मूल खबर

‘जातीय अधिकारका निम्ति आवाज उठाइरहने छु’ ः विश्वप्रकाश शर्मा

झुलन,कृष्ण,डम्बर
काँकरभिट्टा । प्रमुख राजनीतिक दलका झापा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका उम्मेद्वारहरुसँग आदिवासी जनजाति समुदायले अन्तरक्रिया गरेको छ ।
आदिवासी जनजाति महासंघ झापाको आयोजनामा विहीबार सामुदायिक भवन काँकरभिट्टामा आयोजित कार्यक्रममा जातीय अधिकारका विषयमा उम्मेद्वारसँग प्रतिबद्धता माग गरिएको हो ।
कार्यक्रममा नेपाली काँग्रेसबाट प्रतिनिधि सभाका उम्मेद्वार विश्वप्रकाश शर्मा, एमालेका उम्मेद्वार अग्नि खरेल, जनता समाजवादी पार्टीका उम्मेद्वार राधा थापा, प्रदेश “क” तर्फ काँग्रेसका उम्मेद्वार गोपाल तामाङ, “ख” तर्फ माओवादी केन्द्रका उम्मेद्वार श्यामविर लिम्बू, एमाले प्रदेश “क” उम्मेद्वार रविन कोइराला, जसपाका प्रदेश “ख” उम्मेद्वार ओमप्रकाश खापुङले आदिवासी जनजातिका अधिकारका निम्ति सदैव आवाज उठाइरहने बताए ।
कार्यक्रममा काँग्रेसका प्रतिनिधि सभा उम्मेद्वार विश्वप्रकाश शर्माले आदिवासी जनजातिको अधिकारलाई संस्थागत गर्न आफू हरसमय अग्रभागमा उभिरहने प्रतिबद्धता व्यक्त गरे । “जातीय पहिचानका निम्ति मैले हिजो पनि आवाज उठाएँ, भोलि पनि उठाउने छु” उनले भने ।
उम्मेद्वार शर्माले एमाले पार्टीले पहिचान मेटाउने काम गरेको दृष्टान्त पनि सुनाए । दमकमा बन्दै गरेको आदिवासी जनजाति रंगशालाको नाम मेटाएर मदन भण्डारी रंगशाला राख्न खोजेको भन्दै पहिचान संविधानमा मात्रै नभएर जमिनमा देखिनु पर्ने बताए ।
उम्मेद्वार शर्माले आफू खसआर्यको सन्तान भएपनि जनजाति समुदायकी आमाको दूध चुसेर हुर्किएको बताए । झापा क्षेत्र नं १ का सम्पूणर् आदिवासी जनजाति समुदाय आफ्नो परिवार भित्रको भएको भन्दै उनले जितेर गए या हारे पनि जातीय अधिकारका मुद्दामा तपाईहरु सँगसँगै रहिरहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा एमालेका प्रतिनिधि सभा उम्मेद्वार अग्नि खरेलले २०७२ सालमा जारी संविधानले जातीय अधिकार स्थापित गरिसकेको र कार्यान्वयनको पक्षमा आफू लाग्ने बताए ।


कार्यक्रममा प्रदेश “क” तर्फ काँग्रेस उम्मेद्वार गोपाल तामाङले आदिवासी जनजातिको अधिकार रक्षाका निम्ति अग्रभागमा बसेर आवाज उठाइरहने बताए । विगतमा विभिन्न जातीय संघसंस्थामा बसेर काम गरेको चर्चा गर्दै उनले जितेर गएपछि जातीय अधिकारका निम्ति लडिरहने विचार राखे । राजनीतिलाई कमाइ खाने भाँडो नबनाउने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।
यस्तै, कार्यक्रममा प्रदेश “क” तर्फ एमालेका उम्मेद्वार रविन कोइरालाले संविधानले सबै जातिको अधिकार संस्थागत गरेको बताए ।
कार्यक्रममा प्रदेश “ख” तर्फ गठबन्धनका उम्मेद्वार श्यामविर लिम्बूले मुलुकमा सबै जातिलाई समान अधिकार दिलाउन माओवादी पार्टीले भूमिका खेलेको बताए ।


आदिवासी जनजाति महासंघ झापा अध्यक्ष पाण्डवलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न जातीय संस्थाहरुले उम्मेद्वारलाई मागसहितको ज्ञापन पत्र बुझाएका थिए । कार्यक्रम महासंघ झापा उपाध्यक्ष केवलराम राई र फोनिजका केन्द्रीय सचिव कमन देवानले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button