
गोकर्ण पौडेल
तुलसीपुर। बुधबार विहान ७ बजे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२मा रहेको मेट्रो कलेजमा कृषि विषय पढ्ने विद्यार्थीहरु हिलाम्य खेतमा देखिए। सधैँ ती विद्यार्थीसँग झोला, किताब, कापी र कलम हुन्थ्यो तर आज धान दिवस मनाउने दिन ती वस्तु थिएनन् । धान दिवसका अवसरमा तुलसीपुरउपमहानगरपालिका, मेट्रो कलेजले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ देवीस्थानमा भीमबहादुर योगीको खेतमा धान रोप्ने प्रबन्ध गरिएको थियो ।
किसानलाई मलको हाहाकार परिरहेका बेला कृषि सामग्री केन्द्रका प्रमुख, नगरप्रमुख, राष्ट्रिय सभाका पूर्व सदस्यसहितको टोली किसानको खेतमा धान रोप्न पुगेको थियो । नगरप्रमुख, शिक्षकसहित विद्यार्थीहरु रमाउँदै धान रोपेका थिए । कृषि विषय पढ्दै गरेका उषा पौडेल सधैँ कलेजमा धानका बारेमा पढ्दै गरेको तर आज धान रोप्ने अवसर मिलेकोमा खुसी देखिनुहुन्थ्यो ।
तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको १९ औँ धान दिवस तथा रोपाइँ महोत्सवमा पुगेको नगरप्रमुख टीकाराम खड्काले पछिल्लो समयमा रैथाने प्रजातिका धान लोप हुँदै गएकाले पालिकाले केही वडामा सहकारी संस्थाहरुसँग समन्वय गरेर बीउ प्रशोधन केन्द्र तयार पारेको बताउनुभयो । उहाँले किसानहरु रासायनिक मलमा मात्रै निर्भर नभई जैविक मल समेत खेतबारीमा प्रयोग गर्न आग्रह गर्नुभयो । नगरप्रमुख खड्काले पालिकाले केही दिनभित्रै बजार क्षेत्रबाट निस्कने गल्ने फोहोरलाई मेसिनबाट जैविक मल तयार पार्न थालिएको बताउनुभयो ।
कृषि सामग्री केन्द्र तुलसीपुरका प्रमुख तीर्थराज न्यौपानेले किसानलाई रोप्ने समयमा पर्याप्त मल दिन नसके पनि धान रोपेको केही दिनमा आवश्यक पर्ने मल दिन सकिने बताउनुभयो ।गोरखापत्र अनलाइन



