
सांकेतिक तस्बिर ।
मेचीनगर । झापामा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका–५ स्थित खारखोला निवासी ७० वर्षीय भीमबहादुर भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गुरु तिम्सिनाले जानकारी दिए । प्रहरीका अनुसार बिहान करिब ४ बजे घरदेखि दुई सय मिटर दक्षिणमा आफ्नै मकै बारीमा दुई वटा जंगली हात्तीले मकै खाइरहेको थाहा पाएपछि भट्टराई हात्ती धपाउन गएका थिए।
हात्ति धपाउने क्रममा उनीमाथि हात्तीले आक्रमण गरेको थियो ।प्रहरी निरीक्षक तिम्सिनाका अनुसार सो हात्ती स्थानीय पाँच पोखरी जंगलबाट आएको बताइएको छ । यता घटना पश्चात् इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको टोलीले शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको प्रहरीले जनाएको छ ।



