
दिलीप पौडेल
काठमाडौँ
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई मर्जरमा जान ‘दबाबपूर्ण नीति’ लिएपछि वाणिज्य बैंकहरू धमाधम मर्जरमा गएका छन्। ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौंबीच मर्ज भई आइतबारदेखि एकीकृत कारोबार सुरु भएको छ।
यो साता अन्य आधा दर्जन बढी वाणिज्य बैंक आपसमा मर्ज हुँदैछन्। केन्द्रीय बैंकले अघि सारेको नीतिअनुसार ठुला बैंकबीच मर्जरको लहर नै चलेको छ। नेपालमा वाणिज्य बैंकहरूको संख्या ३२ सम्म पुगेको थियो। पुँजी बढाउने नीति लिएपछि वाणिज्य बैंकको संख्या २७ वटामा झरेको थियो। पछिल्लो समय मर्जरमा गएपछि वाणिज्य बैंकको संख्या १८ मा झर्ने देखिएको छ।
पुँजीको आकार बढाएर सुदृढ र सक्षम बैंक बनाउन मर्जरलाई प्रोत्साहन गरेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए। ‘मर्जरले वित्तीय मध्यस्थताको लागत घट्छ,’ अधिकारीले भने, ‘सबल र सक्षम संस्था बनाउन टेवा पुग्छ।’ ठुला परियोजनामा लगानी बढाउन पनि ठुलो पुँजीका बैंक आवश्यक भएको उनले बताए। ‘राष्ट्रिय उत्पादन बढाउन लगानी बढाउनुपर्ने छ,’ गभर्नर अधिकारीले भने।
अन्तर्राष्ट्रिय अभ्यासअनुसार प्रतिस्पर्धी र लगानी गर्न सक्षम बैंक बनाउन केन्द्रीय बैंकले मर्जरका लागि प्रोत्साहित गर्दै आएको छ। जनसंख्या र अर्थतन्त्रको आकारअनुसार बैंकको संख्या धेरै भएकाले पनि मर्जरमा जान प्रेरित गरिएको हो। बैंक तथा वित्तीय संस्थाको मर्जरले चुक्ता पुँजी बढेको छ। बैंकहरूको मर्जरले पुँजी वृद्धिसँगै जोखिम व्यवस्थापनको क्षमता बढाएको छ। व्यवस्थापनको खर्च घटेको छ।
वित्तीय क्षेत्रमा यो साता बैंक मर्जरको साता हुने देखिएको छ। प्रभु बैंक लिमिटेड र सेन्चुरी कमर्सियल बैंक लिमिटेडबीच मर्ज भएर मंगलबारदेखि एकीकृत कारोबार सुरु गर्दैछन्। बुधबार नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक पनि आपसमा गाभिएर एकीकृत कारोबार गर्ने योजनामा छन्। दुई बैंकबीच मर्जका लागि हिमालयन र सिभिल बैंकले पनि साधारणसभा आह्वान गरेका छन्।
लक्ष्मी र सनराइज बैंकबीच मर्जरका लागि प्रारम्भिक सम्झौता भएको छ। नबिल र नेपाल बंगलादेश (एनबी) बैंक, कुमारी र नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंक पनि मर्ज हुँदैछन्। केही बैंक मर्ज भएका छन् भने केही बैंक मर्जरको तयारीमा छन्। केन्द्रीय बैंकले सानिमा बैंक र माछापुच्छ्रे बैंकलाई मर्जरमा जान अनुरोध गरेको छ भने सिद्धार्थ, प्राइम, सिटिजन्स, एभरेस्ट लगायतलाई मर्जरमा जान प्रेरित गरिरहेको छ।आजको नागरिक दैनिकमा खबर छ।



