
एजेन्सी – फेरान टोरेस र राफिन्हा चम्कँदा क्याटलान क्लब बार्सिलोनाले यस सिजनको युइएफए च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा रोमाञ्चक जित निकालेको छ ।
लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको बार्सिलोनाले चेक रिपब्लिक क्लब भिक्टोरिया प्लेजेनलाई उसकै मैदानमा ४–२ को रोचक जित निकाल्दै यस सिजनको च्याम्पियन्स लिगको सुखद अन्त्य गरेको हो । अब यो सिजन बार्सिलोनाले युरोपा लिग खेल्नेछ ।
बार्सिलोनाको जितमा फेरान टोरेसले दुई तथा मार्काेस अलन्सो र पाब्लो टोरेले समान एक गोल गरे । भिक्टोरियाका थोमस चोरेले दुई गोल गरेपनि टोलीको हार टार्न सकेन । ब्राजिली राफिन्हाले दुई असिस्ट प्रदान गरे ।
डोसान एरिना प्लेजेनमा मंगलबार राति भएको खेलको छैटौं मिनेटमा मार्काेस अलन्सोको गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो । उनले अन्सु फातीको पासमा गोल गर्न सफल भएका थिए । ४४औं मिनेटमा फेरान टोरेसले जोर्डी अल्वाको पासमा गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।
५१औं मिनेटमा थोमस चोरेले पेनाल्टीमा गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । पाब्लो टोरेले पेनाल्टी बक्समा थोमस चोरेलाई फउल गरेपछि प्राप्त पेनाल्टीमा उनी चुकेनन् । ५४औं मिनेटमा राफिन्हाको पासमा टोरेसले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गर्दै बार्सिलोनालाई जिततर्फ अघि बढाए ।
६३औं मिनेटमा थोमस चोरेले गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याउँदा भिक्टोरियालाई खेलमा फर्काउने संकेत दिए । तर त्यसपछि पाब्लो टोरेले राफिन्हाको पासमा गोल गर्दै बार्सिलोनालाई ४–२ को सहज जित दिलाए ।
प्रशिक्षक जाभी हर्नान्डेजले अर्थहीन खेलमा मुख्य खेलाडीलाई विश्राम दिदा युवा र दोस्रो रोजाईका खेलाडीलाई मैदानमा उतारेको थियो । गोलरक्षक इनाकी पेना, अल्भारो सान्ज, मार्क कसाडो र पाब्लो टोरे जस्ता युवा खेलाडीलाई मौका दिएको थियो ।
यस जितसँगै बार्सिलोना समूह ‘सी’ मा ६ खेलबाट ७ अंक जोडेर तेस्रो स्थानमा रह्यो । पराजित भिक्टोरिया अंकविहीन हुँदै पुछारमा रह्यो । यो समूहबाट बायर्न १८ अंक जोडेर शीर्षस्थानमा तथा इन्टर मिलान १० अंक जोडेर दोस्रो स्थानमा रह्यो ।हाम्रो खेलकुदबाट ।



