
मेचीनगर । मेची कृषि सहकारी संस्था मेचीनगर ईटाभट्टाका बजार प्रतिनिधि भेषराज खनाल हराएको सात दिनपछि हल्दिवारीको जलथल जंगलमा मृत फेला परेका छन् ।
मेचीनगर नगरपालिका-१० बस्ने नरहरी खनालका छोरा ४८ वर्षिय भेषराज खनाल गत माघ २५ गते अन्दाजी बिहान १० बजे घरबाट सहकारीको पैसा कलेक्सनको लागि निस्किएका थिए । तर खनाल रातिसम्म सम्पर्कमा नआएपछि उनका भाइ तोयानाथ खनालले भोलिपल्ट बिहान ९ः४० बजे ईलाका प्रहरी कार्यालय धुलाबारीमा हुलियासहितको निवेदन दिएका थिए । उनको खोजीमा प्रहरी निरीक्षकको कमाण्डमा १५ जना प्रहरी खटाइएको थियो । त्यस्तै प्रहरी कार्यालयहरुलाई हुलिया परिपत्र गरी खोजतलास गर्न आदेश दिइएको थियो ।
त्यसक्रममा बुधवार दिउँसो २ बजे हल्दिबारी गाउँपालिका-५ स्थित शान्ति सामुदायिक वनमा सखुवाको रुखमा झुन्डीएको अवस्थामा उनी मृत फेला परेका हुन् । स्थानीयले शव झुन्डिरहेको देखेर प्रहरीलाई खबर गरेका थिए । कालो झोलासहित खनाल हराएको हुलिया परिवारले दिएका थिए । शवसंगै कालो झोला देखेपछि खनाल नै हुनसक्ने भनेर अनुमान गरेर स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्र रिजालले बताए। उनले हराएकै दिन खनालले झुन्डिएर आत्महत्या गरेको हुनसक्ने आशंका गरेका छन् ।
शवलाई कानुनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागि मेची अस्पताल भद्रपुर पठाइएको साथै सो सम्बन्धमा थप अनुसन्धान भइरहेको रिजालले बताए ।सहकारीमा काम गर्ने खनालले सहकारीको रकम चलाएको र सो रकम तिर्न नसक्ने सोचेर आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।



