
काठमाडौँ, जेठ ३ गते । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनीमा अभाव देखाएर कालोबजारी गर्नेलाई कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै नेपाली बजारमा पर्न सक्ने प्रभावबारे मन्त्रालयले शुक्रबार सरोकारवाला निकायबिच छलफल गरेको थियो । आठ महिनाको बजार माग धान्ने चिनी मौज्दात रहेकाले तत्काल अभाव नहुने मन्त्रालयले जनाएको छ ।
भारत सरकारले आन्तरिक बजारमा चिनीको बढ्दो मूल्य नियन्त्रण गर्न र आपूर्ति सहज बनाउन आगामी सन् २०२६ सेप्टेम्बर ३० सम्मका लागि चिनी निर्यातमा तत्काल लागु हुने गरी प्रतिबन्ध लगाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
मन्त्रालयका अनुसार नेपालका चिनी उद्योगमा रहेको उत्पादन, साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग रहेको मौज्दातले आगामी आठ महिनासम्मको आन्तरिक माग सहजै पूरा हुने भएकाले बजारमा अभाव हुने छैन ।
भारतको नीतिगत परिवर्तनका कारण बजारमा चिनीको कृत्रिम अभाव सिर्जना हुन सक्ने, कालोबजारी हुने वा अस्वाभाविक मूल्यवृद्धि हुन सक्ने भएकाले मन्त्रालयले मातहतका निकायलाई बजार अनुगमन तीव्र पार्न निर्देशन दिएको छ । यदि कसैले अनुचित मौज्दात राखेको वा मूल्यवृद्धि गरेको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले दीर्घकालीन रूपमा चिनीमा आत्मनिर्भर हुनका लागि उखु खेतीमा आधुनिक प्रविधिको प्रयोग, उन्नत जातको उखु प्रवर्धन र स्वदेशी उद्योगको क्षमता अभिवृद्धि गर्ने रणनीति अघि सारेको जनाएको छ । मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले स्वदेशमा चिनीको उत्पादन बढाउन कृषि, वन तथा वातावरण मन्त्रालय र निजी क्षेत्रसँगको समन्वयमा काम गरिने जानकारी दिनुभयो ।
आमउपभोक्तालाई चिनीको उपलब्धता र आपूर्तिलाई लिएर कुनै पनि अन्योलमा नपर्न र अनावश्यक रूपमा घरमा चिनी सञ्चय नगर्नसमेत उहाँले आग्रह गर्नुुभयो । अत्यावश्यक वस्तुको मूल्य स्थिरता र नियमित आपूर्तिका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको मन्त्रालयले स्पष्ट पारेको छ । नेपाल चिनी उद्योग सङ्घका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा १३ वटा चिनी उद्योगबाट एक लाख ९० हजार ८७० टन चिनी उत्पादन भएको छ । उद्योगसँग अझै करिब एक लाख आठ हजार टन चिनी मौज्दात रहेको सङ्घले जनाएको छ ।
त्यसै गरी बजारमा व्यवसायीसँग अनुमानित २० हजार टन चिनी मौज्दात रहेको बताइएको छ । चालु आवमा व्यवसायीले ७० हजार मेट्रिक टन चिनी आयात गरिसकेको सङ्घले जनाएको छ । मुलुकमा वार्षिक दुई लाख ८० हजार टन चिनीको माग हुने गर्छ ।
खुला सिमानाका कारण अवैध रूपमा समेत चिनी भित्रिने गरेको छ । साल्ट्र टे«डिङ कर्पाेरेसनले दुई हजार टन चिनी मौज्दात रहेको जनाएको छ । खुद्रा व्यवसायीलाई प्रतिकेजी ९८ रुपियाँका दरले चिनी बिक्री गरिरहेको कर्पाेरेसनले जनाएको छ ।
भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णयसँगै स्थानीय बजारमा खुद्रा व्यवसायीले भने चिनीको मूल्य बढाउन थालेका छन् । यसअघि प्रतिकेजी ११० रुपियाँ रहेको चिनीको मूल्य बढेर आएको भन्दै व्यवसायीले प्रतिकेजी १२० रुपियाँ पु¥याएका छन् ।
गोरखापत्र अनलाइन



