सृजनाको चौतारी

एउटा अनागरिकको बकपत्र


ज्ञानेन्द्र ढुङ्गाना
कविता
आठ दशक अघि
जतिबेला यहाँ बस्ती थिएन
आजको जस्तो मस्ति थिएन
आँगन मै आएर बाघ गर्जन्थ्यो
हात्तीको चित्कारले जमीन थर्कन्थ्यो
त्यो बेलादेखि आजसम्म
यही माटोमा यही बाटोमा
सकी नसकी झारी रहेछु पसीना
सकी नसकी चाली रहेछु पैताला
यो देशको नागरिक बन्न नसकेको
अनागरिक
म जुगेश्वर पण्डित ।
म दरभङ्गाबाट आएँ
ऊनीहरु बर्माबाट आए
आसाम र मनीपुरबाट आए
सिक्किम र भूटानबाट आए
मेघालय, अरुणाचल र दार्जिलिंगबाट आए
ऊनीहरु र ममा फरक यति थियो
ऊनीहरु टोपी लाउँथे
म धोती लाउँथे
म कालो थिएँ ऊनीहरु गोरा थिए
म विदेशी विहारी थिएँ
ऊनीहरु ूस्वदेशी छोराू थिए
ऊनीहरु यो देशका नागरिक भए
म राज्यविहीन अनागरिक रहें ।
निन्दा खोलाको छङ्छङ् आवाज
मेरो संगीत बन्यो
बहादुरगञ्ज, टोक्ला, बाङ्गे, भृकुटी
मेरो जीवन गीत बन्यो
औलोसंग लडें
बाघ, भालु र चितुवासंग
लुकामारी खेल्दै बढें
कति सन्तानहरु यही
निन्दा खोलालाई समर्पित गरें
जन्मदिने बाउ यही माटोलाई अर्पित गरें
तर पनि यो देशको
नागरिक हुन नसकेको
एउटा अनागरिक
म जुगेश्वर पण्डित ।
जीवन चलाउन मैले
कैले रक्सी बेंचे हुँला
नुन, भुटून र तेल बेंचे हुँला
तर खुराफात र झेल बेचिन
मान सम्मान र स्वाभिमान बेचिन
यो पवित्र भूमिलाई मैले
कहिल्यै पराय देखिन
स्कूल बनाउन खाँबो बोक्दा
पिल्सिएको काँध
बाटो बनाउँदा हातमा उठेका ठेला
पैनी बनाउँदा ढुङ्गाले किचेर
कच्पल्टिएको औंलासंग
माटोको माया साटे
नक्सलबाट काँधमा मरिकुच्च
बोकेर ल्याएको सितलु मिठाई दिएर
बाङ्गे स्कुलका विद्यार्थीहरुसंग
हाँसो बाँडे
बलेंसी जोडिएर बसेकी लिम्बुनी दिदीसंग
धाननाच नाँचे
गाई तिहारे औंशीदेखि
ठुले एकादशीसम्म हरेक रात
अनिँदो बसेर बाङ्गे स्कूलका
सर र विद्यार्थी संगसंगै द्यौसी खेलें
अरुले जस्तै हरेक अप्ठ्यारा र असजिला झेंले
तर आजसम्म
यो देशको नागरिक हुन नसकेको
एउटा अनागरिक
म जुगेश्वर पण्डित ।
(फेसबुकबाट )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button