
Ratopati News
काठमाण्डौँ । उपत्यकाका ललितपुर, भक्तपुर र काठमाण्डौँ जिल्लाका सम्पूर्ण चर्चहरुको संयुक्त आयोजनामा उपत्यकाव्यापी इस्टर (पुनरुत्थान) महोत्सव हुँदैछ ।
आज बिहान ८ देखि सुरु हुने एक दिने महोत्सव काठमाडौंस्थित प्रदर्शनीमार्ग भृकुटीमण्डपको मैदानमा विसौं हजारको संख्यामा इसाईहरुको सहभागीता रहने आयोजकले अनुमान गरेको छ । शान्तिको सुसन्देश दिने महोत्सवको मुख्य उदेश्य हो ।
कोभिड पछिको यो इसाईहरुको पहिलो महोत्सव भएकोले पनि यस दिनलाई उपत्यकामा रहेका चर्चहरुले विशेष रुपमा भव्यताका साथ मनाउने तयारी गरेको छ ।
येशु ख्रीष्ट बौरी उठनु भएको दिन भएकोले सम्पूर्ण ख्रीष्टियन समुदायले यस दिनलाई विशेष रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा भव्यताका साथ विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाउँदै आइरहेका छन् ।
इसाई धर्मावलम्बीले आजको दिन बिहान सबेरै आ–आफ्ना चर्चमा बिहानीको प्रार्थना सेवापछि शहरका विभिन्न ठाउँमा भेला भई शान्ति प्रार्थनामा सहभागी हुदैँ हर्षका साथ भजन गीतहरू गाउँदै, नाच्दैँ पुनरूत्थान महोत्सवमा सहभागी हुने छन ।
शान्ति सभामा भेला हुनु अघि शहरका विभिन्न ठाउँबाट शान्ति प्रार्थना पदयात्रामा विभिन्न स्थानीय मण्डलीबाट पुनरूत्थान सम्बन्धी आशामूलक सन्देशहरू लेखिएको संयुक्त व्यानर र प्लेकार्डहरू लिएर निस्किने छन् । सो शान्ति प्रार्थना पदयात्रा काठमाडौंको चावहिल, ज्ञानेश्वर, काटेश्वर, तिनकुने, बानेश्वर, बालकुमारी, ग्वार्को, मंगलबजार, जावलाखेल कलंकी, बल्खु, कालिमाटी लगायत उपत्यकाका विभिन्न ठाउँ हुँदै भृकुटीमण्डप मैदानमा पुगरे संयुक्त सभामा परिणत हुने महोत्सवका सचिव प्रेम कृष्ण मर्हजनले जानकारी दिनुभयो । महोत्सवको अवसरमा १ हजार जनालाई रक्तदान गराउने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।
वि.सं. २०४६ सालमा भएको जनआन्दोलन सफल भई प्रजातन्त्र पुनः बहाली भएसँगै नेपालमा रहेका ख्रीष्टियनहरूले इस्टर सण्डे अर्थात ख्रीष्ट पुनरुत्थानको अवसर पारी हरेक वर्ष देशका विभिन्न ठाउँमा विभिन्न सुसमाचारीय र्यालीका साथै सभा तथा गोष्ठी लगायतका कार्यक्रमहरूको आयोजना गरी मनाइदै आइएको छ ।



