काठमाडौँ
एलिसिया फिनले
जनस्वास्थ्य विज्ञहरूले एक्सबिबी नामक ओमिक्रोन भाइरसको नयाँ भेरियन्टलाई लिएर चिन्ता र चासो व्यक्त गरेका छन्। यो भाइरस उत्तरपूर्वी अमेरिकामा तीव्र प्रसारण भैरहेको छ। केही अध्ययनले चीनको वुहानमा सुरुमा देखिएको कोभिड–१९ भाइरसको स्ट्रेन भन्दा यो भेरियन्ट फरक रहेको देखिएका छन्। यो सन्दर्भमा अमेरिकालगायत विश्व चिन्तित हुनुपर्ने अवस्था आएको हो त ?
एक्सबिबी अन्य भेरियन्ट भन्दा खतरनाक रहेको प्रष्ट भैसकेको छैन। तर यो भेरियन्टमा भएको उत्परिवर्तनले यसअघि भाइरस संक्रमणबाट निको भएकामा विकास हुने प्रतिरक्षा शक्ति र खोपलाई समेत छल्न सक्ने देखिएको छ। एन्टिबडी उपचारमा विद्यमान मोनोक्लोनल एन्टिबडी उपचारले पनि खास प्रभाव नपार्ने देखिएको छ। अध्ययनको थप नतिजाले बारम्बार लगाइने खोपले सर्वसाधारणलाई एक्सबिबी भेरियन्टको थप जोखिममा पार्ने देखाएका छन् र यसले भाइरसको तीव्र विकासलाई सहयोग गर्ने देखिएको छ। सन् २०२१ मा ओमिक्रोनको विकास हुनुअघि अल्फा, बेटा, डेल्टा र गामा गरी भाइरसका ४ भेरियन्ट मात्र थिए। विश्वव्यापीरूपमा व्यापक संक्रमणका लागि अल्फा र डेल्टा मात्र अत्यधिक जिम्मेवार देखिएको थिए। तर ओमिक्रोनले विश्वका विभिन्न भागमा थप नयाँ प्रजातिको विकास गर्न सफल भएको थियो।
‘यति तीव्र र समानान्तर हिसाबले धेरै किसिमका प्रजातिको विकास हुनु अनौठो हो’, गत डिसेम्बर १९ मा नेचर जर्नलमा प्रकाशित एक सोधपत्रमा भनिएको छ। सेलेक्टिभ इभुलुसनरी प्रेसरको आधारमा यो भाइरसमा उत्परिवर्तन भएको र सजिलै प्रवाह हुन सक्ने उत्परिवर्तित भेरियन्टको विकास भएको देखिन्छ। यो भेरियन्टले खोप र यसअघिको संक्रमणबाट विकास भएको प्रतिरक्षा क्षमतालाई छल्न सक्ने देखिएको छ। नेचर जर्नलमा प्रकाशित सोही अध्ययनले प्रतिरक्षा प्रणालीमा भएको विकास पनि नयाँ भाइरस उत्पत्तिका लागि जिम्मेवार हुन सक्ने देखाएको थियो। भाइरसको वुहान भेरियन्टलाई चिन्न र त्यसलाई निस्तेज पार्न खोपले प्रतिरक्षा प्रणालीलाई प्रशिक्षित गरेको हुन्छ। तर नयाँ र अत्यधिक फरक हिसाबका भेरियन्टको विकास भएसँगै प्रतिरक्षा प्रणालीको यो प्रभावकारिता कमजोर हुने देखिएको छ।
त्यसो त, वुहान र बिए ५ भेरियन्ट दुवैलाई लक्षित गरेर बनाइएका वाइभ्यालेन्ट भ्याक्सिनले प्रतिरक्षा प्रणालीलाई भाइरसको दुवै स्ट्रेनलाई पहिचान गर्न सफल पाइएको छ। डार्बिनका शब्दमा भन्नुपर्दा त्यस्ताखाले उत्परिवर्तन अगाडि बढ्छन् जसले प्रतिरक्षा प्रणालीलाई छक्याउन सक्छ। त्यस्ता भेरियन्ट यो लडाइँमा उपयुक्त मानिन्छन्।
एक्सबिबी भेरियन्टले खोप र यसअघिको संक्रमणबाट निर्माण भएको प्रतिरक्षालाई छक्याउन सक्ने देखिएको छ। यही पृृष्ठभूमिका नेचर जर्नलमा प्रकाशित लेखमा भनिएको छ– विद्यमान हर्ड इम्युनिटी र बिए ५ खोपका बुस्टरले ओमिक्रोन भेरियन्टबाट विकसित हँुदै आएका भेरियन्टको प्रभावलाई प्रभावकारी हिसाबले रोक्न असमर्थ हुन सक्छन्।
यसैगरी यही महिना न्यु इंगल्यान्ड जर्नलमा प्रकाशित अर्काे अध्ययनले पनि प्रतिरक्षा प्रणालीमा भएको विकास (इम्युन इप्रिन्टिङ) ले झन् बढी जोखिम बढ्ने देखाएको छ। बाइभ्यालेन्ट खोप लगाएकाहरूले वुहान भाइरसको सुरुको भेरियन्ट र एक्सबिबी भेरियन्टविरुद्ध २६ गुणाले प्रभावकारी देखिएको छ भने ओमिक्रोन र बिए ५ भेरियन्टविरुद्ध ४ गुणाले प्रभावकारी पाइएको छ।
