मूल खबर

केरुङ–काठमाडौँ रेल मार्गको विस्तृत अध्ययन सुरु

भउचप्रसाद यादव
काठमाडौँ। नेपाल र चीनबीच प्रस्तावित केरुङ–काठमाडौँ अन्तरदेशीय रेल मार्गको विस्तृत अध्ययन (डिटेल फिजिविलिटी स्टडी) सुरु भएको छ । विस्तृत अध्ययन गर्न नेपाल आएका चीनको रेलवे विज्ञ टोलीले नुवाकोट र रसुवा पुगेर अध्ययन सुरु गरेको रेल विभागले जनाएको छ ।

सो अध्ययन गर्न चीन सरकारको चाइना रेलवे सर्भे एन्ड डिजाइन ग्रुप कम्पनी लिमिटेडका प्राविधिकहरू पुस १२ गते नेपाल आएका हुन् ।

रेल विभागका महानिर्देशक रोहितकुमार बिसुरालले चिनियाँ प्राविधिक टोलीले रसुवा र नुवाकोटको विभिन्न स्थानमा पुगेर विस्तृत अध्ययन सुरु गरेको जानकारी दिनुभयो । उहाँका अनुसार चिनियाँ टोलीले अबको तीन वर्षमा अध्ययन गरेर सोको प्रतिवेदन नेपाललाई बुझाउनेछ ।

कठिन भौगोलिक बनोटका कारण प्रस्तावित सो रेल मार्ग निर्माण चुनौतीपूर्ण रहेको बताउँदै उहाँले विस्तृत अध्ययनले त्यस्ता चुनौती र कठिनाइबारे प्रस्ट हुने र कुनै समस्या नआउने गरी अध्ययन हुने जानकारी दिनुभयो । टोलीले भूबनोट, टनेलिङ तथा भूकम्पीय जोखिमलगायतका विषयमा अध्ययन गर्ने उहाँको भनाइ छ ।

अध्ययनको पहिलो चरणमा हवाई सर्वेक्षण (एरियल सर्भे), दोस्रोमा भौगोलिक अनुसन्धान (जियोलोजिकल इन्भेस्टिगेसन) र तेस्रोमा रेल

पङ्क्ति योजना (रेलवे अलाइनमेन्ट) तथा लागत अनुमानसम्बन्धी अध्ययन गरिनेछ । प्राविधिक रूपले यो आयोजना कठिन र चुनौतीपूर्ण रहेको उहाँको भनाइ छ ।

दुई मुलुकबीच भएको समझादारीअनुसार चीनले आफ्नो आर्थिक र प्राविधिक लगानीमा विस्तृत सम्भाव्यता अध्ययन गर्ने छ । यो रेल मार्गको ‘डीपीआर’ तयार गर्न करिब तीन वर्ष लाग्ने अनुमान गरिएको छ ।

विकट भूगोलमा निर्माण गरिने भएकाले सो रेल मार्गका लागि विभिन्न कोणबाट अध्ययन गर्नुपर्ने हुन्छ ।’’ सम्भाव्यता अध्ययन प्रतिवेदनले सो रेलवे परियोजनाको कुल लागत, निर्माणको ‘मोडेल’लगायतका विषयबारे टुङ्गो लाग्नेछ ।गोरखापत्र दैनिकमा खबर छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button