
जी एन शर्मा
कविता
तिमी जित्दै जाउ, म हार्दै जान्छु
मैले सधै हार्दा म हारेको मात्रै हुन्छु
किनकी मैले हार्छु भन्ने मलाई थाहा छ
र, म हार्ने कुरामा ढुक्क भएको छु
तर, तिमीले एक पटक मात्रै हा¥र्यौ भने
तिमी हरुवा हुन्छौ किनकी तिमी सधै जितिरहेका छौ ।
मलाई विश्वास छ
म एक दिन मात्र एक पटक जित्छु
तिमी एक दिन एक पटक मात्र हार्छौ
तर त्यो हार तिम्रो सधैको हार हुनेछ
त्यो जित पनि मेरो सधैको जित हुनेछ
किनकी भन्ने गरिन्छ र मैले सुनेको छु
‘सयौँहारबाट एउटा सुन्दर जितको जन्म हुन्छ’
अहिलेलाई तिमीलाई जित्न छुट छ
अहिले म हार्न तयार छु
म तिम्रो एउटा हारको प्रतिक्षामा सयौँ पटक हार्न तयार छु
सयौँहार पछिको एउटा जितको विश्वासमा म हजारौँ पटक हार्न तयार छु

