हेन्ड्रिक्स र माक्ररमको अर्धशतकमा दक्षिण अफ्रिका विजयी


एजेन्सी – ओपनर रिजा हेन्ड्रिक्स र एडेन माक्ररमको अर्धशतकमा दक्षिण अफ्रिकाले पहिलो टि२० आई खेलमा आयरल्यान्डलाई २१ रनले पराजित गरेको छ। योसँगै दुई टि२० आई खेलको सिरिजमा दक्षिण अफ्रिकाले १-० को अग्रता लिएको छ ।

जितको लागि २ सय १२ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९० रन बनायो । आयरल्यान्डका विकेटकिपर लोर्कन टकरले ३८ बलमा ७ चौका र ५ छक्कासहित सर्वाधिक ७८ रनको इनिङ खेल्दै खेललाई रोमान्चक बनाए ।

तल्लोक्रममा जर्ज डोकरेलले २८ बलमा २ चौका र ३ छक्कासहित ४३ रनमा आउट भए । ओपनर पउल स्टर्लिङ १८, कप्तान एन्डी बलबर्नी १४ र एन्डी म्याकबर्नी १० रनमा आउट भए । दक्षिण अफ्रिकाका कप्तान केशव महराज, तबरेज शाम्सी र वेन पर्नेलले दुई दुई विकेट लिए ।

त्यसअघि काउन्ट्री ग्राउन्ड ब्रिस्टोलमा टस जितेर पहिला ब्याटिङ गर्दै दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो। दक्षिण अफ्रिकाका ओपनर रिजा हेन्ड्रिक्सले ५३ बलमा १० चौका र १ छक्कासहित ७४ रनको इनिङ खेले । उनको यो टि२० आईमा लगातार चौथो अर्ध शतक हो ।

टि२० आईमा उनी लगाचार चौथो अर्धशतक प्रहार गर्ने उनी न्युजिल्यान्डका ब्रेन्डम मक्कुलम, वेस्टइन्डिजका क्रिस गेल, नामिबियाका क्रेग विलियम्स र फ्रान्सका गुस्ताव म्याकिओनपछि पाँचौं खेलाडी हुन् ।

त्यस्तै एडेन माक्ररमले २७ बलमा २ चौका र ५ छक्कासहित ५६ रनको इनिङ खेले । उनको यो पनि लगातार दोस्रो अर्धशतक हो । युवा ब्याटर ट्रिस्टन स्टब्स ११ बलमा ३ चौका र १ छक्कासहित २४ रनमा आउट भए ।

ड्वेन प्रिटोरियसले ७ बलमा ३ चौका र १ छक्कासहित २१ रनमा अविजित रहे । आयरल्यान्डका ग्यारेथ डेलानीले सर्वाधिक दुई विकेट लिए । दोस्रो खेल शुक्रबार हुनेछ ।हाम्रो खेलकुदबाट ।

50% LikesVS
50% Dislikes