनर्गठन भएको हो ।
पार्टीले पटक–पटक गरेको निर्णयको विरुद्ध सरकारमा सहभागी चार मन्त्रीहरूले अटेर गरेका थिए । तर, पार्टीले दबाब दिएपछि पर्यटन मन्त्री प्रेम बहादुर आले, स्वास्थ्य मन्त्री विरोध खतिवडा, श्रम मन्त्री किसन श्रेष्ठ र शहरी विकास मन्त्री रामकुमारी झाँक्री मन्त्री पद छाड्न तयार भएका थिए । आइतबार पत्रकार सम्मेलन गर्दै पर्यटन मन्त्री आले र शहरी विकास मन्त्री झाँक्री पार्टी अध्यक्षलाई राजीनामा बुझाएर बिदाई हुनुभएको थियो ।

झाँक्री बिदाइमा भावुक

एकीकृत समाजवादीकी सांसद रामकुमारी झाँक्रीले सहरी विकास मन्त्रालयबाट बिदाइ हुँदा भावुक बन्नुभएको छ । ८ महिना २० दिन मन्त्री भएर काम गर्नुभएका उहाँले आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा पटक–पटक भावुक बन्दै आँशु खसाल्नुभएको थियो । निमित्त सचिव पद्म मैनालीले उहाँको कार्यकालमा भएका राम्रा काम सुनाउँदा उहाँ भावुक बन्नुभएको थियो । कार्यक्रमको अन्तिममा मन्त्री झाँक्रीले भन्नुभयो– ‘आगामी दिनमा पनि काम गर्दै जाउँला, खासै बोल्नुपर्ने कुरा केही छैन ।’ मन्त्री झाँक्रीलाई मन्त्रालयले मायाको चिनो उपहार दिएर बिदाइ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button