खबर

राष्ट्रपतिबाट सुझावसहित फिर्ता भएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट हुबहु पारित

न्युज अफ नेपाल
काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट सुझावसहित पुनर्विचारका लागि फिर्ता भएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट हुबहु पारित गरेको छ ।

प्रतिनिधिसभामा बिहीबार छलफलपछि भएको मत विभाजनमा नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाएकै रूपमा पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा १ सय ३५ मत र विपक्षमा ६० मत परेको थियो ।सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभामा उपस्थित १ सय ९५ मध्ये नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ विधेयक पारित गर्ने पक्षमा १ सय ३५ र विपक्षमा ६० सांसदले मत दिएको जानकारी दिँदै नागरिकता विधेयक पारित भएको घोषणा गर्नुभयो । सरकारले विधेयक जस्ताको तस्तै पारित गर्ने बताएपछि सभामुख अग्नि सापकोटाले विधेयकमाथिको छलफल र मत विभाजन प्रक्रिया अघि बढाउनुभएको थियो ।

विधेयक पारित भएसँगै यो विधेयक प्रमाणीकरणका लागि दोस्रो पटक राष्ट्रपतिसमक्ष पुग्नेछ । संविधानको धारा ११३ मा दोस्रो पटक प्रमाणीकरणका लागि पुगेपछि राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नेपर्ने व्यवस्था छ । यसअघि प्रतिनिधिसभाले पहिलो पटक ध्वनि मतद्वारा नागरिकता विधेयक पारित गरेको थियो।

प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेले राष्ट्रपतिले फिर्ता पठाएको विधेयकमा राष्ट्रिय सहमति गरेर वा प्रतिनिधिसभाको समितिमा पठाएर पुनर्विचार गर्नुपर्ने धारणा राखेको थियो । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले नागरिकता विधेयक पारित गर्ने क्रममा ध्वनि मत नमान्ने जिकिर गर्दै मत विभाजनको माग गर्नुभएको थियो ।

यसअघि विधेयकमाथि छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयकलाई सहमति जुट्न सकेन भनेर रोक्न नसकिने बताउनुभएको थियो । उहाँले नागरिकता विधेयक रोकिए पनि नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई नागरिकतामा ७ वर्षे प्रावधान तत्काल लागु गर्न नसकिने पनि बताउनुभएको थियो ।

विधेयकमाथिको छलफलका क्रममा सत्ता गठबन्धनकै २ जना सांसद नेपाली कांग्रेसकी पार्वता डीसी चौधरी र नेकपा एकीकृत समाजवादीकी निरादेवी जैरुले नागरिकता विधेयक जस्ताको तस्तै पारित गर्न नहुनेमा जोड दिँदै उक्त विधेयकले नेपालको दीर्घकालीन हित नगर्ने धारणा राख्नुभएको थियो । उहाँहरूले राष्ट्रभन्दा पार्टी ठूलो नभएको भन्दै पार्टीभन्दा माथि उठेर राष्ट्र र मुलुकका लागि बोल्न आग्रह गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button