
सम्पादकीय
आज झापा बिद्रोहका महान शहीदको ५० औं स्मृति दिवस। ५० बर्ष अगाडिको आजैका दिन अर्थात २०२९ फागुन २१ गते क्रूर राजतन्त्र भएको पञ्चाय शासकले जेल सार्ने बहानामा पाँच क्रान्तिकारी युवाको नृशंस हत्या गरेको थियो।
झापाको चन्द्रगढी जेलबाट इलाम जेल सार्ने भन्दै झापा र इलामको सीमाना पर्ने सुखानी जङ्गलमा नेत्र घिमिरे, रामनाथ दाहाल, बिरेन राजबंशी, कृष्ण कुइकेल र नारायण श्रेष्ठको हत्या गर्दा झापा बिद्रोह र निरंकुशताबिरोधि आन्दोलन सखाप हुने शासकको विश्वास थियो।
नेताहरूको अल्लारेपनले झापा बिद्रोह दीगो त भएन तर त्यो बिद्रोहले कम्युनिष्ट क्रान्तिमा एउटा बेगात्मक छाप छाडेर गयो। त्यो बिद्रोहका जीवित नेताहरू कोही राजा सहितको प्रजातन्त्रमा, कोही राजभक्तिमा र कोही बिद्रोह प्रयत्नमै रहँदा त्यसैको पुरक तर अपेक्षित व्यवस्थित बिद्रोहका रूपमा माओवादी जनयुद्ध भएर आज मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा छ। राजतन्त्र इतिहासको गर्तमा पुगेको छ।
राजनीतिक आन्दोलनले शासकको अत्याचारलाई जनताको बलमा विस्थापित गर्ने सोचेको हुन्छ। त्यसमा सुव्यवस्थित कम्युनिष्ट बिद्रोहलाई स्थापित गर्न सकियो भने बर्ग समानता र समाजवादी रुपान्तरणले उचित दिशा पाउनेछ। तर झापा बिद्रोहका नेताहरू ०४६ सालको सामान्य राजनीतिक परिवर्तनमै आफुलाई सीमित गरेर पद आसक्तिमा लागे। सम्पत्ति आसक्तिमा लागे। दलाल अर्थतन्त्रको विकासमा लागे। अझ आधारभूत परिवर्तन चेतनालाई बिदेशीको आड लिएर दमन गर्ने उपशासक भएर खडा भए।
त्यसले निर्माण गरेको जनताको आक्रोशमा त्यसैले माओवादी जनयुद्धले संस्थागत हुन पायो। मुल शासक राजाको र उपशासक झापा बिद्रोहको उत्सर्ग अनि झिल्कोलाई पोलिखाने कम्युनिष्ट नेतृत्व र आन्दोलनका समाजवादी उद्देश्यबाट च्युत भैसकेको कांग्रेस नेतृत्वमाथि जनयुद्धले धावा बोल्यो। त्यसले तिनको संस्थामा र मर्ममा प्रहार गर्दा दरबार हत्याकाण्ड, संकटकाल र राजाको प्रत्यक्ष शासनको अन्तिम छट्पटी पनि नाकाम भयो।
अन्ततः परिवर्तन कि राजा? भन्ने एउटा विकल्पहीन विकल्पमा परिवर्तनका लागि दलहरू वाध्य भए र त्यसले आम जनआन्दोलन निर्माण मात्र गरेन, राजशाहीलाई नै समाप्त पार्यो।
निरंकुशता समाप्त हुनुको उद्देश्य हो, देशको लोकतान्त्रिक वातावरण। त्यससँगै सामाजिक आर्थिक रुपान्तरण। तर गणतन्त्रको यो झण्डै १६ बर्षले फेरि पुरानै भन्दा पनि अझ चर्को सत्ता बेथिति निर्माण गर्दा पुनः राजशाहीले फँडा उठाउन थालेको छ। औपचारिक प्रजातन्त्र पक्षधर कांग्रेसलाई एकछिन छाडेर हेरौं, परिवर्तन पक्षधर हौं भन्ने कम्युनिष्टहरू कमाउ धन्दावाला शासकका रूपमा फेरि खडा भएका छन्। ०४६ को सामान्य राजनीतिक परिवर्तनलाई झापा बिद्रोहका नेताहरूले जसरी आफुले रामरौस पाएको अर्थमा बुझे, अहिलेको गणतान्त्रिक परिवर्तनलाई माओवादी जनयुद्धका नेताहरूले पनि त्यही रामरौस अवसरमा बुझ्दा राजनीतिप्रति आम वितृष्णा निर्माण भएको छ।
त्यही वितृष्णाको जगमा पुरातन, दक्षिणपन्थी, राजशाही र स्वार्थपरक बिदेशीले खेल्ने धरातल पाएका छन्। समाज अराजकता, शासकको कुशासन र भद्दा सत्ताकांक्षा हेर्दा लाग्छ, निकट भविष्यमै देशमा एउटा ठुलै अराजनीतिक ‘अनहोनी’ हुनेवाला छ। त्यो ‘अनहोनी’ रोक्न समाजका आम चेतनशीलहरूले, कम्युनिष्ट क्रान्तिकारीहरूले आफुलाई सुखानीका शहीदजस्तै अझ इस्पातिलो बनाउनुको विकल्प छैन। झापा बिद्रोहका सबै शहीदहरूप्रति उच्च सम्मान! लाल सलाम!