यसैगरी सेल नाम गरेको अर्काे जर्नलमा हालै प्रकाशित अर्काे अनुसन्धानले ४ वटा खोप लगाएकाहरूमा वुहान र एक्सबिबी भेरियन्टविरुद्ध लड्न सक्ने क्षमता १४५ गुणाले बढी हुने देखाएको छ। वाइभ्यालेन्ट बुस्टरले एक्सबिबीविरुद्धको प्रतिरक्षा केही हदसम्म बढाउन सक्ने देखिएको छ। विज्ञहरू एक्सबिबी भेरियन्टविरुद्धको लडाइँमा बुस्टर सहयोगी हुने कुरामा एकमत देखिन्छन् तर यो सही होइन।
क्लेभल्यान्ड क्लिनिकमा एक स्वास्थ्यकर्मीमा भएको एक अर्काे अध्ययनले बिए ५ संक्रमण बढिरहेको बेला वाइभ्यालेन्ट भ्याक्सिनले पुनः संक्रमित हुने जोखिमलाई मात्र ३० प्रतिशतले घटाउन सक्ने देखिएको छ। तर एन–९५ मास्क लगाउने तथा भिडभाडबाट आफूलाई टाढा राख्ने स्वास्थ्यकर्मीमा जोखिम कम रहने उक्त अध्ययनको निष्कर्ष छ।
तर उल्लेखनीय के छ भने खोपका धेरै डोज लगाएका स्वास्थ्यकर्मी बिरामी हुने जोखिम झन बढी देखिएको छ। अध्ययनले के देखाएको छ भने खोपका ३ डोज लगाएकाहरूमा कुनै खोप नै नलगाएकाहरूलाई जस्तै जोखिमको सम्भावना ३.४ गुणा रहने पाइएको छ भने खोपका २ डोज लगाएकामा संक्रमणको सम्भावन २.६ गुणाले बढी हुने देखिएको छ।
अनुसन्धानकर्ताहरूले लेखेका छन्– ‘खोपको धेरै डोज र कोभिड १९ को थप जोखिमका विषयमा भएको यो एकमात्र अध्ययन होइन। हामीले कोभिड–१९ खोपले गर्ने सुरक्षाका बारेमा अझै कुरा जान्न बाँकी छ। विभिन्न समयको अन्तरालमा दिइने थप डोजहरू जुन हिसाबले प्रभावकारी हुन्छन् भन्ने ठानिएको छ, त्यो पक्षलाई समीक्षा गर्न आवश्यक देखिएको छ। दुई वर्षअघिसम्म स्वास्थ्यका अन्य जोखिममा रहेका तथा प्रौढ उमेरका जनसंख्याका लागि सघन रोगबाट खोपले बचाउन सहयोग गर्ने मानिएको थियो। तर अहिले एक्सबिबी जस्ता भेरियन्टको प्रादुर्भाव भैसकेको सन्दर्भमा यस्तो जनसंख्या झन् जोखिममा हुन सक्ने देखिएको छ। यो सन्दर्भमा बुस्टरको प्रभावकारितामा पनि प्रश्न चिह्न उठेको छ।
भाइरसको एक्सबिबी भेरियन्टको फैलावट सिंगापुरमा गत हिउँदयाममा अत्यधिक देखिएको थियो। खोपको सबै भन्दा बढी डोज र बुस्टर डोज अत्यधिक जनसंख्यामा लगाइएको सिंगापुरमा देखिएको यो फैलावटलाई कुनै संयोग मात्र मान्न सकिन्न। पछिल्ला साताहरूमा न्युयोर्क, न्युजर्सी, कनेक्टिकट तथा मासाच्युट्समा एक्सबिबी भेरियन्ट अत्यधिक उपस्थिति देखिएको छ। यी सहरमा परीक्षण गरिएका भाइरसको नमुनामध्ये ३ चौथाइमा यो भेरियन्ट पाइएको छ। तर यो भेरियन्टको प्रसारण मध्यपश्चिम क्षेत्रमा ६ प्रतिशत र दक्षिणी क्षेत्रमा २० प्रतिशत रहेको छ।
उत्तरपूर्वी अमेरिकामा सबै भन्दा बढीले खोप लगाएका छन् तर यही क्षेत्रमा अस्पतालमा भर्ना हुने बिरामीको संख्या बढ्दो छ। यो क्षेत्रमा सबै भन्दा बढी ७० वर्ष माथिका व्यक्ति अस्पताल भर्ना भएका छन्।
यो उमेर समूहमा प्रतिरक्षा प्रणालीमा महत्वपूर्ण भूमिका खेल्ने टि–सेलले गर्ने प्रतिरक्षा कमजोर हुने भएकाले यसो भएको हुन सक्छ। टि–सेलको प्रभाकारी उपस्थितिले नयाँ भेरियन्टबाट यूवा समूह सुरक्षित रहेको हुन्छ। अर्काे कारण एक्सबिबी भेरियन्टविरुद्ध औषधिको प्रयोगका कारण विकास हुने मोनोक्लोनल एन्टिबडी पनि त्यति प्रभावकारी नभएको हुन सक्छ। उदाहरणका लागि मिर्गाैलाका सघन बिरामीले प्याक्सलोभिड नाम गरेको एन्टिभाइरल औषधि सेवन गर्न सक्दैनन्।
अन्य उपचार विधि भन्दा खोपमा अत्यधिक जोड दिइरहेको हालको बाइडेन प्रशासनले सर्वसाधारणलाई नयाँ भेरियन्टको थप जोखिममा धकेलेको छ। यो विषयले विज्ञहरू पनि उत्तिकै चिन्तित हुनुपर्ने हो।
(वाल स्ट्रिट जर्नलबाट) लेखक फिनले वाल स्ट्रिट जर्नलको इडिटोरियल बोर्डकी सदस्य हुन्।



